जाभीले नकारे ब्राजिल र डर्टमुन्डको प्रस्ताव

स्पेन । स्पेनका पूर्व मिडफिल्डर तथा प्रशिक्षक जाभी हर्नान्डेजले पछिल्लो केहि सातामा जर्मन क्लब बोरुसिया डर्टमुन्ड र ब्राजिलको राष्ट्रिय फुटबल टोलीबाट आएको प्रस्ताव नकारेका छन् । अल सादमा सफल सिजन बिताएपछि जाभी हाल क्याटलोनियामा बिदा मनाइरहेका छन् । यसै सिजन तीन उपाधि जितेका जाभीले क्लबमा जिम्मेवारी लिएयता ६ उपाधि जितिसकेका छन् । जाभीले यसै सिजन क्लबसँग सम्झौता नविकरण पनि गरेका छन् । तर यसका बाबजुद बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले उनलाई रोनाल्ड कोम्यानपछि टोलीको जिम्मेवारी दिने सोच बनाएका छन् ।

जाभी आफैंले पनि गत सिजन आफू बार्सिलोनाका लागि अझै तयार नरहेको बताएका थिए । उनले सम्भवत सन् २०२३ मा आफ्नो सम्झौता सकिएपछि मात्र बार्सिलोना जाने तयारी गरेका छन् । तर यसका बाबजुद पनि जाभीलाई अन्यत्रबाट प्रस्ताव आउने क्रम भने रोकिएको छैन ।
डर्टमुन्डले जाभीलाई तीन सिजनका लागि प्रशिक्षक रहने गरि प्रस्ताव गरेको थियो । डिसेम्बरमा लुसियन फाभ्रलाई बर्खास्त गरेपछि डर्टमुन्डमा अन्तरिम प्रशिक्षकका रुपमा एडिन तेर्जिकले जिम्मेवारी सम्हालेका छन् । आक्रामक फुटबल खेल्ने सिद्धान्त बोकेको डर्टमुन्डले सधैं युवा प्रशिक्षकलाई जिम्मेवारी दिन चाहन्छ । जाभीलाई प्रस्ताव पनि त्यसै कारणले गरिएको थियो ।

त्यसो त ब्राजिलको राष्ट्रिय टोलीबाट पनि उनलाई प्रस्ताव आएको थियो । उनलाई सन् २०२२ विश्वकपसम्म हालका मुख्य प्रशिक्षक टिटेको सहायकको रुपमा काम गर्ने र त्यसपछि मुख्य प्रशिक्षकको जिम्मेवारी लिने अवसर थियो । तर जाभीले उक्त प्रस्तावलाई धन्यवाद दिँदै स्वीकार्न नसक्ने प्रष्ट पारेका हुन् ।

प्रतिक्रिया