श्रीमान्ले छाडेर गएपछि बिचल्ली भएकी सुत्केरी विनितालाइ सहयोग

काठमाडौं । काठमाडौंको काँडाघारीमा बस्ने सुत्केरी विनिता भुजेललाई आज खाद्यान्न र आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । श्रीमान्ले छाडेर गएपछि डेढ महिनाकी सुत्केरी विनितालाई घरखर्च चलाउन समस्या भएपछि आज नगद र खाद्यान्नसहित गरेर झण्डै रु २५ हजार बराबरको सहयोग गरिएको छ ।

काठमाडौं काँडाघारी बस्ने ओखलढुङ्गाकी विनिता सुत्केरी भएको २१ दिनमा श्रीमान् देवकुमारले छाडेर गएपछि उनलाई अहिले दैनिकी चलाउन धौधौ परेको छ । सोही विषयमा राससले शुक्रबार ‘सुत्केरीको रोदन, मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो’ शीर्षकमा समाचार सार्वजनिक गरेको थियो ।

उक्त समाचार थाहा पाएर धादिङ घर भई हाल जर्मनीमा बस्ने आशिका तामाङले झण्डै रु १५ हजार बराबरको नगद र खाद्यान्न सहयोग गरिन् । उनले सञ्चालन गरेको आशिका फाउन्डेशनमार्फत काठमाडौं बस्ने तनहुँका सन्दीप बस्नेतले आज रु चार हजारभन्दा बढीको ग्यास, खाद्यान्न र नगद रु १० हजार हस्तान्तरण गरे ।

काँडाघारीस्थित कोठामै पुगेर सहयोग हस्तान्तरण गर्दै बस्नेतले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए । उनले पारिवारिक समस्याका कारण पढाइ छाडेकी १२ वर्षीया छोरी सुमित्राको पठनपाठनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

गोल्छा अर्गनाइजेशन अन्तर्गतको हुलास पावरका महाप्रबन्धक प्रितमकुमार काफ्लेले पनि आजै विनितालाई नगद रु १० हजार सहयोग गरेका छन् । उनले सुत्केरी विनितालाई एक्लै हुँदाको पीडामा केही राहत मिलोस् भनेर सहयोग गरेको बताए । काफ्लेले उपलब्ध गरेको रकम राससकर्मी नारायण ढुङ्गानाले कोठामै पुगेर हस्तान्तरण गरेका थिए ।

समाचारमार्फत विनिताको समस्या थाहा पाएर अमेरिकामा बस्ने सरिता गुरुङले पनि रु १० हजार सहयोग गर्ने घोषणा गरिसकेकी छन् । अन्य क्षेत्रबाट समेत सहयोग गर्ने प्रतिबद्धता आएको छ ।

१४ वर्षअघि प्रेम विवाह भएकोमा अहिले विनिता २१ दिनको सुत्केरी हुँदा श्रीमान् कहाँ गए कसैलाई पत्तो छैन । उनले अर्कै महिला लिएर भागेको विनिताको आरोप छ । उनले गएको फागुन २० देखि श्रीमान् घरबाट निस्किएको र २९ गतेदेखि सम्पर्कविहीन भएको बताए । श्रीमान्को खोजीका लागिसमेत उहाँले सबैमा अनुरोध गरेका छन् । खोजी गरिदिन भन्दै प्रहरीमा समेत उजूरी परेको छ । – रासस

प्रतिक्रिया