रारामा दुई फिटसम्म हिउँ

मुगु । बिहीबार रातीदेखि कर्णालीका उच्च भेगमा हिमपात सुरु भयो । नेपालकै सबैभन्दा ठूलो ताल रारा पनि समुद्र सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा रहेकाले रारामा पनि बिहीबार रातीदेखि हिमपात भयोे । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारा लगातारको हिमपातले यतिबेला रारा सेताम्मे बन्नुका साथै चाँदीझै टलक्क टल्किएको छ ।

रारामा गएर हिउँ खेल्ने र रारामा लुकामारी गर्न पर्यटकहरू चिसोको प्रवाह नगरी रारा जाने क्रम जारी छ । रारा वरपर दुई फिटसम्म हिउँ जमेको छ । रारा वरिपरिका रूख र विरुवा पनि हिउँले सेताम्य भएका छन् । राराले खैरो, बैजनी र नीलो गरी दिनमै तीनपटकसम्म रूप बदल्ने गर्दछ । यही रूपमा रमाउन यतिबेला विभिन्न ठाउँबाट पर्यटक आउने गरेका छन् ।

यति बेला रारा हिउँले सेताम्य मात्रै होइन रारा मनमोहक देखिनुका साचै चाँदीझैं टल्किएको डाक्टर अर्जुन भामले बताए । उनका अनुसार हिमपातपछि रारा हिउँ खेल्न गएको बताउँदै डाक्टर भामले रारामा हिउँ खेल्नुको मज्जा बेग्लै हुने गरेको बताए । यता छायानाथ रारा नगरपालिका–४ का खडेडाका धामी राज्येश्वर मल्लका अनुसार मुर्माटपसम्म पुगेर सेताम्मे रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त हुने र हिउँ पनि परेकाले हिउँ खेल्न र हिउँसँग लुकामारी गर्न पाइने बताए ।

रारा पाँच किलोमिटर लम्बाइ, तीन किलोमिटर मिटर चौडाइ र १ सय ६७ मिटर गहिराइ रहेको छ । रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतोलगायत तीन सय प्रजातिका चरा रारामा पाइन्छन् । कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भाल, रतुवालगायत वन्यजन्तु अवलोकनका लागि पनि रारा महत्वपूर्ण मानिँदै आएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया