टन्टलापुर घाममा जुत्ता सिलाएर परिवार पाल्दै

धनगढी । धनगढीको चौराहामा टन्टलापुर घाममा सानो छाताको ओत लागेर सडक छेउमा जुत्ता सिलाउँदै थिए कृष्ण सार्की । उनको घर कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–५ धरमपुर हो । तर, उनी बिगत चार महिनादेखि धनगढी उपमहानगरपालिका–३ विशालनगरमा भाडामा बस्दै आएका छन् ।विगत ३५ वर्षदेखि महेन्द्रनगरको मदनचोकमा जुत्ता सिलाउँदै आएका सार्की यहाँ राम्रो कमाइ होला भन्ने आशले हाल धनगढी चौराहाको सडक छेउमा बसेर जुत्ता सिलाउने काम गर्छन् । तर, यहाँ पनि जुत्ता सिलाउने काम गर्नेको संख्या धेरै भएकाले सोचेजस्तो उनको कमाइ छैन । उनी बिहान ७ बजे सडक छेउमा आएर जुत्ता सिलाउँछन् र बेलुकी ६ बजे कोठातिर लाग्छन् ।

लामो समय जुत्ता सिलाउने पेसा गरे पनि गुजाराबाहेक अरू केही गर्न नसकेको उनी बताउँछन् । उमेरले ४८ वर्षीय सार्कीले जुत्ता सिलाएरै परिवारको लालनपालन गर्ने गरेको बताए । उनी भन्छन्, ‘घरखर्च यसैबाट चलाउँछु, अन्य आम्दानीको स्रोत पनि केही छैन्, यसबाट पनि साँझ बिहानको छाक टार्न मात्र पुग्छ ।’ दिनमा चार÷पाँच सय आम्दानी हुन्छ कहिले त एक सय पनि हुँदैन यसबाटै भाडा पनि तिर्नुपर्छ आफूले पनि साँझ बिहान खानुप¥यो उनले भने । घरमा आठ जनाको परिवार रहेको र आर्थिक अवस्था कमजोर भएका कारण छोराहरूले पनि बीचैमा पढाइ छोड्नु परेको उनले बताए । जग्गा जमीन पनि नभएका कारण अरूको जग्गा अधिया बनाएर खानु परेको उनको भनाइ छ । ‘छोरा बुहारीको पनि काम छैन, जग्गा पनि छैन अरूको जग्गा अधियाँ बनाएर गुजारा गर्छौं’, उनले भने ।

छाताको ओत लागेर जुत्ता सिलाउँदै गरेका सार्की भन्छन्, ‘गर्मीमा साह्रै गर्मी हुने र चिसोमा साह्रै चिसो हुने भएकाले काम गर्न पनि अप्ठ्यारो हुन्छ, हावाहुरी चल्दा पनि कहाँ गएर ओत लाग्ने भन्ने समस्या हुन्छ ।’ उनी अगाडि थप्छन्, ‘सटर भाडामा लिएर काम गरौँ भने पनि भाडा कसरी तिर्ने यत्ति थोरै कमाइले भाडा पनि तिर्न सकिन्न ।’ ऋण झिकेर पसल गरे पैसा तिर्न नि मुस्किल पर्ने अनुदानमा कसैले सहयोग नगर्ने उनले भने ।
हालसम्म कसैबाट पनि कुनै सहयोग नपाएको भन्दै उनी भन्छन्, ‘काम छोडेर कुनै निकायमा समस्या दर्शाउन जाउँ भने बेलुका तरकारी किन्नसमेत समस्या हुन्छ, काम छोडेर हिँडे पैसा आउँदैन ।’

प्रतिक्रिया