आरबिबी एनभिए कप हेल्प नेपालको विजयी सुरुवात

काठमाडौं । टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार हेल्प नेपालले नयाँ बजार सामाजिक युवा क्लबलाई ३–१ ले पराजित गरेको हो । तीन भारतीय खेलाडीसहित उत्रिएको हेल्प नेपालले पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा नयाँ बजारले २५–२३ को जित हासिल गर्दै खेल बराबरीमा ल्यायो । तर त्यसपछि लगातार दुई सेट जित्दै हेल्प नेपालले पूरा ३ अंक हासिल गर्यो । हेल्प नेपालले तेस्रो सेट २५–२२ र चौथो सेट २५–१६ ले पराजित गर्यो ।

त्यसअघि महिलातर्फ भएको प्रतिस्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबले होंगान्जी न्यु डायमन्डमाथि ३–२ को रोमान्चक जित हासिल गर्यो । आर्मीले पहिलो, तेस्रो र पाँचौ सेटमा जितका साथ विजयी सुरुवात गरेको हो । आर्मीले न्यु डायमण्डलाई २५–१७, २०–२५, २५–२३, १५–२५ र १५–१२ ले हराउँदै पहिलो जित निकालेको हो ।

पहिलो खेलमा न्यु डायमण्डले ढोरपाटन स्पोर्टस क्लबमाथि ३–० को सोझो सेटमा जित निकालेको थियो । आर्मीले आफ्नो दोस्रो खेल शनिवार ढोरपाटनसँग खेल्ने छ । न्यू डायमण्डले आफ्नो तेस्रो खेल शनिवार भरतपुर महानगरपालिका क्लबसँग खेल्ने छ ।

२६ चैतसम्म हुने प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिग अवधिभर खेलाडी र अफिसियलको बिमा गरिने संघले जनाएको छ । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रो ले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार रुपैया हात पार्नेछन् ।

प्रतिक्रिया