नवलपुरका व्यवसायीले दिए ६७ थान अक्सिजनको सिलिन्डर

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना संक्रमितको उपचारका लागि प्रदान गरेका छन् । कोरोना संक्रमित बिरामीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा अक्सिजन सिलिन्डर संकलन गरेर जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराएका हुन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को अनुरोधमा जिल्लाका विभिन्न स्थानमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीबाट ३३ थान अक्सिजनसहितका तथा ३४ थान खाली गरी ६७ थान अक्सिजन सिलिन्डर संकलन गरेको जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

प्रहरीले संकलन गरेको सिलिन्डर जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा राखिएको गिरीले बताए । व्यवसायीसँग प्रहरीले संकलन गरेका अक्सिजन सिलिन्डर जिल्लाभित्रका कोरोना संक्रमित बिरामीलाई आवश्यक पर्दा तत्काल स्वास्थ्य संस्थालाई उपलब्ध गराइने गिरीले जानकारी दिए ।

डिसिसिएमसीको निर्णयानुसार प्रहरीले व्यवसायीसँग अक्सिजन सिलिन्डर प्रदान गर्न आग्रह गरेपछि व्यवसायीले आफूसँग रहेका सिलिन्डर हस्तान्तरण गरेका प्रहरी नायब उपरीक्षक गिरीले बताए । अक्सिजन सिलिन्डर ग्रिल उद्योग, वर्कशप, कवाड पसलसहित मेटलसम्बन्धी काम गर्ने उद्योग तथा व्यवसायबाट संकलन गरिएको हो । जिल्लामा हालसम्म कोभिडका सक्रिय संक्रमितको सङ्ख्या ७२५ पुगेको छ भने पछिल्ला २५ दिनमा कोभिड–१९ संक्रमणका कारण १२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया