क्यानभासमा महिला मुक्ति (फोटो फिचर)

काठमाडौं । महिलाका विषयमा केन्द्रित रहेर कलाकार अनिषा महर्जनले तयार पारेका चित्रको प्रदर्शनी चलिरहेको छ । बौद्ध धाराटोलमा अवस्थित ग्यालरी एलएमा नारी दिवसको अवसर पारेर ‘थिंक पिंक’ शीर्षकमा महर्जनको दोस्रो एकल कला प्रदर्शनी गरिएको हो । चित्रमा उनले समाजमा महिलाको अवस्था र तिनको संघर्षको कथालाई कलात्मक रुपमा उधिनेकी छन् ।

महर्जनले महिलामाथिको उत्पीडन, हिंसा, शोषण, यातना, बलात्कार लगायतका खराब कामलाई निस्तेज पार्नुपर्ने आवाज कलामा उठाएकी छन् । उनले भनिन्, ‘समाजमा महिलाप्रतिको गलत सोच र कदमविरुद्ध कलाकृतिमार्फत आवाज उठाउने कोशिस गरेकी छु ।’ कलाकार महर्जनले पुस्तान्तरण हुँदै जाने महिलाका विभेद र अन्यायका कुरालाई नातिनी, छोरी र हजुरआमा पुस्ता देखाएर तिनमार्फत नेपाली समाजको चित्रलाई उतारेकी छन् ।

उनले भनिन्, ‘जति हेर्दिन, भन्दिन र सुन्दिन भने पनि अन्त्यमा सामाजिक, सांस्कृतिक तथा राजनैतिक रुपमा नारीले समाजको विभेदको सामना गर्नैपर्ने बाध्यता छ । त्यो बाध्यतालाई मैले चित्रमार्फत देखाउने कोशिस गरेकी हुँ ।’ उनका कलामा उन्मुक्ति, स्वतन्त्रता, पुस्तान्तरण हुँदै गएको पित्तृसत्ताको सोच, धार्मिक तथा सांस्कृतिक रुपमा देखिने विभेद लगायतका विषय कलामा आएका छन् ।

त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रीय विभागबाट चित्रकलामा स्नातकोत्तर महर्जनले सपनाहरु कसरी खसिरहन्छन् भन्ने मनोभावलाई बिम्बात्मक रुपमा क्यानभासमा उधिनेकी छन् । उनले आफ्ना सपना परिवार तथा समाजका कारण बारम्बार खसिरहन्छन् भन्ने विषयमा बनाएको ‘फलिङ ड्रिम्स’ शीर्षकको चित्र निकै आकर्षक छ ।

जसमा पुरुषको तुलनामा महिलाले आफ्ना सपनाको पलपल बलिदान दिनुपर्ने सामाजिक यथार्थलाई देखाएकी छन् । उनले भनिन्, ‘अरुले के सोच्ला, परिवारलाई आफ्नो कारणले कुनै दुःख नहोस् भन्ने यावत् कुराहरू सोचेर महिलाले हरपल आफ्नो सपनाको बलिदान दिने यथार्थलाई चित्रमा खसिररहेका सपनामार्फत देखाउने कोशिस गरेकी छु ।’

उनका चित्रमा नारीमाथिका विविध उत्पीडन र समस्यालाई उतारिएको छ । महिनावारी, बलात्कार, हिंसा तथा विभेदका विविध रुपलाई क्यानभासमा उतार्दै कलाकार महर्जनले पितृसत्ताले लादेको बिद्रुप अवस्थालाई केलाएकी छ । उनका कलामा विशेषतः नारी मुक्तिका आवाज र सामाजिक न्यायका कुरालाई चित्रण गरिएको छ ।

कलाकार अनिषाले सन् २०१७ देखि २०२१ सम्म बनाएका १५ वटा चित्र प्रदर्शनीमा राखेको जानकारी दिइन् । उनले थपिन्, ‘हामी कलाकारसँग जे छ त्यही माध्यममार्फत अन्यायविरुद्ध आवाज उठाउने हो ।

प्रदर्शनीमा राखिएका चित्रमा मैले रङ र रेखाको माध्यमबाट समाजमा रहेको उत्पीडनको विषयलाई उतारेकी हुँ । मेरो दृष्टिकोण नै एकदिन कोही पनि नारी सामाजिक, सांस्कृतिक तथा राजनैतिक रुपमा पीडित बन्न नपरोस् र मैले यी विषयमा चित्र बनाउन कहिलै नपरोस् ।’ कलाकार महर्जनले ९ मार्चदेखि सुरु भएको प्रदर्शनी ३० मार्चसम्म जारी रहने जनाइन् ।

प्रतिक्रिया