अस्पतालमा अक्सिजन र एन्टिजेन किटको अभाव

सल्यान । सल्यान अस्पतालमा अक्सिजन अभाव भएको छ । कोरोना संक्रमितहरूको उपचार भइरहेको अस्पतालमा अक्सिजन अभाव भएपछि अक्सिजन दिइरहेका कोरोना संक्रमित बिरामीहरू प्रभावित हुन थालेका छन् । अस्पतालमा रहेका १७ वटा अक्सिजन सिलिन्डर मध्ये १४ वटा प्रयोगमा आएकोमा सिलिन्डरहरू खाली भएपछि संक्रमितहरूलाई पूरै समय अक्सिजन दिन बन्द गरिएको छ । अस्पतालमा भएका तीन वटा सिलिन्डरहरू बिग्रेको कारण समस्या भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमितहरूलाई उच्च क्षमतामा अक्सिजन दिनुपर्ने भएकोले एकै दिनमा १० वटा अक्सिजनका सिलिन्डरहरू सकिने स्वास्थ्यकर्मी बताउँछन् । ‘हरेक २४ घण्टामा १० वटा सिलिन्डर सकिन्छन् बाँकी आठदेखि १० घण्टा धान्नुपर्छ यतिबेला बिरामीहरूलाई पूरा समय अक्सिजन पुग्दैन’, सल्यान अस्पतालका डाक्टर भीमकान्त जैसीले भने ।
अस्पतालमा सुर्खेतबाट अक्सिजन ढुवानी गर्नुपर्ने भएकोले सुर्खेत जान र आउन तथा सिलिन्डर भर्न समय लाग्ने भएकोले अक्सिजन पु¥याउन समस्या भइरहेको डा. जैशीको भनाइ छ । अस्पतालमा थप १० वटा सिलिन्डर मात्रै भएको भए पनि राहत हुने उनको भनाइ छ ।

सोमबार सुर्खेत पठाइएका सिलिन्डर मंगलबार दिउँसोसम्म अस्पतालमा आइनपुग्दा अझै समस्या भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालले भएको स्रोत साधनको अधिकतम प्रयोग गरेर सेवा दिइरहेको डाक्टर प्रदीप शर्माले जानकारी दिए । ‘अस्पतालमा भर्ना भएका अन्य बिरामीहरूलाई समेत अक्सिजन दिनुपर्ने अवस्था रहेको छ यसले अझै समस्या बनाएको छ’, डा. शर्माले भने ।

केही दिनअघि मात्रै अस्पतालमा अक्सिजन प्लान्ट मेसिन आएको छ । कर्णाली प्रदेशबाट मेसिन त आयो तर मेसिन जडान गर्ने जनशक्ति नपठाउँदा मेसिन त्यसै थन्किएको छ । अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि भने काम गर्न सहज हुने शर्माको भनाइ छ । यसैबीच सल्यान अस्पतालमा एन्टिजेन किट सकिएपछि कोरोना परीक्षण रोकिएको छ । एन्टिजेन विधिमार्फत अस्पतालमा गरिँदै आएको कोरोना परीक्षण हाललाई स्थगित गरिएको स्वास्थ सेवा कार्यालय सल्यानले जनाएको छ ।

किट कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आए पनि प्रदेशमै किट सकिएपछि पाउन नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले बताए । एन्टिजेन नहुँदा पिसिआरबाट परीक्षण गर्दा रिपोर्ट ढिला आउने देखिएको छ । पिसिआरका लागि दुई सय स्वाब संकलन गरेर मात्रै सुर्खेत पठाइने हुँदा रिपोर्ट ढिला आउने देखिएको हो । जिल्लाका स्थानीय तहहरूले कोरोना संक्रमितहरूका लागि आइसोलेसन व्यवस्था गरे पनि संक्रमितहरू भने जिल्ला अस्पतालमै आउने गरेका छन् ।

यसैबीच सल्यानमा तीन जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिका–७ का ७० वर्षीय एक पुरुष सल्यान अस्पतालमा, सिद्ध कुमाख गाउँपालिका–१ का ३३ वर्षीय पुरुषको कर्णाली प्रादेशिक अस्पतालमा र शारदा नगरपालिकाका ४५ वर्षीय पुरुषको उपचाका लागि हेलिकोप्टरमार्फत काठमाडौं लिने क्रममा मृत्यु भएको हो । मृत्य भएका मध्ये एक जनासँगै सल्यानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ । संक्रमितहरूको संख्या दिनप्रतिदिन बढ्न थालेपछि उपचारमा समेत समस्या हुन थालेको छ । हालसम्म सल्यानमा तीन सय बढीमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया