ललितपुरका पोलमा अब हरियो रङ

ललितपुर । ललितपुर महानगरपालिकाले शुक्रबारदेखि ‘सुन्दर नगर अभियान’ सुरु गरेको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको कुपण्डोलबाट बिजुलीको पोलमा रहेको विज्ञापन बोर्ड हटाएर कार्यक्रमको शुभारम्भ गरेका हुन् । यो अभियान अन्तर्गत महानगरभित्र रहेका हरेक विद्युत पोल तथा अन्य पोलमा टाँसिएको विज्ञापन, सूचना, पोष्टर लगायत हटाउने र ६ फिटसम्म हरियो रंग लगाउने काम सुरु गरेको महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । नगरप्रमुख महर्जनको निर्देशनमा महानगरलाई सफा र व्यवस्थित बनाउने कार्ययोजनालाई नगर प्रहरीले कार्यान्वन गर्न थालेको उनको भनाई छ ।

रातीको समयमा दुर्घटना नहोस् भनेर रङ लगाइएको पोलमा टल्कने स्टीकर पनि टाँस्न लागिएको उनले बताए । यसका लागि दैनिक ५० जना नगर प्रहरी खटाइएको हाछेथुले जानकारी दिए । नगरपालिकालाई सुन्दर राख्नका लागि यो अभियान सुरु गरिएको बताउँदै उनले भने–‘अब ललितपुर महानगरभित्रका हरेक पोलमा सूचना, पोष्टर र विज्ञापन टाँस्न पाइँदैन । यदि कसैले त्यस्तो गर्छ भने हामी कारवाही गर्छौ । नगरपालिकालाई सफा, सुन्दर बनाउनका लागि यो अभियान सुरु गरिएको हो । प्रत्येक वडा वडामा गएर यो काम सम्पन्न नभएसम्म नगर प्रहरी खटिनेछ ।’ उनले ‘स्वच्छ सुन्दर ललितपुर, गर्व गरौँ भरपूर’ भन्ने नाराका साथ नगर प्रहरी महानगरलाई व्यवस्थित, सफा, सुन्दर बनाउन लागि परेको बताउँदै हाछेथुले यसअघि अव्यवस्थित रुपमा राखिएका होर्डिङ बोर्ड हटाउने काम गरेको जानकारी दिए ।

प्रतिक्रिया