जसपाका शीर्ष नेताहरु सत्ता समीकरणबारे निर्णयको छलफलमा

काठमाडौं । जसपाका शीर्ष नेताहरु सत्ता समीकरणबारे निर्णयको छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर गठबन्धनको सरकार बनाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गरेको प्रस्तावपछि आज जनता समाजवादी पार्टी जसपाको नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

उक्त छलफलमा संघीय परिषद्का सदस्य एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी भएको जसपा स्रोतले जनाएको छ ।

जसपा संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष यादव प्रम ओली नेतृत्वको सरकारलाई हटाएर कांग्रेस माओवादी र जसपाको गठबन्धनको सरकार बनाएर देशलाई निकास दिनुपर्ने पक्षमा उभिएका छन् ।

यता, अर्को अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओली सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेका छन् । कांग्रेसले गत शुक्रबार माओवादी र जसपालाई बोलाएर आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउने प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया