शिक्षामा आकर्षित हुँदै मुसहर बालबालिका

लहान । हरेक दृष्टिकोणले अति पिछडिएको हरवाचरवा मुसहर समुदायका बालबालिकामा पछिल्लो समय शिक्षाप्रति आकर्षण बढ्न थालेको छ । केही वर्षअघिसम्म अत्यन्त न्यून संख्यामा मात्र मुसहर बालबालिका विद्यालय जाने गरेकामा पछिल्लो समय ती समुदायबाट विद्यालय जाने बालबालिकाको संख्या उत्साहजनकरूपमा बढ्दै गएको पाइएको छ । हरवाचरवा र मुसहर समुदायको उल्लेख्य बसोवास रहेको सप्तरीको शम्भुनाथ नगरपालिका–२ कनकपट्टी, वडा–३ डङगराही र ५ स्थित मोहनपुरका मुसहर बालबालिका अचेल नियमित विद्यालय जान थालेका छन् । सो नगरपालिकाका हरवाचरवा परिवारका बालबालिकालाई लक्षित गरी श्रीपुरा सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको शैक्षिक अभियानअन्तर्गत निःशुल्क बाल कक्षा सञ्चालन गरेपछि विद्यालय जाने बालबालिकाको संख्या बढ्दै गएको हो ।

विगत दुई वर्षदेखि ती वडाहरूबाट हरवाचरवा र मुसहर समुदायका विद्यालय जाने बालबालिकाको संख्या जम्मा १२ थियो तर सो संस्थाले द फ्रिडम फन्डको सहयोगमा ‘सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवाचरवाको सशक्तीकरण कार्यक्रम’ अन्तर्गत जनचेतना अभियान, अभिभावक भेला तथा निःशुल्क बाल कक्षा सञ्चालनमा ल्याएपछि अहिले विद्यालय जाने विद्यार्थीको संख्या १ सय ४० भन्दा बढी पुगेको हरवाचरवा शम्भुनाथ नगर बाल क्लबका अर्जुन सदा बताउँछन् । पहिलापहिला हरवाचरवा मुसहर परिवारका बालबालिका पढाइभन्दा खेलकुदमै दिन बिताउने गरेका थिए तर गाउँमै निःशुल्क बाल कक्षा सञ्चालनमा आएपछि विस्तारै पढाइलेखाइप्रति आकर्षित हुन थालेका छन् । अर्जुनले भने, ‘केही वर्षअघिसम्म विद्यालयहरूमा हरवाचरवा मुसहर परिवारका बालबालिका न्यून संख्यामा मात्र भेट्थ्यो, अहिले विस्तारै विद्यालय जानेको संख्या बढ्न थालेको छ ।’ केही वर्षअघिसम्म हरवाचरवा परिवारमा शिक्षाको महत्व थाहा नभएर होला एक त हरवाचरवा परिवारका बालबालिका विद्यालय जान रुचाइरहेका थिएनन् भने अभिभावकहरू पनि विद्यार्थीलाई विद्यालय पठाउन चाहिरहेका थिएनन् । मोहनपुरका अरहुलिया सदाले भने, ‘हाल मुसहर परिवारको बालबालिका पनि विद्यालय जान थालेका छन् ।’ अभिभावकहरूमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको छ । कुनै बेला आफूलाई पढ्न रहर हँुदाहुँदै पनि बाल्यकालमै अभिभावकले विवाह गरिदिएको सम्झदै अरहुलियाले थपे, ‘अहिले त्यस्तो अवस्था विस्तारै हट्दै गएको छ ।’ हरवाचरवा मुसहर परिवारका अभिभावकहरू पनि जिम्मेवार बन्दै गएको उनी सुनाउँछन् ।

हरवाचरवा परिवारमा शिक्षाको अवस्था अत्यन्तै नाजुक देखिएपछि संस्थाले शम्भुनाथ नगरपालिका–२, ३ र ५ मा सञ्चालन गरेको निःशुल्क बाल शिक्षा कार्यक्रममा अहिले हरवाचरवा र मुसहर समुदायका १ सय४० जनाभन्दा बढी बालबालिका नियमितरूपमा अध्ययन गर्नका लागि आउने गरेको श्रीपुरा सामुदायिक केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले बताए । तीमध्ये १ सय ५ जना बालबालिकालाई विभिन्न विद्यालयको पहुँचमा पु¥याइसकिएको उनको भनाइ छ । विद्यालयमा भर्ना भएका बालबालिकालाई संस्थाका तर्फबाट शैक्षिक सामग्री र स्कुल ब्यागसमेत निःशुल्क उपलब्ध गराएको छ ।

विद्यालयबाहिर रहेका बालबालिकाका लागि हाल तीन जना दक्ष शिक्षिका र एक दर्जन स्वयंसेवक परिचालित गरेर नौमहिने बाल शिक्षा प्रदान गरिरहेको र क्रमिकरूपमा विद्यालय भर्ना गराउँदै लगेको श्रीपुरा सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीले बताए । प्रारम्भिक बाल शिक्षाबाट राम्रो गर्दै गएका १ सय ५ जना हरवाचरवा परिवारका बालबालिकालाई अहिलेसम्म स्थानीय विद्यालयमा भर्ना गराइसकिएको छ । बाँकी रहेकाहरूलाई पनि क्रमशः पायक पर्ने विद्यालयहरूमा भर्ना गराउने तयारी छ । ‘गरिबी र अभावबाट गुज्रिरहेका हरवाचरवा र मुसहर समुदायका अधिकांश बालबालिका विद्यालयको नाकमुख देख्न पाएका छैन’, उनले भने, ‘त्यस्तालाई आगामी शैक्षिक सत्रदेखि विद्यालयसँग जोड्न सक्दो पहल गरिरहेका छौँ ।’ शैक्षिकरूपमा जर्जर रहेको हरवाचरवा र मुसहर समुदायका बालबालिकाको विद्यालय आउने क्रम बढेको भन्दै यस्तो अभियानलाई अझ निरन्तरता दिनुपर्ने शम्भुनाथ नगरपालिका–३ स्थित बौकीदेवी दलित आधारभूत विद्यालयका प्रधानाध्यापक गोसाईं पासवानले बताए ।

प्रतिक्रिया