एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन कार्यक्रम

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममाझ धुलिखेल अस्पताल अन्तर्गत संचालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेका हुन । सोही दिन चोङ् र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको पनि उद्घाटन गरेका थिए ।

प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमको उदेश्य रहेको छ । यस पहल अन्तर्गत एनसेलले धुलिखेल अस्पतालद्वारा ग्रामिण भेगमा संचालन गरिरहेको स्वास्थ्य केन्द्रहरुलाई टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पुर्वाधार निर्माण गरी हस्तान्तरण गर्ने छ । धुलिखेल अस्पतालका तर्फबाट मानव संसाधन जस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम संचालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुने पनि विज्ञप्तिमा उल्लेख छ । पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरु मार्फत कार्यक्रम संचालन हुनेछ । यी केन्द्रहरुले कुल १५ हजार भन्दा बढि घरधुरीका जन समुदायहरुलाई सेवा प्रवाह गर्ने एनसेलले जनाएको छ । कार्यक्रम संचालनमा आएपछि स्थानियहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवा पाउनेछन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले स्वास्थ्य क्षेत्र व्यावसायिक सामाजिक जिम्मेवारीमा प्रमुख प्राथमिकतामा रहेको बताएका छन भने धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले प्रविधिको प्रयोगमार्फत दुरदराजमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यस एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको उद्घाटन एउटा ठूलो उपलब्धि भएको बताए ।

प्रतिक्रिया