हिउँ परेसँगै मनाङको आगो नियन्त्रणमा

मनाङ । लामो समयदेखि मनाङको जंगलमा लागेको आगो नियन्त्रणमा आइरहेको छ । मानव संशाधनले नियन्त्रणमा लिन नसकेको आगलागी अहिले नियन्त्रण हुँदै गएको छ । मनाङमा हिउँ नपरेपछि जंगलमा लागेको आगो हिउँ पर्न थालेसँगै नियन्त्रणमा आउँदै गएको छ ।

करिब दुई महिनादेखि लागेको आगो नियन्त्रणमा आउन कठिन भएको अवस्थामा मौसमी परिवर्तनले मनाङको आगो नियन्त्रणमा आउँदै गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । मौसमी परिवर्तनले पहाडी तथा तराई क्षेत्रमा वर्षा भएसँगै हिउँ परेपछि आगो स्वतः नियन्त्रणमा आउन लागेको लामिछानेले बताए । ‘हिउँ नपर्दा मनाङका जंगलमा लागेको आगो नियन्त्रणमा कठिन भएको थियो, शुक्रबार बिहानैबाट हिउँ पर्न थालेपछि आगो नियन्त्रणमा आइरहेको छ, हिउँ पर्न थालेपछि पूर्णरूपमा आगलागी नियन्त्रणमा आउनेछ’, उनले भने । मानव संशाधन प्रयोग गरेर नियन्त्रणमा लिन नसकेको आगलागीलाई प्रकृतिले नियन्त्रण गरेको उनको भनाइ छ ।

लामो समयदेखि मनाङका विभिन्न जंगलमा लागेको आगोले केही गाउँ, बस्ती जोगाउन हम्मेहम्मे परेको थियो । हिउँ नपर्दा लागेको आगोले त्यस क्षेत्रका मानवीय बस्ती जोगाउन मुस्किल भएकै थियो भने जंगली जनावरको बासस्थान मासिएका छन् । कति जंगली जीवजन्तु मासिएका छन् भन्नेसमेत यकिन गर्न सकिएका छैनन् । मनाङको जंगलमा संरक्षित पशुपक्षीको वासस्थान मासिँदा स्थानीयवासीसमेत चिन्तित बनेका छन् । मनाङको जंगलमा घोरल, चितुवा, भालुलगायतका विभिन्न पशुपंक्षीको वासस्थान मासिएको छ । मानव बस्ती जोगिए पनि जंगली पशुपक्षीको वासस्थान भने जोगिएको छैन ।

हिउँ परेपछि आगो नियन्त्रणमा आउँदा सुरक्षित महसुस भएको नासो गाउँपालिका–८ ताजैगाउँकी स्थानीय काशी गुरुङले बताए । ‘आगलागी हुँदा कैयौँ दिन खान र सुत्नसमेत सकेका थिएनौँ, हिउँ परेपछि आगो नियन्त्रणमा आएको छ, खुसी लागेको छ’, उनले भने । हिउँ परेपछि मनाङवासी अहिले हर्षित भएका छन् । हिउँ परेपछि आगो नियन्त्रणमा आउनु र हिउँले उत्पादनमा टेवा पु¥याउने भन्दै मनाङवासी हर्षित भएका हुन् ।

प्रतिक्रिया