‘जनयुद्धको हस्ताक्षर’ सार्वजनिक

काठमाडौं । विद्यार्थी नेता तिलकराज भण्डारीद्वारा सम्पादित ‘जनयुद्धका हस्ताक्षर’ पुस्तक बजारमा आएको छ । कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त पुस्तकको विमोचन गरे । विमोचनपछि बोल्दै प्रचण्डले जीवन्त दस्तावेजको रुपमा पुस्तक आएको बताए । उनले औपचारिक पुस्तक पढ्दा फरक खालको अनुभूति हुने भए पनि अनौपचारिक विषयका पुस्तक पढ्दा आनन्दको अनुभूति हुने धारणा व्यक्त गरे । प्रचण्डले भने, ‘जनयुद्धमा भएका कुरालाई भित्रैदेखि अनुभव गर्न सकिने गरी पुस्तक आएको छ । पुस्तकमा समवेदना, आवेग र पीडालाई व्यक्त गरिएको छ ।’ उनले पुस्तकमा जनयुद्धका सम्झनाहरु ताजा बनेर आएको जिकिर गर्दै यो एउटा पुस्तक मात्र नभएर इतिहासको जीवित दस्तावेज बताए । उनले थपे, ‘पुस्तक पढ्दा युद्धका अविस्मरणीय दिन सम्झना हुने र त्यतिबेलाको संवेग, भावना, विचार र तीव्रतालाई बुझ्न सकिन्छ । यो पुस्तकले नयाँ पुस्तालाई हिजोको परिस्थिति बुझ्ने मौका पनि दिनेछ ।’ अध्यक्ष प्रचण्डले यसअघि पढेका जनयुद्धसम्बन्धी अन्य पुस्तकभन्दा यो पुस्तक भिन्न र मौलिक रहेको बताए ।

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले पुस्तकले नेपालको इतिहासमा विकास भएको एउटा राजनीतिक विकासक्रम र त्यसको आयामलाई बुझ्न सहयोग पुग्ने बताए । उनले भने, ‘पुस्तकमा संकलित चिठीले नेपालमा २०५२ सालपछि चलेको जनयुद्धलाई बुझ्न सहयोग पुग्ने विश्वास लिएको छु ।’ प्रा.डा. रमेश भट्टराईले पुस्तकमा समावेश चिठ्ठीले जनयुद्धको वास्तविक धरातल बुझ्न सहयोग पु¥याउने बताए । उनले भने, ‘जनयुद्ध, तत्कालीन अवस्था, समाज र राजनीतिलाई बुझ्ने दस्तावेजको रुपमा पुस्तक आएको छ ।’ नेकपाका युवानेता रमेश मल्लले नेपाली समाजको वर्गीय धरातल तथा समाज रुपान्तरणको आन्दोलनलाई बुझ्न पुस्तक निकै उपयोगी रहेको विचार व्यक्त गरे । कार्यक्रममा अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले नेपालको रुपान्तरणकारी आन्दोलनको जगलाई बुझ्न भण्डारीद्वारा सम्पादित यो पुस्तक निकै उपयोगी रहेको बताए । विद्यार्थी नेता सुरेन्द्र बस्नेतले पुस्तकमा आन्दोलन, समाज, योद्धा र राजनीतिका विविध परिघटना चिठीका रुपमा आएको बताए ।

२०५४ सालमा अखिल (क्रान्तिकारी) मा संगठित भएर राजनीतिक यात्रा प्रारम्भ गरेका लेखक भण्डारी २०५६ सालबाट जनयुद्धको भूमिगत राजनीतिमा होमिएका थिए । २०५८ साल भदौ २८ गतेको प्रथम जिल्ला भेलाबाट सल्यान जिल्ला सदस्य, ०५९ सालमा जिल्ला समिति उपाध्यक्ष, ०६१ मा जिल्ला अध्यक्ष हुँदै भण्डारी जनयुद्धमा सक्रिय भएका थिए । उनी पछि विद्यार्थी राजनीतिमा अखिल (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष भएका थिए । कार्यक्रममा विद्यार्थी नेता उत्तम अधिकारीले तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा आदन–प्रदान भएका चिठीपत्र समेटेर पुस्तक ल्याएको जानकारी दिए । लेखक भण्डारीले पुस्तकमा सहिद तथा बेपत्ता भएका व्यक्तिद्वारा लेखिएकासहित ११२ वटा चिठीपत्र संकलन गरिएको जनाए । उनले पुस्तकले जनयुद्ध र त्यसको मनोविज्ञानलाई जान्नका लागि सहयोग पु¥याउने विश्वास आफूले लिएको बताए ।

प्रतिक्रिया