झोलुंगे पुलले मोटरेबल पुललाई वाधा

बझाङ । जयपृथ्वी नगरपालिकाले झोलुंगे पुल नहटाउँदा मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिक पानकोटमा सेतीपारिका बस्तीलाई जोड्न मोटरेबल पुल निर्माणाधीन छ । सो मोटरेबल पुल निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ । पुलमा ढलानको काम मात्र बाँकी रहेको बताइएको छ । ढलान गर्ने कच्चापदार्थ गिट्टी, बालुवा, सिमेन्टलगायतका सामान पुलको पारीसम्म पुर्याउनका लागि गाडी नअटाउने भएकाले झोलुंगे पुल हटाउनुपर्ने निर्माण कम्पनीले जानकारी दिएको छ ।

सेती नदी पारी रहेका स्थानीय तहलाई जोड्ने गरी ०७३ साल नै निर्माण सम्पन्न हुनेगरी उक्त पुलको ठेक्का सम्झौता भएको थियो । लागत अनुमान नै त्रुटि भएका कारण पुल निर्माण हुन नसकेपछि गत वर्ष लागत परिवर्तन गरी पुनः बोलपत्र आह्वान भई निर्माण कार्य सुरु भएको थियो । झण्डै आठ करोडको लागतमा निर्माण भइरहेको ६९ मिटर लम्बाइको पानकोट पुल यसै वर्षको चैत महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनी इलाइट कन्स्ट्रक्सनले काम अघि बढाएको थियो ।

मोटरेवल पुलसँगै रहेको झोलुंगे पुल नगरपालिकाले हटाउनमा कुनै चासो नदिँदा निर्माण कार्यमा ढिलाइ भइरहेको निमार्णको जिम्मा पाएको ठेकेदार कम्पनीका प्रर्तिनिधि कपिल राइले जानकारी दिए । उनले झोलुंगे पुलका कारण सामान ढुवानी गर्न नसकिएको बताए । नजिकै अर्को वैकल्पिक बाटो छैन । झोलुंगे पुल नहटाई काम गर्न सकिने अवस्था छैन ।

‘पुलको सबै काम सकिएको र अब ढलानको काम मात्र बाँकी छ । पुलमा ढलान गर्नलाई झोलुंगे पुलले बाधा गरेका कारण आवश्यक साम्रगी पुलमा पुर्याउन सकिएको छैन । पुल नहटाएसम्म पुलको निर्माण सकिँदैन’, उनले बताए । जयपृथ्वी नगरप्रमुख वीरेन्द्रबहादुर खड्काले ठेकेदार कम्पनीका प्रतिनिधिसँग निमार्णस्थलमै गएर हटाइदिने कुरा भएको बताए । उनले भने, ‘झोलुंगे पुलका कारण निमार्णकार्यमा असहज भयो हामीले हटाउँदा स्थानीयवासीले काममा असहज गर्लान् भन्ने डर छ । तपार्इंले झोलुंगे पुल हटाउनुपर्ने हो भनेर मसँग अनुरोध गरेको हो ।’

क्रस मोटरेबल पुल निर्माण सम्पन्नपश्चात् पानकोट पुल सेती नदीमा बनेकोे पहिलो हुनेछ । यस पुल बनेपछि बझाङको सेतीपारिका साइपाल, तल्कोट, मष्टा, खप्तडछान्ना, थलारा गाउँपालिका र जयपृथ्वी नगरपालिकावासीले यातायातको सुविधा पाउनेछन् । पुल निमार्णको काम अन्तिम चरणमा पुगेपछि पुल बन्ने आशा पलाएको स्थानीयवासी नरेन्द्र उपाध्यायले बताए ।

उनले सेतीपारीका स्थानीय तहमा सडक सञ्जालको पहुँच भए पनि सेती नदीमा पक्की पुल नहुँदा यातायातका साधन बारपार गर्न सकेका छैनन् । हिउँदमा सेती नदीमा पानी घटेपछि केही महिनाका लागि अस्थायी काठे पुल राखेर यातायातका साधनले ओहोरदोहोर गर्दथे । गत जेठ महिनामा काठे पुल बगाएपछि यातायातका सेवा प्रभावित हुने गरेको छ ।

प्रतिक्रिया