मुगुमा पनि एक साता निषेधाज्ञा

मुगु । हिमाली जिल्ला मुगुमा पनि निषेधाज्ञा लागू गरिएको छ । केही दिन देखि मुगुमा कोरोना भाइरसका संक्र्रमितहरूको संख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि यसको रोकथाम तथा नियन्त्रणका लागि बुधवार राति १२ बजेदेखि लागू हुनेगरी एक साता निषेधाज्ञा गरिएको हो ।

कोभिड—१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा कोरोना भाइरसका संक्रमितहरूको संख्या बढ्न थालेपछि यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर सिवाकोटीले बताए ।

उनले जिल्लाभर अति आवश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्नुका साथै सवारी साधनमा पूर्ण रोक लगाउने होटेल, खाद्यान्न तरकारी फलफूल, ग्यास पसल तथा व्यसायहरु बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खोल्न पाइने निर्णय गरेको बताए ।

त्यस्तै निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरू र अत्यावश्यक काम पर्ने सार्वजनिक कार्यालयहरूले अफिसमा आलोपालो कर्मचारी खटाई स्वास्थ्य सुरक्षाका मापदण्डमा रहेर सेवा प्रवाह गरिने कोभिड—१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

संक्रमितको संख्या २४

मुगुमा २४ जना कोराना संक्रमित फेला परेका छन् । जिल्लाका एक नगरपालिका र तीन गाउँपालिकामा एन्टिजिन परीक्षण गरिँदा मंगलबारसम्म २४ जनामा कोराना संक्रमण भएको छ । गत वर्ष चैत ११ बाट श्रावणसम्म ४ महिनामा जिल्लाभरमा ३८ जना कोरोना संक्रमित भेटिएका थिए । तर यो वर्ष हप्ता दिन मै २४ जना भेटिएका छन् ।

कोरानाको जोखिममा मुगु

कोरोनाको रेड जोनमा रहेको बाँके जिल्लासँग सिधा सम्पर्कमा रहेको विकट हिमाली जिल्ला पनि कोरानाको उच्च जोखिममा रहेको छ । मुगु जिल्ला कर्णाली प्रदेशमा परे पनि लुम्बिनी प्रदेशमा रहेको नेपालगञ्जको राँझा विमानस्थलबाट मुगुको रारा विमानस्थलसम्म सिधा हवाई उडान हुँदै आएको छ ।

यहाँका स्थानीयहरू प्राय बाँकेको विभिन्न ठाँउहरुमा बसोबास गर्दै आएको र उनीहरू गर्मीको बेला घर फर्कने भएकाले मुगु जिल्ला कोरोनाको उच्च जोखिममा रहेको सरोकारवालहरूले बताउँने गरेका छन् ।

प्रदेश राजधानी सुर्खेत भए पनि मुगु जिल्लाको मुख्य कारोबार र बसाई सराई पनि बाँकेसँग हुँदै आएको छ भने स्थल मार्गबाट सवारी साधन र हवाई मार्गबाट समेत सिधै बाँकेसँग मुगु जोडिएको छ । दैनिक बसबाट स्थानीयहरू आइरहेका र हवाई मार्गबाट समेत देशभरबाट आन्तरिक पर्यटकहरू रारा घुम्न आइरहेकाले पनि मुगु जोखिम बढेको हो ।

ओपीडी सेवा बन्द

जिल्ला अस्पताल कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि अस्पतालले ओपीडी सेवा बन्द गरेको छ । कोरानाको बिरामी हेर्दै आएकी एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि आईतबारबाट ओपीडी सेवा बन्द गरिएको हो ।

जिल्ला अस्पताल मुगुका डाक्टर कबिराज पौडेलले अनुसार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि जिल्ला अस्पतालबाट दिँदै आएको ओपीडी सेवा केही समयको लागि बन्द गरिएको बताए ।

प्रतिक्रिया