खोजखबर

कामीरिताको २५ औँ विश्व कीर्तिमान

सौर्य अनलाइन २०७८ वैशाख २५ गते ६:२० मा प्रकाशित

काठमाडौं । यस वर्षको वसन्त याममा सगरमाथा (८,८४८.८६ मिटर) हिमालको आरोहण शुरु भएको छ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा शुक्रबार साँझ सगरमाथाको चुचुरामा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो । डोरी टँगाइ टोली साँझ ६ः०० बजे चुचुरामा पुगेर आरोहणको ढोका खोलेसँगै सर्वाेच्च शिखर सगरमाथाको पहिलो आरोहण शुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले रोप फिक्सिङसँगै सगरमाथा आरोहण शुरु भएको जनाउँदै आरोहणमा संलग्न टोलीलाई बधाई ज्ञापन गरेका छन् । सेभेन समिट ट्रेक्समार्फत गएको शेर्पा टोलीले सगरमाथा आरोहण खुलाएको हो ।

सगरमाथाको आधार शिविरमा रहेका निर्देशक आचार्यले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन्, ‘सगरमाथा हिमचुलीमा शुक्रबार २०२१ मे ७ तारिखका दिन बेलुकीको ६ बजे रोप पुगेको छ । यस वर्षको सगरमाथाको पहिलो समिट भएको छ । कामीरिता शेर्पाले नेतृत्व गरेको रोप फिक्सिङ टिमलाई बधाई ।’ सगरमाथाको आधार शिविरबाटै कुरा गर्दै निर्देशक आचार्यले कीर्तिमानी आरोही कामीरितासहितको शेर्पा आरोहीले चुचुरामा पुगेसँगै व्यावसायिक आरोहण शुरु भएको बताए ।

उनले गतभन्दा अघिल्लो वर्षका तुलनामा सात दिनअघि नै सगरमाथाको आरोहण शुरु गरेर नेपालको व्यावसायिक आरोहणकोे सकारात्मक सन्देश विश्वभर गएको जानकारी दिए । सन् २०१९ को सगरमाथा आरोहण मे १४ तारिखदेखि शुरु भएको थियो । सगरमाथा आरोहणका लागि २० दिन बाँकी रहेकाले आरोहण व्यवस्थापनमा हरहमेसा तवरले जुटेको निर्देशक आचार्यले बताए । रोप फिक्सिङ टोलीमा कामीरिता, तेञ्जिङ शेर्पा, मिङ्मातेञ्जिङ शेर्पा, मिङ्माजोजी शेर्पा, फुरतेन्जी शेर्पा, ल्हाक्पानोर्बु शेर्पा, फुर्बाछिरिङ शेर्पा, छेटेनजोर्जी शेर्पा, तेन्जिङग्याल्जेन शेर्पा र फुर्बाकुसङ शेर्पा छन् ।

वसन्त यामको जारी आरोहणमा सगरथाको चुचुरामा २५ औँ पटक पुगेर कामीरिताले आफ्नै यसअघिको २४ पटकको विश्वकीर्तिमान तोडेका छन् । कामीरिताले २५ औँ कीर्तिमान बनाउन सफल भएको निर्देशक आचार्यले बताए । यो आरोहणबाट असहज परिस्थिति भए पनि नेपालको पर्वतारोहण सुरक्षित रहेको सन्देश जानाका साथै सगरमाथाको नयाँ कीर्तिमान थपिएको विभागको बुझाइ छ ।

सन् २०१९ को वसन्त आरोहण वैशाख ३१ गतेदेखि शुरु भएको थियो । उक्त वर्ष ४१ आरोही समूहका तीन सयभन्दा बढीले सगरमाथा आरोहण गरेका थिए । सन् २०१८ मा सगरमाथा आरोहणका लागि ३८ आरोहण समूहका ३६४ आरोहीले आरोहण अनुमति लिएका थिए । सन् २०१७ को वसन्त याममा सगरमाथा आरोहणका लागि ४३ आरोही समूहका ३६६ स्वदेशी तथा विदेशीले सगरमाथा आरोहण गरेका थिए ।

सन् २०१६ मा ३८ समूहका ३०० भन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए । कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामको सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् ।

यसमा ९३ महिला र ३१५ पुरुष छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहितका १९ हिमाल तथा पिक आरोहणका लागि २४ एक्सिपिडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका छन् । वसन्त यामको हिमाल आरोहणबाट हालसम्म ७१ करोड ४८ लाखभन्दा बढी सलामी सङ्कलन भएकोे छ । सगरमाथाबाट मात्रै ६६ करोडभन्दा बढी रोयल्टी जम्मा भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय