पुनःस्थापित एमाले फुटको संघारमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले विभाजनको संघारमा पुगेको छ । सर्वोच्च अदालतबाट पुनःस्थापित बनेको एमाले केही दिनभित्रै विभाजनतर्फ अग्रसर भएको हो । पार्टीको आधिकारिक बैठक नबस्दै संस्थापन र इत्तर पक्षले समानान्तर कमिटीहरु गठन गरेपछि फुटतर्फ अग्रसर बनेको हो ।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको विशेष बैठक डाकेर केही जिम्मेवारी हेरफेर गरेका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई नबोलाइ जिम्मेवारी हेरफेर गरेपछि रुष्ट बनेको संस्थापन इत्तर पक्षले समानान्तर कमिटी गठन गरेको छ । नेपाल समुहले संस्थापन पक्ष भन्दा अगाडी बढेर राष्ट्रिय भेला नै आव्हान गरेको छ ।

– समानान्तर कमिटी गठन, चैत्र ४ र ५ गते राष्ट्रिय भेला आव्हान
– म आफैं नेता भएको भए जसरी हुन्छ मिलाउँथे । उहाँले हिजो जसरी निर्णय गर्नुभयो, लगभग सहमतिको बाटो बन्द भएको छ, चमत्कार नभए अब एमाले दुई वटा भयो – माधव नेपाल

त्यसका लागि अध्यक्ष ओलीले निकालेका नेताहरुलाई पुरानै जिम्मेवारी दिएर ओली पक्षका नेतालाई हटाई आफु पक्षिय नेता राखेको छ । राजधानीमा बसेको नेपाल समुहको केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशका संयोजक तोकेको छ । शनिबार काठमाडौंमा उपलब्ध सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय लिएको नेता भिम रावलले जानकारी दिए ।

उनका अनुसार चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला हुनेछ । जसमा आगामी कार्यदिशाबारे थप निर्णय लिइने नेपाल पक्षको तयारी रहेको छ । कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरु, संघीय र प्रदेश सांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, पालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारीहरु, जनवर्गिय संगठनका केन्द्रीय कमिटी सदस्यहरु, प्रदेश पदाधिकारीहरु, केन्द्रीय विभागका सदस्यहरु र जिल्ला अध्यक्षहरु उपस्थित हुने नेता रावलले जानकारी दिए ।

भेलाले विभिन्न प्रदेशमा पार्टी कामको संयोजन गर्नका लागि नेताहरूलाई जिम्मेवारी पनि तोकेको छ । जसमा प्रदेश १ को जिम्मेवारी भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा पार्टी कामको जिम्मेवारी भीम रावललाई दिइएको छ ।

त्यस्तै, युवा संगठनको कामको जिम्मा रघु पन्त, विद्यार्थी संगठनको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला संगठनको जिम्मा अष्टलक्ष्मी शाक्य, वुद्धिजीवीको जिम्मा प्रमेश हमाललाई जिम्मेवारी दिइएको छ । माधवकुमार नेपालले पार्टीमा आएका पछिल्ला विवादमा कानुनी पाटोबारे कानुन व्यवसायीहरू गोबिन्द वन्दी र टिकाराम भट्टराईसँग परामर्श लिएका छन् ।

भेलापछि एमालेका वरिष्ठ नेता नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अब मिलेर जान सक्ने अवस्था निक्कै कम रहेको बताएका छन् । सीमित पत्रकारहरूसँग अनौपचारिक कुराकानीका क्रममा उनले नेकपा माओवादी केन्द्रसँग एकता गर्नु पूर्वको एमाले जस्तो थियो, अहिले पनि त्यही हुनुपर्ने आफुहरुको माग रहेको बताए ।

नेता नेपालले आफूले अर्को धार बनाएपनि कसरी जाने भन्नेबारे छलफल भइरहेको बताए । नेता नेपालले चमत्कारै भयो भने मात्रै नत्र ओलीसँग सहकार्य नहुने घोषणा समेत गरेका छन् । उनले आफूहरूसँग नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, मोहन विक्रम सिंहलगायतका नेताहरू पनि जोड्न प्रयत्न गर्ने बताए । नेता नेपालले सर्वोच्च अदालतले फैसला गरिसकेपछि ओलीले फोन गरेर छलफल गर्छन् होला भन्ने सोचपनि अहिलेसम्म फोन नआएको गुनासो गरे ।

‘म आफैं नेता भएको भए जसरी हुन्छ मिलाउँथे । उहाँले हिजो जसरी निर्णय गर्नुभयो, लगभग सहमतिको बाटो बन्द भएको छ । अब साथीहरुले जिल्लादेखि माथिसम्म साथ दिन अठोट व्यक्त गरिसक्नु भएको छ’, नेता नेपालको भनाई छ । नेपाल समुहको बैठकले माओवादी केन्द्रबाट आएका नेतालाई जिम्मेवारी दिएकोमा पनि असन्तुष्टि जनाएको छ । नेता रावलले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरित अवैध तरिकाले माओवादी (केन्द्र)का नेताहरुलाई एमालेमा मनोनित गरिएको बताए ।

‘सर्वोच्च अदालतको फैसला विपरित अर्को पार्टी नेकपा (माओवादी केन्द्र) मा रहेका व्यक्तिलाई नेकपा(एमाले)मा मनोनयन गरे भनेर अर्को अवैध र हाँस्यास्पद निर्णय गर्नुभएको छ’, उनले भने, ‘हाम्रो पार्टीको विधान अनुरुप कुनै पनि व्यक्ति केन्द्रीय कमिटीमा आउनका लागि वा मनोनयन गर्नका लागि स्पष्ट व्यवस्था गरिएको छ । थप सदस्य मनोनयन गर्ने अधिकार छैन । जानकारी नगराईएको बैठक, बहुमत नपुगेको बैठकको निर्णय अवैध छ । विधि, प्रणाली विपरित छन् । अमान्य छन् ।’

बैठकमा आउनुहोस् नभए कारवाही !

नेपाल पक्षले समानान्तर कमिटी गठन गरेपछि अध्यक्ष ओलीले विधानअनुसार कारवाही गर्न सक्ने संकेत गरेका छन् । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले बैठकमा अनुपस्थित हुनेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीले आयोजना गरेको १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सम्बोधन गर्दै उनले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरूप्रति लक्षित गर्दै मञ्चबाटै चैत ७ गतेको केन्द्रीय कमिटी बैठकमा नआए विधानअनुसार अगाडी बढ्ने बताए ।

उनले पटक–पटक बैठकमा नआए पार्टीको विधानअनुसार अगाडी बढ्ने उल्लेख गरे । एमालेको विधानअनुसार पटक पटक पार्टीको बैठकमा नआए कारबाही हुने उल्लेख छ । ओलीले आफूले पार्टीको काम गर्दै गर्नका लागि केही साथीहरूलाई कामको जिम्मेवारी दिएको स्पष्ट पारे । ७ गतेको बैठकमा आएपछि छलफल गरेर अघि बढ्ने भन्दै ओलीले बैठकमा उपस्थित हुन सबै नेतालाई निम्तो दिएका हुन् ।

प्रधानमन्त्री ओलीले बाटो बिराएका नेताहरूलाई सच्चिएर आउन आग्रहसमेत गरेका छन् । उनले माधव नेपाल समूहले ‘केपी ओलीलाई ठेगान लाउन आउँछौं’ भनेको सुनेको भन्दै आफूले त्यो कुरा ‘खुट्टी देख्दै पत्याएको’ र त्यसो गरे ‘बाटैमा खुट्टामा ठेस लाग्ने’ चेतावनी दिए । उनले समय छँदै मेहनत, पसिना, बल, बुद्धि खर्च गर्न आग्रहसमेत गरे ।

‘माधव नेपाल पेरिसडाँडा (माओवादीको पार्टी कार्यालय) बाट बानेश्वरको अर्याल होटलसम्म आएर बास बस्नुभएको छ रे भन्ने सुनेको छु । उहाँलाई बालुवाटारसम्म आइपुग्न पर्याप्त समय पुगोस् भनेर चैत ७ गते बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाएको छु’, उनले भने,‘२०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु, केन्द्रीय कमिटीका सदस्यहरू आउनुहोला । अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’

उनले आफूले कसैको पद नखोसेको र पार्टी सञ्चालन गर्दै गर्नका लागि अन्तरिम व्यवस्था गरेको बताए । ‘मैंले अरूले जस्तो उहाँहरूको पद खोसेको छैन,’ ओलीले भने, ‘उहाँहरू कता–कता हुनुहुन्छ । पार्टी त सञ्चालन गर्दै गर्नुपर्यो नि !’ ओलीले शुक्रबार नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि दुवै पक्ष आपसी भिडन्तमा उत्रिएका हुन् । जसले गर्दा एमाले विभाजनमा जाने देखिएको छ ।

प्रतिक्रिया