शनिबार अनेम संघको राष्ट्रिय महिला कार्यकर्ता भेला

काठमाडौं । अनेम संघको साताव्यापी सन्देशमुलक कार्यक्रम सम्पन्न भएको छ । दश हजार महिलाको सहभागितामा राजधानी बाठमाडौंमा शनिबार बृहत् राष्ट्रिय महिला भेला हुने जनाइएको छ ।

अखिल नेपाल महिला संघ –(अनेमसंघ) द्वारा आज भएको कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा संघले ‘संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौं’ भन्ने नारासहित उक्त भेला सम्पन्न गर्ने जनाएको छ ।

सो सम्मेलनमा अनेम संघकी संयोजक सीता पौडेलले नेपाली महिलाको हरेक क्षेत्रमा ३३ प्रतिशतको सहभागिताको ग्यारेन्टीको माग राजनीतिकरुपमा सफल देखिनु, नीतिकै कारण भएको बताउँदै अन्य क्षेत्रमा पनि त्यस अवधारणा लागु हुनुपर्ने मागलाई भेलाले वृहतरुपमा उठाउने जानकारी दिइन् ।

त्यस्तै अभिव्यक्ति स्वतन्त्रताको नाममा व्यक्तिगत आक्षेप लगाउने क्रम बढेकोले आगामी दिनमा कसैले पनि त्यस्तो अभिव्यक्तिहरु नदिने वातावरण बनाउन पनि सामुहिक आवाज उठाइने उनको भनाइ छ ।

उक्त कार्यक्रममा अनेम संघकी सचिव सुजिता शाक्यले आर्थिक, राजनीतिक, सामाजिकलगायतका सबै क्षेत्रमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चिता हुनुपर्ने, महिला र बालबालिकामाथि हुने यौनजन्य, हत्या, हिंसा र बलात्कारजस्ता जघन्य अपराधको अन्त्यका लागि सरकारसँग विशेष कार्यदल बनाएर अनुसन्धानसहित तत्काल अपराधीलाई कडा कारवाहीको माग गर्नेसहितका घोषणापत्र भेलाबाट घोषणा गर्ने बताइन् ।

त्यस्तै, संघकी केन्द्रीय सदस्य एवं प्रचारप्रसार संयोजक शर्मिला कार्कीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा संघले साताव्यापी सन्देशमुलक कार्यक्रम गरिरहेको जानकारी दिँदै आगामी निर्वाचनमा अझ बढी भन्दा बढी महिलालाई राजनीतिक सहभागीताका लागि उर्जा प्रदान गर्ने प्रयास स्वरुप भेलाको आयोजना गरिएको बताइन् ।

नेपालको जनसंख्याको हिसावमा पनि महिलाको सहभागिता हरेक क्षेत्रमा बढ्दै जानुपर्ने परिप्रैक्ष्यमा नीति निर्माणको तहमा पुग्ने बाटो राजनीतिक पाटो पनि महिलाका लागि महत्वपूर्ण कडी रहेकोले संघले राजनीतिक सहभागीतालाई प्रेरित गर्दै जाने संयोजक कार्कीले जानकारी दिइन् ।

प्रतिक्रिया