३३ खर्ब कर्जा प्रबाह

काठमाडौं । संचालनमा रहेका बाणिज्य बैकहरुले फागुन दोस्रो सातासम्म ३८ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३३ खर्ब ६२ अर्ब रुपैया कर्जा प्रबाह गरेका छन् । फागुन महिनामा मात्रै बैंकहरुले २३ अर्ब रुपैया निक्षेप संकलन तथा ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन । नेपाल बैंकर्स संघका अनुसार माघ मसान्तमा वाणिज्य बैंकले ३७ खर्ब ८६ अर्ब रुपैया निक्षेप संकलन गरेका थिए । फागुन पहिलो सातामा यो रकम १३ अर्ब रुपैयाले बढेर ३७ खर्ब ९९ अर्ब रुपैया पुगेको हो । दोस्रो साता आईपुग्दा यो रकम १० अर्ब रुपैयाँले बढेर ३८ खर्ब ९ अर्ब रुपैया पुगेको छ ।

संघका अनुसार सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंकले माघ मसान्तसम्म ३३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । दुई साताको अवधिमा यो रकम ४५ अर्ब रुपैयाँले बढेर ३३ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुले फागुन पहिलो साता ३३ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकले एक सातामा यो रकम २७ अर्ब रुपैयाँले बढाएका छन् । फागुन दोस्रो साता बैंकहरु निक्षेप संकलनमा भन्दा कर्जा प्रवाहमा आक्रमक देखिएको कारोबारले देखाएको छ । उक्त साता बैंकहरुको निक्षेप संकलन १० अर्ब रुपैयाँले बढ्दा कर्जा लगानी २७ अर्बले बढेको छ । पछिल्लो समयमा कोरोनाको असर कम देखिन थालेपछि बैंकमा कर्जाको माग बढ्न थालेको छ । जसका कारण फागुन पहिलो साता १८ अर्ब रुपैयाँले बढेको कर्जा लगानी दोस्रो साता आईपुग्दा २७ अर्ब रुपैयाँले बढेको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलनको तुलनामा कर्जाको माग निकै बढेको छ यतिबेला बैंकको ब्याजदर सस्तो भएका कारण र कोरोना सहज बन्दै गएकाले तत्कालिन भन्दा पनि दिर्घकालिन महत्वका आयोजनामा ऋण जाने क्रम बढेको आकलन गरिएको छ ।

कल डिपोजिटमा थप कडाइ
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कल निक्षेप (डिपोजिट)मा झनै कडाइ गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको लागि परिपत्र जारी गर्दै कुल स्वदेशी निक्षेप दायित्वको १० प्रतिशतभन्दा बढी कल निक्षेप लिन नपाइने व्यवस्था गरेको छ । ‘इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकले स्वीकार गर्ने स्वदेशी मुद्राको कल निक्षेपको अंश कुल स्वदेशीे निक्षेप दायित्वको १० प्रतिशत र इजाजतपत्रप्राप्त ‘ख’ तथा ‘ग’ वर्गका वित्तीय संस्थाहरुले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायित्वको १५ प्रतिशतभन्दा बढी कायम गर्न पाइने छैन’ परिपत्रमा भनिएको छ ।

यो भन्दा अघि वाणिज्य बैंकले कुल निक्षेपको १० प्रतिशतसम्म कल निक्षेप लिनसक्ने व्यवस्था रहेकोमा अब थप कडाइ गर्दै स्वदेशी निक्षेपको १० प्रतिशतसम्म मात्रै कल निक्षेप लिनसक्ने व्यवस्था गरिएको हो । तर, विकास बैंक र वित्त कम्पनीको हकमा भने कुल निक्षेपको १५ प्रतिशतसम्म कल निक्षेप लिनसक्ने यसअघिको व्यवस्थालाई निरन्तरता दिएको छ । राष्ट्र बैंकले चालु मौद्रिक नीति मार्फत कल निक्षेपमा बचतको न्यूनतम ब्याजदर दिनसक्ने व्यवस्थामा कडाइ गर्दै बचतमा दिँदै आएको न्यूनतम ब्याजदरको आधा मात्रै कल निक्षेपमा ब्याज दिनसक्ने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया