प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

कञ्चनपुर । बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच विहिवार साँझ गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

नेपाल–भारत सीमा क्षेत्र नजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि तस्करहरुको समूहले एक्कासी गोली चलाएपछि प्रहरीले जवाफी फायरिंग गरेको थियो । त्यस क्रममा एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाका अनुसार ४ जनाको संख्यामा रहेका तस्करहरुको समूहले प्रहरीमाथि गोली चलाएको हो । गस्तीमा रहेका एक प्रहरी सामान्य घाइते भएको उनले बताए ।

मृतक भारतीय नागरिकको सनाखत हुन सकेको छैन । उनको उमेर अन्दाजी २५ वर्ष छ । मृतकको साथबाट नक्कली नोट छाप्ने मेसिन र कागजातसँगै लागूऔषध समेत बरामद भएको डिएसपी थापाले बताए । गोली लागि सख्त घाइते भएका ति व्यक्तिलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको र अन्य तीन जना भाग्न सफल भएको उनले जानकारी दिए ।

प्रतिक्रिया