दिपक खड्काको ‘छड्के सलाम’मा पल शाहको ठुम्का

काठमाडौं । लोकदोहोरी गायक दिपक खड्काको पछिल्लो नयाँ गीत ‘छड्के सलाम’ को भिडियो सार्वजनिक भएको छ । भिम विष्टको शब्द उक्त गीतमा समावेश छ भने दिपकले नै संगीत भरेका छन् । साथै, श्यामस्वेत रसाइलीले संगीत संयोजन गरेको गीतमा गायक दिपक खड्का, भिम विष्ट, गायिका प्रिती आले र सरु गौतमले आवाज दिएका छन् ।

इनाक्षी इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । नेर्देशक काजीश श्रेष्ठको भिडियोमा निर्देशन रहेको छ भने अर्जुन तिवारीले छायांकन गरेका हुन् । त्यसैगरी, दिपक विष्टले सम्पादन गरेको सो भिडियोमा नायक पल शाह, सुधीर श्रेष्ठ, नायिका अञ्जली अधिकारी, अशुं न्यौपाने र सोही गीतका गायक गायिकाहरु दिपक खड्का, भिम विष्ट, प्रिती आले र सरु गौतमले अभिनय गरेका छन् ।

नायक पल शाह यस भिडियोमा फरक गेटअपमा देखिएका छन् । गायक खड्काले नेपाली गीत संगीतको मौलिकतालाई मान्यता दिँदै दर्शक स्रोतालाई पनि छुट्टै मनोरञ्जन दिने लक्ष्य राखेर यस गीत र भिडियो बजारमा ल्याएको बताए । साथै, उनले उक्त भिडियो चितवनको नारायणगढ र गैँडाकोटबीच नारायणी नदीको रमणीय एवं पर्यटकीयस्थलमा छायांकन गरिएको जानकारी दिए ।

नवलपुरकै गैँडाकोटमा जन्मिएका गायक खड्का सानैदेखि गीत संगीतमा रुची राख्ने गर्थे । गाउँघरका प्रत्यक्ष दोहोरी कार्यक्रममा सहभागी भएर विभिन्न पुरस्कार समेत जितेका उनले सुरुवातमा त आफ्नो भवीष्यको पेशा गीत संगीतमा नदेखेको तर, क्षेत्रमा क्रियासील हुँदै जाँदा पेशा नै यही बन्न पुगेको बताए । गीत संगीतको मोहले तानेपछि रहर पूरा गर्नका लागि प्रत्यक्ष दोहोरीमा हिँडे पनि क्रियासील बन्दै गएपछि राम्रो स्थानमै पुग्न सकिने अनुभव गायक खड्काले सुनाए ।

वि.स. २०५५–०५६ सालदेखि औपचारीक रुपमा यस क्षेत्रमा लागेका गायक खड्काले अहिलेसम्म करीव एक दर्जनको हाराहारीमा आफ्नै एल्बम बजारमा ल्याइसकेको जानकारी दिए । धेरै वर्षअघि रेडियो नेपाल लगायत विभिन्न एफएममा बज्ने ‘मन पर्नै एउटी साली छ, मान्छे त राम्रै हो अल्ली काली छ’ बोलको गीतमा पनि शब्द सिर्जना आफ्नै रहेको उनले बताए । उक्त एल्बम अर्कैको नाममा भए पनि शब्द रचना भने आफूले गरेको गायक खड्काको भनाइ थियो ।

अहिलेको तुलनामा धेरै वर्षअघि प्रत्यक्ष दोहोरी प्रतियोगीता कमै मात्रामा हुने गर्दथ्यो । तर, पछिल्लो समयमा भने कलाकारहरुको संख्या बढ्दै जानु र आधुनीक तथा प्राविधिकको विकासले पनि त्यस्ता कार्यक्रमहरु प्रसस्त मात्रामा देख्न पाइन्छ । गायक खड्काले भने त्यो जमाना २०६१ सालमा भएको प्रत्यक्ष दोहोरी प्रतियोगीता, जुन नेपालकै पहिलो र सबैभन्दा ठूलो, धेरै प्रतियोगी समूहहरुसँग भिडेर प्रथम पुरस्कार जितेको बताए ।

उनले भने, ‘अहिले भने प्रत्यक्ष दोहोरी गाउने कलाकार भाइ बहिनीहरु धेरै जन्मिनुभएको छ, दोहोरी प्रतियोगीताहरु पनि धेरै नै हुने गर्दछ, तर त्यो समय खासै कार्यक्रम पनि नहुने र कलाकारहरुको संख्या पनि कमै हुन्थ्यो ।’ गायक खड्काले आफूलाई नेपाली बजार र दर्शकमाझ चिनाउन सफल ‘फेरि के–के हुनी हो’ दशैँ गीत र ‘मत बेशी झरेको, नक्कलीले गर्दा नक्कले हुन परेको’ बोलको गीत रहेको जानकारी दिए ।

उनको पछिल्लो सार्वजनिक गीत ‘छड्के सलाम’ लाई पनि यो समाचार तयार पार्दासम्म छोटो समयमै एक लाख २० हजारभन्दा धेरै पटक युट्यूबमा हेरिएको छ । गायक खडका गायक मात्र नभइ एक कुशल कार्यक्रम सञ्चालकको रुपमा पनि परिचित छन् । कलाकारीता क्षेत्रकै विभिन्न स्टेज कार्यक्रममा विभिन्न जिल्लादेखि आफ्नै गृह जिल्ला नवपुरका क्षेत्रहरुमा बढी मात्रामा पुग्ने गर्दछन् । विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा उनलाई गायनसँगै कार्यक्रम सञ्चालनको लागि पनि निमन्त्रणा हुने गर्दछ ।

उनी हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष समेत हुन् । सुरुमा जिल्ला सदस्य हुँदै केन्द्रमा पुगेको गायक खड्काको भनाइ छ । नेपाली गीत संगीतको पहिचान जोगाउँदै मौलिक लोक संस्कृतीको जगेर्ना गर्नेतर्फ कलाकारदेखि आम नेपाली दर्शक स्रोताको पनि पहल हुनुपर्ने उनको भनाइ छ । बजारमा आएका राम्रा गीतलाई दर्शक स्रोताहरुले हेरिदिने र नराम्रा गीतलाई बहिष्कार गरिदिए फैलिँदै गएको बिक्रिती र बिसंगती नियन्त्रणमा आउन सहयोग पुग्ने गायक खड्काले बताए ।

प्रतिक्रिया