विप्लव सार्वजनिक, हतियारबारे मौन

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द, विप्लव शुक्रबार औपचारिक रुपमा सार्वजनिक भएका छन् । सरकार र सो समुहबीच तीन बुँदे सहमति भएको भोलीपल्ट उनि नवलपरासीबाट पहिलो पटक सार्वजनिक भएका हुन् । त्यहाको तस्विर सार्वजनिक गरेपछि काठमाडौं आएका उनि राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मञ्चबाट सार्वजनिक भएका हुन् ।

सभागृह मै सरकार र विप्लव समुहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । सहमतिमा सबै विषय राजनीतिक सम्वादबाट टुंगो लगाउने, हिंसाको राजनीति त्याग गर्ने, प्रतिबन्ध हटाउने, पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने र मुद्दा फिर्ता लिने उल्लेख छ । सो सहमतिमा सबैले चासो व्यक्त गरेको हतियारका विषयमा केही पनि उल्लेख छैन । तत्कालिन नेकपा माओवादीसँग शान्ति सम्झौता हुँदा पनि नेपाली सेनाबाट लुटिएको हतियार सार्वजनिक गरिएको थिएन । त्यस्तै प्रकारको घटना यो पटक विप्लव समुहमाथी पनि भएको छ ।

हतियारका विषयमा सरकार र विप्लव समुह दुवै मौन रहेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि हतियारका विषयमा सहमति नभएको भन्दै असन्तुष्टि जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमति गर्दा हतियार बुझाउने बुँदा नदेखिएको भन्दै सरकारसँग प्रश्न गरेका छन् । शुक्रबार ट्विटमार्फत प्रवक्ता शर्माले राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका हुन् । ‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै हतियार, विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ प्रधानमन्त्रीज्यू ?’, उनको प्रश्न छ ।

हस्ताक्षरपछि विप्लवले सम्बोधन गर्दै आफुहरु शान्तिपूर्ण राजनीतिमा आएको भन्दै आशंका नगर्न आग्रह गरे । करिव १८ मिनेट बोलेका उनले कतिपय महत्वपूर्ण विषयमा भने प्रवेश नै गरेनन् । उनले तीन बुँदे सहमति देशको समृद्धिका लागि गरिएको स्पष्ट पार्न खोजे । ‘यो सहमति नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको मात्रै होइन र केही नेताहरुको मात्र होइन । यो सहमतिमा हामीभित्र लुकेको महान् आकांक्षा छ । नेपाल देशलाई आत्मनिर्भर, स्वाधीन र सुन्दर बनाउने सपना यो भित्र छ’, उनले अगाडी भने, ‘यो भित्र देशमा दीर्घ शान्ति, स्थिरता र नेपाली जनताको अहिलेसम्म पूरा नभएको समृद्धिको आकांक्षा, नेपाली युवाहरुभित्र हुर्किएको एउटा समृद्ध जीवनको चाहना रहेको छ ।’

विप्लवले विषय नखुलाई जनमत संग्रहमा जानुपर्ने धारणा पनि राखेका छन् । तर, कुन विषयमा जाने हो भनेर उनले उल्लेख गर्न चाहेनन् । हतियार, पूर्वसहकर्मी, संसदीय व्यवस्थामा अब कस्तो भूमिका हुन्छ ? जस्ता जटिल प्रश्नमा उनि मौन नै रहे । तर, प्रधानमन्त्री ओलीको भने उनले खुलेर प्रशंसा गरेका छन् । ‘कम्युनिष्टहरु विद्रोह मात्रै गर्दैनन् । जब परिस्थिति बदलिन्छ, परिस्थिति बदलिएर राज्यले आफ्नो भूमिका पूरा गरेको स्थितिमा कम्युनिष्टहरु भनेका शान्तिका दूत पनि हुन् । विद्रोहका योद्धा मात्रै होइनन्, शान्तिका दूत पनि यो संसारमा कोही छन् भने कम्युनिष्ट नै छन्’, उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीले पनि नेपाल शान्तिको युगमा प्रवेश गरेको भन्दै विप्लवले सहासिक कदम चालेको भन्दै प्रशंसा गरे । उनले विप्लवसँग रातारात सहमति नभएको र त्यसका लागि पहिले देखिनै संवाद भइरहेको भन्दे सहमति हुनु ठुलो उपलब्धि भएको बताए । लामो संवादपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिको बाटोमा आएको भन्दै उनले भने, ‘यो फोर्स ल्याण्डिङ पनि होइन, क्र्यास ल्याण्डिङ पनि होइन, सेफ ल्याण्डिङ हो ।’ शान्तिपूर्ण राजनीतिमा आउने कदमबाट नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली जनताको मन जितेको पनि उनले बताए । ओलीले भनेका छन्, ‘यो साहसिक कदम हो ।’

प्रतिक्रिया