एकै गाउँमा १९ संक्रमित भएपछि गाउँ नै सिल

स्याङ्जा । बुधबार एकै गाउँका १९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको छ । वालिङ–१ धरमपानीका स्थानीयवासीमा कोरोनाको लक्षण देखिएपछि वालिङस्थित गह्रौँ प्राथमिक अस्पताल र स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर गरेको स्वास्थ्य परीक्षण गरेको थियो । गत १४ गते गाउँमा ८४ पूजाको आयोजना गरिएको र पूजामा केही सहभागीलाई लक्षण देखिएपछि उनीहरू एन्टिजिन परीक्षण गर्न गह्रौँ प्राथमिक अस्पताल आएका थिए ।

‘सात जनाको एन्टिजिन परीक्षणमा सातै जनालाई कोरोना पोजेटिभ देखिएपछि धरमपानी गाउँमै गएर परीक्षण ग¥यौँ । २५ जनाको नमुना परीक्षण गर्दा १९ जना संक्रमित भेट्यौँ । अहिले गाउँनै सिल गरका छौँ’, नगरप्रमुख खाँणले भने । उक्त गाउँमा नौ वर्षका बालकदेखि ७७ वर्षकी ज्येष्ठ महिलासम्म संक्रमित रहेको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए । संक्रमण हुनेमा महिला १४ जना र पुरुष पाँच जना रहेका छन् ।

गाउँमै पुगेर आवश्यक औषधिहरू वितरण गरिएको र समस्या परेको खण्डमा जुनसुकै समयमा पनि स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा रहेका पाण्डेले बताए । वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा ६ बेडमा अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याइएको छ । कोरोनाको हब बन्दै गएको वालिङ नगरभित्र बुधबार मात्रै ३५ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म वालिङमा मात्रै २ सय ८ जना सक्रिय संक्रमित छन् भने जिल्लाभर ३ सय ३१ रहेका छन् ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया