मुहारचित्र कोर्दै कलाकार

काठमाडौं । कलाकारितामा मुहारचित्र एक महत्वपूर्ण पक्ष हो । मानिसको व्यक्तित्व झल्किने गरी रङ र रेखाद्वारा कलाकारले अभिव्यक्त गर्ने कलाका रुपमा मुहारचित्रका रुपमा बुझ्ने गरिन्छ । यसको महत्व र गरिमालाई जीवन्त ढंगले प्रस्तुत गर्ने लक्ष्यका साथ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागले आठदिने ‘मुहार चित्रकला कार्यशाला–२०७७’ को आयोजना गरेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले मंगलबार शुभारम्भ गरेको कार्यशालामा नेपालका चर्चित व्यक्तित्वको जीवन्त मुहारचित्र बनाइने छ । कुलपति कर्माचार्यले मुहार चित्रणमा धेरै कलाकारले योगदान दिएको स्मरण गर्दै यो कार्यक्रमले विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वलाई कलामा जोड्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपालमा मुहारचित्रको जीवन्त प्रस्तुति निकै कम हुने गर्दछ । समाजका चर्चित व्यक्तित्वको मुहारचित्र बनाएर प्रतिष्ठानले समाजमा यसको महत्वलाई उजागर गर्ने कोशिस गरेको हो ।’

प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले कलामा मुहारचित्र एक विशिष्ट पक्ष रहेकाले यसलाई प्रभावकारी रुपले आमजनताको विषयसमेत बनाउनुपर्नेमा जोड दिए । पहिलो दिनको कार्यशालामा अनुराधा कोइराला र सुरेन्द्रवीर मालाकारको मुहारचित्र बनाइएको प्राज्ञ तथा चित्रकला विभागका प्रमुख सुषमा राजभण्डारीले जानकारी दिइन् । उनले मुकारचित्रमार्फत समाजका विशिष्ट व्यक्तित्वलाई कलासँग जोडेको विचार व्यक्त गरिन् । नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले शुभकामना मन्तव्य व्यक्त गर्दै कला र आमजनका साथै विशिष्ट व्यक्तित्वलाई जोड्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने धारणा व्यक्त गरे । उनले भने, ‘कलाकारको भावना र चित्रण गरिने व्यक्तित्वको मिश्रणले एक महत्वपूर्ण कला इतिहास कोर्न सक्षम हुने आशा राख्न सकिन्छ ।’

कार्यशालाको पहिलो दिन कोइरालाको चित्र कलाकार गजेन्द्रमान श्रेष्ठ र मालाकारको मुहारलाई कलाकार सिर्जन राजभण्डारीले क्यानभासमा उतारे । आठ दिनसम्म सञ्चालन हुने उक्त कार्यशालामा आलोक गुरुङ, बाबुराजा देउला, सिर्जन राजभण्डारी, डिराम पाल्पाली, प्राज्ञ गजेन्द्रमान श्रेष्ठ, कृष्णप्रकाश शाह, किशोर नकर्मी, रोशन प्रधान, प्रदीप श्रेष्ठ, पूजा मर्हजन र कान्छाकाजी भासिमाले जीवन्त रुपमा मुहारचित्र बनाउने प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार र प्राज्ञ बुद्धि गुरुङ अतिथि कलाकारका रुपमा सहभागी रहने छन् ।

प्राज्ञ तथा चित्रकला विभागका प्रमुख राजभण्डारीका अनुसार कार्यशालामा तयार परिएका मुहारचित्रको प्रदर्शनी एवं बिक्रीबाट प्राप्त रकम सिन्धुपाल्चोकको कालिकादेवी माध्यमिक विद्यालयका बालबालिकाको शिक्षामा सहयोग गरिने छ । कार्यशालामा प्रतिष्ठानका कुलपति कर्माचार्य, अभिनेत्री मनिषा कोइराला, अनुराधा कोइराला, हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, आनी छोइङ डोल्मा, सुरेन्द्र श्रेष्ठ, सुरेन्द्रवीर मालाकार, प्रदीपकुमार श्रेष्ठ, भद्रकुमारी घले, अम्बिका श्रेष्ठ र पृथ्वीबहादुर पाण्डेको मुहार बनाइने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया