एमालेमा पुनः नयाँ विवाद : नेता नेपाल र रावल सदस्यबाट निलम्बित

पार्टीविरोधी फाटोवादी र गुटगत क्रियाकलापहरू नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरूमा समेत निरन्तरता दिइरहनेतर्फ अग्रसरता देखिएको, पार्टीकै लागि एकताकै लागि भन्दै भ्रम फिँजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनसायका निम्ति दुरुपयोग गर्ने सम्भावना देखिएका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेका छन् । पार्टीविरोधी गतिविधि गरेको आरोपमा दुवै नेतालाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेका हुन् । पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै निलम्बन गरिएको हो । प्रधानमन्त्री समेत रहेका ओलीले निलम्बनसम्वन्धि पत्रमा एमालेकै नाममा पार्टीविरोधी फाटोवादी र गुटगत क्रियाकलापहरू गरिरहेको उल्लेख छ । ‘पार्टीविरोधी फाटोवादी र गुटगत क्रियाकलापहरू नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरूमा समेत निरन्तरता दिइरहनेतर्फ अग्रसरता देखिएको, पार्टीकै लागि एकताकै लागि भन्दै भ्रम फिँजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनसायका निम्ति दुरुपयोग गर्ने सम्भावना देखिएको’, पत्रमा भनिएको छ ।

पाँच बुँदे पत्रमा नेता नेपाललाई आफ्नो स्वार्थका लागि देश जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पु¥याउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा थप पुष्ट भएको उल्लेख छ । ‘स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुलत्रुटिको स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार, आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखिएको बताइएको छ । नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनेको छ । ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याइ पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ’, दुवैलाई पठाएको पत्रमा भनिएको छ ।

नेपाललाई निलम्बन गर्नुको कारणबारे पत्रमा लेखिएको छ, ‘तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भइ उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्ति सहित अहंकार र आत्म केन्द्रीत कुराहरू उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।’

नेपाललाई निलम्बन गर्नुको अर्को कारणबारे अध्यक्ष ओलीले लेखेका छन्, ‘स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुलत्रुटिको स्वीकारोक्ती नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रष्ट रूपमा देखियो । आफ्नो स्वार्थको लागि देश, जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पु¥याउन तयार भएको, आपराधिक मनोवृत्ति प्रष्ट रूपमा थप पुष्ट भएको । आपराधिक क्रियाकलापहरू स्वीकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिको लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरू प्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भिरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टिकरण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको ।’

ओलीले पत्रमा यस्तै गतिविधिहरू कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराएका छन् । ‘यस्ता पार्टीविरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (ख) बमोजिम हाललाई ६ (छ) महीनाको लागि निलम्बन गरिएको छ’, पत्रमा भनिएको छ ।

नेता रावललाई पनि पाँच बुँदे उल्लेख गर्दै नेपालजस्तै गतिविधिमा संलग्न रहेको उल्लेख गरिएको छ । दुवै जनालाई पार्टी साधारण सदस्य नरहनेगरी निलम्बन गरिएको हो । यसअघि निलम्बनको सूचना पाएपछि नेता नेपाल र रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए । कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिम्सिनाको घरमा छलफल भएको थियो । ओली निकट नेताहरुका अनुसार दाहालसँगको पटक पटकको गोप्य वार्ता जारी रहेपछि कारवाही गरेको दाबी गरेका छन् ।

यसैगरी एमालेले स्पष्टीकरण पेश नगरेका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालाई पुनः स्पष्टीकरण सोध्ने भएको छ । दुवैजनाले यसअघि सोधिएको स्पष्टीकरणको जवाफ दिएका छैनन् । यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित अविलम्ब पुनः स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले नेताहरू नेपाल, रावलसहित पाण्डे र भुसालाई स्पष्टीकरण सोधेको थियो ।

‘मैदान छोडेर भागिने छैन’
नेता माधवकुमार नेपालले आफुहरुलाई गरिएको कारवाही अस्विकार गर्ने घोषणा गरेका छन् । उनले स्वघोषित महाधिवेशन आयोजक कमिटिको अध्यक्षलाई कारवाही गर्ने कुनै अधिकार नभएको स्पष्ट समेत पारेका छन् ।
आफुलाई भिम रावललाई कारवाही गरेको विषय सञ्चारमाध्यमबाट जानकारी पाएको बताउदै मैदान छोडेर नभाग्ने समेत बताएका छन् । यस्ता कुराबाट कतिपनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरुद्धमा दृढतापूर्वक लाग्न सबै नेता कार्यकर्ताहरुलाई अपिल समेत गरेका छन् । ‘विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटिको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दछु’, नेता नेपालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नीति, बिधि, नैतिकता, मुल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्ताहरूलाई कतिपनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु ।’
नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास आफुहरुले नै गरेको भन्दै यसको रक्षाका लागि पनि मैदान छोडेर नभाग्ने बताए । ‘टुक्रा टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन’, उनले भने, ‘नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अतः निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गरौं ।’

प्रतिक्रिया