प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिए संसद्मा विश्वासको मत लिने बताएका छन् । नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओलीले सो फैसला स्विकार गर्दै विश्वासको मत लिने बताएका हुन् । आइतबार साँझ बालुवाटरमा बसेको आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिने बताएका हुन् । संविधानको धारा १०० को (२)मा गठबन्धनमा रहेको दलले समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।

संसदीय दलको बैठकमा सर्वोच्चको फैसला स्वीकार गर्दै अघि बढ्ने निर्णय भएको सांसद खिमलाल भट्टराईले जानकारी दिए । बैठकमा ओलीले सर्वोच्चकोे फैसलापछि राजनीति २०७५ जेठ ३ अघि फर्किएको बताएका थिए । यस्तै ओलीले छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने पनि बताएका छन् । उनले सर्वोच्च अदालतबाट पत्र प्राप्त भइसकेको हुँदा छिट्टै एमाले केन्द्रीय कमिटी बैठक बोलाउने बताएका सांसद सूर्य पाठकले जानकारी दिए ।

‘अदालतले उहाँलाई फैसलाअनुरुप गर्नु भनेर पत्र पठाइसकेको रहेछ । पत्र साविकको नेकपा एमाले अथवा नेकपाको अध्यक्षको हैसियतमा पठाए होला,’ सांसद पाठकले भने, ‘यो फैसला भयो त्यसै अनुसार काम गर्नु भनेर । र अब छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाएर अरु कामहरु अगाडि बढ्छन् भन्नु भएको छ ।’ प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर असन्तुष्टि जनाएका थिए । ‘सभामुख साझा व्यक्ति हो । तर, उहाँ सिधै राजनीतिक विषयमा प्रवेश गर्नुभयो । यो संसदको गरिमाअनुरुप भएन भन्ने कुरा प्रधानमन्त्रीको थियो,’ पाठकले भने । सभामुखले प्रचलित परम्परा अनुसार संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएको, प्रधानमन्त्रीसँग समेत कुनै परामर्श नगरेको तथा संसद बैठकमा बोल्न दिने क्रममा समेत सरकारको विरुद्धमा मात्र बोल्न समय दिएको ओलीको आक्रोश थियो ।

प्रतिक्रिया