चिरायु र प्रतिष्ठानबीच सम्झौता

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्र र चिरायु अस्पतालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आगामी दिनमा प्रतिष्ठानसँग आवद्ध लोकदोहोरी कलाकारको उपचारमा सहुलियत दिने लक्ष्य राखेर सम्झौता गरिएको हो ।

‘स्वस्थ जीवनको लागि स्वस्थ संगीत’ भन्ने मुल नाराका साथ प्रत्येक वर्ष मनाउँदै आएको प्रतिष्ठान र लोकदोहोरी दिवसको अवसर पारेर प्रतिष्ठानका सल्लाहकार पृथ्वी थकालीको पहलमा केन्द्रीय अध्यक्ष रमेश बिजी र चिरायु अस्पतालका अध्यक्ष हिम गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सल्लाहकार थकालीले यसअघि पनि कलाकार तथा प्रतिष्ठानलाई विभिन्न महत्वपूर्ण सहयोग गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष बिजीले बताए । उनका अनुसार अबदेखि प्रतिष्ठानमा आवद्ध सम्पूर्ण लोकदोहोरी कलाकारले प्रतिष्ठानले दिएको परिचयपत्रको आधारमा जस्तोसुकै बिरामी भए पनि निःशुल्क स्वास्थ्य परीक्षण र भारी छुटसहित उक्त अस्पतालबाट विभिन्न औषधि तथा उपचार लिन पाउनेछन् ।

अध्यक्ष बिजीले भने, ‘प्रतिष्ठानसँग जोडिएका कलाकारले यो सेवाको लागि यहाँबाट परिचयपत्र लिनु अनिवार्य छ । त्यसैका आधारमा मात्रै चिरायुबाट सहुलियतमा सेवा लिन सक्नेछन् ।’ त्यस्तै, अस्पतालका अध्यक्ष गुरुङले कलाकार राष्ट्रका गहना भएकाले उनीहरुको उपचार तथा जीवनरक्षाको रुपमा विशेषः सहुलियत दिइएको बताए ।

उनले भने, ‘कलाकारलाई हामीले राष्ट्रका गहनाको रुपमा लिएका छौं । उहाँहरुको उपचारमा अस्पतालले केही सहुलियत दिनुपर्छ भन्ने मान्यताले यो सेवा दिएका हौँ ।’ अस्पताल र प्रतिष्ठानबीच सम्झौता पत्रमा हस्ताक्षर भएकै दिन पनि चिरायु नेसनल हस्पिटल एण्ड इन्स्टिच्युट प्रालिकै सहयोगमा अनुभवी विशेषज्ञ तथा चिकित्सकबाट कलाकारको नाक, कान, घाँटी लगायतको परीक्षण गरिनुका साथै रक्तदान कार्यक्रमसमेत गरिएको थियो ।

प्रतिक्रिया