अहिले सबै काम छाडेर अक्सिजनको व्यवस्था गर्न तिर लागौं : नेता लेखक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले अक्सिजन अभावले मृत्यु बढेको भन्दै अक्सिजनको व्यवस्था गर्न सरकासँग माग गरेका छन् । लेखकले बुधबार बिहान समाजिक सञ्जाल फेसबुकमार्फत उक्त माग गरेका हुन् । मुलुकभरि नै अक्सिजन, बेड, आईसीयू र भेन्टिलेटरको अभावले अवस्था भयावह बनेको भन्दै सरकारले अब सबै काम छाडेर अक्सिजनको व्यवस्था गर्नुपर्ने लेखकले बताएका छन्।

‘देशभरि नै अक्सिजन, बेड, आईसीयू, भेन्टिलेटरको अभाव छ। सुदूरपश्चिममा अक्सिजनकै अभावमा धेरैले दिनहुँ ज्यान गुमाइरहेका छन्,’ लेखकले फेसबुकमा लेखेका छन्, ‘यो भयावह अवस्थाबारे मैले सम्बन्धित मन्त्रीहरूसँग निरन्तर कुरा गरे। चाँडो व्यवस्था गर्न अनुरोध गरे। सरकारलाई पुनः तत्काल अक्सिजनको व्यवस्था गर्न अनुरोध गर्दछु। जनताको जीवन रक्षा सरकारको पहिलो काम हो। अहिले सबै काम छाडेर यसमा लागौं।’

प्रतिक्रिया