अति शक्तिशाली चक्रवातको असर नेपालमा पनि पर्ने सम्भावना

काठमाडौं । पूर्वीमध्य अरब सागरमा बनेको अति शक्तिशाली चक्रवात् अझ विकसित हुने क्रममा रहेको र त्यसको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि देशको पूर्वी भेगमा केही असर पर्ने सम्भावना देखिएकाले सजग रहन मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ । महाशाखाका अनुसार चक्रवातका कारण मंगलबारबाट देशका धेरै स्थानमा मौसम सामान्यदेखि पूर्णसम्म बदली हुने सम्भावना छ । बुधबार बेलुकादेखि शुक्रबारसम्म भने कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा र थोरै स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ।

यसैगरी प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका पनि थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आइतबार साँझ ६ बजे विशेष बुलेटिन जारी गर्दै भनेको छ, ‘यो सिजनमा मेघगर्जन–चट्याङ, हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’ यस अवधिमा उच्च हिमाली क्षेत्रमा पर्वतारोहण नगर्न तथा नगराउनसमेत मौसम महाशाखाले अनुरोध गरेको छ। बुलेटिनमा भनिएको छ, ‘मौसम पूर्वानुमान महाशाखाले यो चक्रवातलाई निरन्तर अनुगमन गरिरहेको हुनाले मौसम अद्यावधिक गरिरहनु होला।’

प्रतिक्रिया