थानकोट डिपोमा आधुनिक भौतिक पूर्वाधार विस्तार

काठमाडौँ । नेपाल आयल निगमले बाग्मती प्रादेशिक कार्यालय थानकोट डिपोमा आधुनिक भौतिक पुर्वाधार विस्तारको री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ । काठमाडौँ लगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएको थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालयको भौतिक, प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी स्तरोन्नति गरिएको हो । कार्यालय स्तरोन्नति अन्तर्गत इन्धन भर्ने आधुनिक प्वाइन्टको क्षमता विस्तार तथा आधुनिकीकरण, ट्याङ्क तथा ट्रक पार्किङ निर्माण गरेको छ । यो संगै निगमले अग्नि नियन्त्रण उपकरणको निर्माण तथा आधुनिकीकरण, डिपो सुरक्षाका लागि पर्खाल लगायतका काम सम्पन्न गरी डिपो री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरिएको हो । करीब एक वर्षको समय अवधिमा परियोजनाको पहिलो चरण सम्पन्न गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले औपचारीक रुपमा उद्घाटन गरेका छन् ।

निगमले इन्धन आपूर्तिलाई व्यवस्थित बनाउन ट्याकरमा तेल भर्ने प्वाइन्टको संख्या दोब्बर बनाएको छ । यसले तेल भर्न टयाकंर लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य भएको निगमले भनाइ छ । डिपो आसपास क्षेत्रमा रहेको अव्यवस्थित पार्किङ हुँदा स्थिानीयहरुले गर्दै आएको चरर्काे गुनासो अन्त्य भएको निगमले जनाएको छ । निगमका अनुसार डिपोसँगै रहेको ३९ रोपनी जग्गामा ट्रक तथा ट्याकरको पार्किङ बनाइएको छ । २ सय भन्दा बढी ट्रक तथा ट्रयाकर पार्किङ गर्न सकिने छ । डिपोको सुरक्षाका लागि वरिपरि पर्खाल लगाइएको छ । त्यसअघि तारजालीले डिपोलाई घेरिएको थियो । डिपो घेर्ने पर्खालको भित्र÷बाहिर पेटी निर्माण गरिएको छ । राजमार्गबाट डिपोसम्म पुग्ने सडक ढलान गरिएको छ ।

निगमले री–इन्जिनीयरिङ परियोजनाको दोस्रो चरण छिट्टै शुरु हुने र त्यसले पनि चाँडै मूर्तरुप पाउने जनाएको छ । कार्यालय प्रमुख प्रदीपकुमार यादवले निगमको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत वाग्मती प्रादेशिका कार्यालयलाई आधुनिकीकरण गरी डिपोलाई स्तरोन्नति गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षाका उपाय एवं प्रविधि अपनाइ री–इन्जिनीयरिङ परियोजना सम्पन्न गरिएको जानकारी दिए । उनले डिपोको भौतिक संरचनाविस्तरले अब आउने दिनमा डिपोबाट विभिन्न स्थापनमा पेट्रोलिय पदार्थ आपूर्ति गर्ने धेरै सहज हुने बताए ।

पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्री वितरणको कार्य गर्ने उद्देश्यका साथ सरकारले २०२७ सालमा निगमको स्थापना गरेको थियो । २०५८ सालमा थानकोट डिपो स्थापना भएको थियो । सो डिपोबाट राजधानी र आसपासका १० जिल्लाका १८० भन्दा बढी पेट्रोल पम्पमा इन्धन आपूर्ति हुँदै आएको छ । करीब १०६ रोपनी क्षेत्रफलमा फैलिएको सो डिपोमा डिजल आठ हजार ४०० किलोलिटर, पेट्रोल छ हजार ७० किलोलिटर, मट्टितेल ७६० किलोलिटर भण्डारण क्षमताका ट्याकरहरू रहेका छन् । प्रमुख यादवले थानकोट डिपोबाट दैनिक करीब ७ सय किलोलिटर पेट्रोल, ९ सय किलोलिटर डिजेल र आठ किलोलिटर मट्टिटेल बिक्री वितरण हुँदै आएको बताए ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले निगम सुधारका योजना लागू भएको र अब छिट्टै त्यसको परिणाम देखिन थाल्ने बताए । उनले प्रविधिको प्रयोगबाट निगमलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त कम्पनीका रूपमा विकसित गरिने पनि बताए । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले अति प्रज्वलनशील पदार्थको कारोवार गर्ने निगमले डिपो र बिक्रेतालाई सुरक्षित र प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताए । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले डिपोका क्षमतालाई सुधार गर्दै प्रविधिको प्रयोगलाई व्यापक बनाउन सुझाव दिएका थिए । उनले पछिल्ला समय निगमको भण्डारण क्षतमा अभिवृद्धि हुँदै गए पनि विश्वसनीयतामा प्रश्न चिह्न खडा नहुने व्यवस्था मिलाउन आग्रह गरे ।

प्रतिक्रिया