भैँसीगोठ विस्थापन गर्दै होटेल

झण्डै डेढ दशकअघि कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका युवा सुदीप गौतमले मर्दी हाइक्याम्पमा होटेल सञ्चालन गर्न लाग्दा उनका छिमेकी तथा आफन्तले अनौठो मान्थे । कतिपयले त त्यतिबेला गौतमलाई उपहासको पात्र समेत बनाए । समयको गतिसँगै मर्दी हिमाल पदयात्राले विश्वव्यापी चासो र चर्चा कमाएसँगै यतिखेर धेरै युवा मर्दी पदयात्रा मार्गमा सुदीपकै पदचाप पछ्याउँदै होटेल व्यवसाय सञ्चालन गर्न थालेका छन् ।

सन् २००७ मा गौतमले मर्दी हाइक्याम्पमा होटेल ट्रेकर्स प्याराडाइज सञ्चालन गर्नुपूर्व हाइक्याम्पमा मात्र नभई मर्दी पदयात्रा मार्गका फरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, डुँडखर्क लगायतका कुनै पनि स्थानमा होटेल थिएनन् ।

पदयात्रा मार्गमा डेढ दशकअघिसम्म केबल भैँसीगोठ मात्रै रहेको ७१ वर्षीय टेकबहादुर गुरुङले अनुभव सुनाए । आफू ३५ वर्षको हुँदा पदयात्रा मार्गको कोकारमा रहेको भैँसीगोठमा आएका एक जना विदेशी पदयात्रीले चियाको किट्ली बसाल्न भनेको कुरा स्मरण गर्दै गुरुङले त्यस समयमा पदयात्रामा आउने पर्यटक केबल क्याम्पिङका भरमा रात कटाउने गरेको बताए ।

आफूले चिया पसल सुरु गर्नुका साथै भैँंसीगोठलाई पर्यटक बस्ने ठाउँका रूपमा विकास गरेको उनले बताए । ‘मर्दी पदमार्गमा यतिका पर्यटक आउलान् भन्ने मैले सोचेकै थिइन,’ उनले भने, ‘मर्दी पदयात्रामा पछिल्ला वर्षमा बढेको आकर्षणले हामीलाई निकै खुसी बनाएको छ ।’ तत्कालीन समयमा क्याम्पिङमा बसेका पर्यटकका लागि पिउने पानीको निकै दुःख रहेको उनले बताए ।

आफूले भैँसीगोठ राखेको कोकारको नाम जंगलका बीचमा रहेका कारण पछिल्ला वर्षमा ‘फरेस्ट क्याम्प’का रूपमा चिनिएको उनले बताए । कोकार गुरुङ भाषाको शब्द हो । यसको अर्थ सुकेको रगत भन्ने हुन्छ । भैँंसीगोठलाई विस्थापन गर्दै होटेल बनेको यस ठाउँमा परापूर्वकालमा राजारजौटाबीच लडाइँ भएको र त्यहाँ रगत सुकेको किंबदन्तीका आधारमा यसको नाम कोकार भएको हुन सक्ने अनुमान गरिन्छ । यही फरेस्ट क्याम्पमा अहिले १२ होटेल सञ्चालनमा आइसकेका छन् ।

गुरुङ जस्तै अर्का ७१ वर्षीय होमबहादुर क्षेत्री पनि भैँसीगोठको ठाउँ होटेलले लिएकोमा दंग छन् । हिमालयन इन्काउन्टर नामक टे«किङ कम्पनीबाट आएका पदयात्री क्याम्पिङ गर्दै धेरै वर्षसम्म यस क्षेत्रमा पदयात्रा गरेको उनले बताए । बढ्दो पर्यटकको आगमनसँगै पानीको चरम दुःख भएपछि ०६७–६८ तिर पानीका लागि एक्यापलाई दिएको निवेदनअनुसार पाएको पाइपसँगै पदयात्रा क्षेत्रको अनुरोधबाट पानी ल्याएको उनले बताए ।

भैँंसी गोठलाई विस्तारै पर्यटकको आगमनलाई लक्षित गरी सुविधा सम्पन्न बनाउँदै जाँदा पछिल्ला वर्षको भैँंसीगोठ पूर्ण रूपमा विस्थापन भई होटेल सञ्चालनमा आएको अर्का स्थानीय भक्तबहादुर गुरुङले बताए । खानेपानी, बिजुलीलगायतका समस्यालाई समाधान गर्न सकेमा यहाँ आउने पर्यटकलाई राम्रै सेवा सुविधा प्रवाह गर्नै सकिने उनले बताए ।

पोखरा—बागलुङ राजमार्गअन्तर्गतको काँडे हुँदै मर्दी हिमालको पदयात्रा गर्ने पर्यटकले पहिलो रात फरेस्ट क्याम्पमा बिताउने गरेको उनले बताए । फरेस्ट क्याम्प २ हजार ६ सय मिटरको उचाइमा छ । यहाँ रात कटाएर भोलिपल्ट लगभग छ–सात घण्टाको पदयात्रापछि पदयात्री ३ हजार ५ सय ५० मिटर उचाइको मर्दी हाइक्याम्प पुग्दछन् ।

हाइक्याम्पबाट बिहान झिसमिसेमा उठेर पदयात्री ४ हजार २ सय मिटरको भ्यू प्वाइन्ट पुग्छन् । भ्यू प्वाइन्ट पुग्ने पदयात्रीले सकेसम्म मर्दी हिमाल आधार शिविरसम्म पुग्नुपर्ने टान पश्चिमाञ्चल क्षेत्रीय संघका उपाध्यक्ष एवं होटेल एसिया, लेकसाइडका सञ्चालक धर्मराज पन्थीले बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एसोसिएसन (टेसा) पोखराद्वारा चैतको १ गतेदेखि गरिएको चारदिने मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग तथा चिनारी विषयक कार्यक्रमका सन्दर्भमा उक्त क्षेत्रमा पुग्ने अवसर मिलेको र एकपटक पदयात्रा गर्नै पर्ने गन्तव्यका रूपमा आफूले पाएको अनुभव उनले सुनाए ।

‘पछिल्ला वर्षमा मर्दी हिमाल पदयात्रा जसरी आकर्षक गन्तव्य बनेको छ, त्यसरी नै यहाँ सुविधा सम्पन्न होटेल बन्ने क्रम पनि बढेको रहेछ,’ उनले भने, ‘बढ्दो पर्यटकको आगमनसँगै यस क्षेत्रको वातावरणीय संरक्षणका साथै सरसफाइमा ध्यान दिनुपर्ने देखिन्छ ।’ कोरोनाले थलिएको पर्यटनलाई पुनरोत्थान गर्नका लागि यस्ता आकर्षक पदमार्गको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्डसहित पर्यटनसम्बद्ध सबै संघसंस्था हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

गुराँस फुल्ने जंगलैजंगल चराचुरुंगीको चिरबिराहट सुन्दै र देख्दै हिँड्न सकिने यस मार्गमा सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्छन् । यहाँबाट माछापुच्छ्रे मर्दी, अन्नपूर्ण, गंगापूर्णजस्ता हिमाललाई एक साथ अवलोकन गर्न सकिने पर्यटन व्यवसायी एवं फेवा ट्रेकिङ शप लेकसाइडका सञ्चालक महेन्द्र केसीले बताए । हिँड्न सक्ने व्यक्ति एकदिनमा नै मर्दी हिमालको काखमा पुग्न सक्ने भएकाले यसको पदयात्रा पर्यटन एवं पर्वतीय पर्यटनमा विशेष महत्व रहेको उनले बताए ।

कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्ग अस्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्दछ । यी सबै स्थानमा बस्न र खानका लागि होटेल सञ्चालनमा आइसकेका छन् । समुद्री सतहबाट ३ हजार ५ सय ५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करीब दुई घण्टामा ४ हजार २ सय मिटर उचाइको ‘भ्यु प्वाइन्ट’ र त्यहाँबाट दुई घण्टामा ४ हजार ५ सय मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ ।

पर्यटकलाई लक्षित गरी पदयात्रा मार्गको हाइक्याम्पमा १३ वटा, फोरेस्ट क्याम्पमा १२ वटा, लो क्याम्पमा नौ वटा, बादल डाँडामा ६ वटा र डुँडखर्कमा तीन वटा होटेल सञ्चालनमा आइसकेका छन् । विसं १९९० देखि २००७ सम्म पदयात्रा मार्गका विभिन्न स्थानमा भैँसीपालन गर्दै आएका व्यवसायीले क्याम्पिङ गरी बस्ने पर्यटकलाई सेवा प्रवाह गरिरहेकामा त्यस यता भने भने ठूलै संख्यामा खुलेका होटेलले पर्यटकको चाहनाअनुसार सेवा प्रवाह गरिरहेको होटेल ट्रेकर्स प्याराडाइजका सञ्चालक सुदीप गौतमले जानकारी दिए ।

मर्दी पदयात्रा आउने जो कोहीले खान बस्नको कुनै असुविधा भोग्नु नपर्ने बताउँदै मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका संस्थापक अध्यक्षसमेत रहेका गौतमले पदमार्ग क्षेत्रको व्यवस्थापन, सरसफाइ लगायतका विषयलाई पनि प्राथमिकतामा राखिएको बताए ।

प्रतिक्रिया