धुम्बाराहीमा ओली–नेपाल वार्ता !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच धुम्बाराहीमा भेट तय भएको छ । दुई नेताबीच बिहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा भेट तय भएको हो । सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलामार्फत एमाले ब्यूँताइ दिएपछि दुई नेता पहिलोपटक भेट्न लागेका हुन् । पार्टीमा देखिएको विवाद र नेपाल समूह निर्वाचन आयोगमा पुगेको अवस्थामा ओली र नेपालबीच भेट हुन लागेको हो ।

पार्टीमा पूर्व माओवादीका नेताहरुलाई समेट्न भन्दै ओलीले बालुवाटारमा बैठक राखेर केन्द्रीय समिति विस्तारदेखि प्रदेशमा नयाँ पदाधिकारीसम्म तोकेपछि विवाद शिखरमा पुगेको छ ।

यसअघि, हिजो आइतबार शीलतनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग ओलीले करिब २ घण्टा छलफल गरेका थिए । त्यसपछि, ओलीले नेता नेपाललाई फोन गरेर बालुवाटार बोलाएका थिए ।

तर, नेता नेपालले आफू बालुवाटार नआउने बरु धुम्बाराही आउने बताएपछि धुम्बाराहीमा भेट तय भएको हो । भेटमा दुई नेताबीच पार्टीको अबको गन्तव्य र रणनीतिमा छलफल हुने बताइएको छ ।

भेटमा ओली महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवालीसहित सहभागी हुने र नेता नेपालले आफूनिकटकै नेताहरुसहित उपस्थित हुने तयारी छ ।

प्रतिक्रिया