अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन

झापा । लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न यहाँ प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट १ सय ५ सिलिन्डर संकलन गरेको छ । मेडिकलबाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर संकलन थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले बताए । कोभिड–१९ महामारीको दोस्रो लहरले संक्रमितको संख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेको छ । विभिन्न उद्योग र ग्यारेजबाट प्रहरी टोलीले सिलिन्डर संकलन गरी डिलरमा पु¥याएको छ ।

दमकको मातृका ट्रेडर्स र बिर्तामोडको कपुरी ब्रदर्स तथा जलकन्या ट्रेडर्समा ती सिलिन्डर रिफिलका लागि पठाइएको थापाले जानकारी दिए । उनले प्रयोगविहीन र लुकाइएका अक्सिजन सिलिन्डरको खोजी कार्य जारी रहेको बताए । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले संकलन गरिएका सिलिन्डर निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप र आवश्यकता हेरेर उपलब्ध गराइने जनाए ।

‘जुन अस्पतालमा अक्सिजन अभाव हुन्छ, त्यहीँ उपलब्ध गराउँछौँ’, प्रजिअ तिम्सिनाले भने, ‘अक्सिजन अभावमा संक्रमितलाई सकस नहोस् भनेर उद्योगधन्दाका सिलिन्डर संकलन गर्न थालेका हौँ ।’ जिल्लामा आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार २ सय ३ रहेको छ । मेची प्रादेशिक अस्पतालमा रहेको ७५ श्ययाको कोभिड अस्पतालमा ५० श्यया संक्रमितले भरिसकेको छ ।

यसैक्रममा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा रहेका सरकारी तथा निजी अस्पतालको अनुगमन सुरु गरेको छ । प्रजिअ तिम्सिनाले निजी तथा सरकारी अस्पतालको अनुगमन गरेर त्यहाँ भर्ना भएका कोरोना संक्रमितको उपचार अवस्थाका बारेमा जानकारी लिइएको बताए । यहाँ चार सय आइसोलेसन कक्षको व्यवस्था रहेको उनले जानकारी दिए । मेची कोभिड अस्पतालमा ७५ शय्या आइसोलेसन र २५ शय्या एचडियु रहेको उनले बताए । त्यसैगरी बी एन्ड सी हस्पिटलमा २५ शय्याको आइसियु तथा भेन्टिलेटर र ७५ शय्याको आइसोलेसन वार्ड सञ्चालनमा छ । मनमोहन सामुदायिक अस्पतालमा अक्सिजनसहितको १० र बिर्तासिटी अस्पतालमा २५ शय्याको कोभिड उपचार कक्ष रहेको छ ।

मनमोहन सामुदायिक अस्पतालबाहेक अरू अस्पतालको कोभिड उपचारका लागि छुट्याइएका आइसोलेसन शय्या संक्रमित बिरामीले भरिएका छन् । आइसियु र एचडियुसमेत भरिएका छन् । प्रजिअ तिम्सिनाले जिल्लाका १५ स्थानीय तहले पाँचदेखि ५० शय्यासम्मका कोभिड ओइसोलेसन कक्ष स्थापना गरेको हुँदा तत्काल जिल्लामा संक्रमितका लागि शय्याको अभाव नरहेको बताए ।

उनले अनुगमनका क्रममा निजी अस्पताललाई आवश्यकताअनुसार अक्सिजनसहितका शय्या थप गरी संकटका बेला सरकारलाई सहयोग गर्न आग्रह गरिएको बताए । मेची प्रादेशिक कोभिड अस्पतालमा भने जनशक्तिको अभाव रहेको उनको भनाइ छ । ‘मेचीमा जनशक्ति अभाव छ’, उनले भने, ‘प्रदेश सरकारलाई जनशक्ति थपका लागि माग गरेका छौँ, जिल्लामा सकेसम्म जनशक्तिदेखि स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षण सामग्रीमा कुनै अभाव हुन दिँदैनौँ ।’

प्रतिक्रिया