दुल्लू । महिला तथा किशोरीको आत्मरक्षाका लागि आठबिस नगरपालिकाले ‘आत्मसुरक्षा तालिम’ सञ्चालन गरेको छ । पछिल्लो समय बलात्कार र यौनहिंसाका घटना बढ्न थालेपछि महिला तथा किशोरीले कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले १७ सामुदायिक विद्यालयका ६६ बालिका तथा किशोरीलाई आत्मरक्षा तालिम दिएको अभियन्ता सजना सुनारले जानकारी दिए । तालिममा बालिका तथा किशोरीहरूलाई गलत नियतले हात समाते, पछाडिबाट अँगालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गर्न खोजे हिंसाबाट जोगिन सात वटा आत्मसुरक्षाका उपाय सिकाइएको उनले बताए । यो तालिमबाट एक्लै हिँडडुल गर्दा कसैले जबरर्जस्ती गर्न खोजे त्यसबाट बच्ने उपाय सिकाइएको र यसबाट किशोरीहरूको आत्मबल बढने विश्वास लिएको उनले बताए ।
नगरपालिकाले स्कुले बालिका तथा किशोरीलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको थियो । पहिलो चरणमा सामुदायिक विद्यालयका बालिका तथा किशोरीलाई आत्मसुरक्षाको सीप सिकाएको आठबिस नगरपालिकाका उपप्रमुख दीपा बोहराले जानकारी दिए । ‘बालिका तथा किशोरी आफन्त, छिमेकी तथा नातेदारबाटै असुरक्षित भएकाले आत्मसुरक्षाका लागि तालिम दिएका हौँ’, उनले भने, ‘आत्मरक्षा तालिम लिएका किशोरी विद्यालयका अन्य छात्रालाई पनि सिकाउनेछन् ।’ आत्मविश्वासको कमीले बालिका, किशोरी र महिला बलात्कारको सिकार हुने हुँदा आत्मविश्वास जगाई आत्मरक्षा गर्ने विधि तालिममा सिकाइएको छ ।
तालिममा सहभागी किशोरीले तालिमपछि आफूहरूमा आत्मविश्वास बढेको र सुरक्षित भएको महसुस गरेको बताएका छन् । ‘तालिम अगाडि कसैले हामीलाई बलात्कार वा यौनहिंसा गर्न खोजे के गर्ने होला भनेर चिन्ता लाग्थ्यो । तालिम लिएपछि आत्मबल बढ्यो । बच्न तरिका पनि सिक्यौँ’, जनज्योति माविकी छात्रा निशा शाहीले भनिन् । यौनहिंसा तथा दुव्र्यवहारको प्रयास गरे प्रतिकार गर्न यो तालिमले आफूलाई एक्लो छैनौँ भन्ने विश्वास बढाएको छ । शाही मात्र होइनन्, तालिममा सहभागी किशोरी कमला माझीको पनि उस्तै बुझाइरहेको छ । बलात्कारको प्रयास गर्ने व्यक्तिको आँखामा दबाब दिने, संवेदनशील अंगमा प्रहार गर्ने तालिमबाट सिकेका छौँ । ‘तालिमपश्चात आत्मविश्वास बढेको छ, सुरक्षित महसुस गरेका छौँ’, उनले भनिन् ।
जिल्लामा ६ महिनायता सात वटा बलात्कार र यौनहिंसाका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । केही व्यक्तिलाई हिरासतमा राखी अनुसन्धान भइरहेको र केही व्यक्तिलाई पूर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । आत्मसुरक्षा सीपसँगै बालिका तथा किशोरीलाई बाल अधिकारका बारेमा समेत जानकारी दिइएको छ । बाल विवाहबारे कानुनी प्रावधान, सानै उमेरमा विवाह गर्दा आइपर्ने समस्या तथा छाउपडी प्रथा, जातीय विभेदबारे कानुनी प्रावधानका बारेमा समेत जानकारी दिइएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया