खोजखबर

आज थप दुई हजार ४२८ जनामा कोरोना पुष्टि

सौर्य अनलाइन २०७८ वैशाख ९ गते १८:४६ मा प्रकाशित

काठमाडौं । आज देशभर थप दुई हजार ४२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख ९२ हजार १५२ पुगेको छ ।

थप दश हजार एक जनाको पिसिआर परीक्षण तथा ४४७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या दुई लाख ९२ हजार १५२ जना पुगेको छ । हाल ८१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्र एक हजार १७४ जना रहेका छन् । काठमाडौंमा ९८७, ललितपुरमा १०६ र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म दुई लाख ७६ हजार ३४५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५२ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १२ हजार ६९० सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय रुपन्देहीमा १२५, मोरङमा ११३, पर्सामा ७९, कैलालीमा ७३, पाल्पामा ४२, कञ्चनपुरमा ३७, सुनसरीमा ३६, बर्दियामा ३१, कास्कीमा ३१, मकवानपुरमा ३०, कपिलवस्तुमा २७, दाङमा २३, चितवनमा २२, काभे्रपलाञ्चोकमा १७, स्याङ्जामा १४, नुवाकोटमा १२ तथा गुल्मीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाबाट पाँचको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो समय पाँच जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट तीन हजार ११७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय