राष्ट्रियसभाको उपचुनावमा एमाले–एमाले भिडदैं

काठमाडौं । राष्ट्रियसभाको दुई सिटका लागि जेठ ६ गतेर १७ गते हुन लागेकोे उपनिर्वाचनमा नेकपा एमालेविरुद्ध एमालेकै माधव नेपाल पक्षसहितको चार पक्षीय गठबन्धन बन्ने भएको छ । वागमती प्रदेशमा जेठ ६ र लुम्बिनी प्रदेशका जेठ १७ गते दुई सिटको लागि उपचुनाव हुने भएको छ । माओवादीका रामबहादुर थापा बादल र चन्द्रवहादुर खड्का एमाले प्रवेश गरेपछि ती दुई ठाउँ रिक्त भएका थिए । मंगलबार र बुधबार कांग्रेस, माओवादी, जसपाको उपेन्द्र पक्ष र एमालेको माधव नेपाल पक्षबीच भएको छलफलपछि लुम्बिनीमा कांग्रेसलाई सघाउने तथा वागमतीमा प्रचण्ड–माधव पक्षलाई सघाउने सहमति भएको स्रोतले जनाएको छ ।

सोही सहमति बमोजिम हात्तीवनस्थित उपेन्द्र यादवको निवासमा भएको बैठकले वागमतीमा एमालेका उम्मेदवार बादलविरुद्ध वागमती प्रदेशका योजनाका आयोगका पूर्वउपाध्यक्ष खिमलाल देवकोटालाई अघि सार्ने निर्णय भएको हो । देवकोटा कुनै राजनीतिक पार्टीमा सक्रिय नभए पनि उनी एमालेको माधव नेपाल पक्षसँग नजिक मानिन्छन् । प्रचण्ड–माधव पक्षको साझा रोजाइमा परेर उनलाई अघि सारिएको बताइएको छ ।

माधव पक्षबाट उम्मेदवार बने पनि उनको चुनाव चिन्ह भने माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडाबाट लड्ने समझदारी भएको छ । वागमतीमा एमालेको एकल बहुमत भए पनि माधव पक्ष अलग हुनासाथ विपक्षी गठबन्धन बलियो बन्न सक्छ । यहाँ जसपाको बाबुराम पक्षका एक गाउँपालिका अध्यक्ष र एकजना प्रदेशसभा सदस्य छन् । राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता हुन्छन् । लुम्बिनीमा भने एमालेबाट प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दुर्गानारायण पाण्डे कांग्रेसमा प्रवेश गरेकाले उनैलाई उम्मेदवार बनाउने तय भएको छ ।

प्रतिक्रिया