सल्यान । जिल्ला कारागारमा रहेका १ सय २२ कैदीबन्दीले कोभिड विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानसँगको सहकार्यमा कारागारभित्र रहेका कैदीबन्दीलाई शुक्रबार कोभिड विरुद्धको खोप लगाइएको हो । कारगारभित्र रहेका १ सय ५४ जना मध्ये १ सय २२ जना कैदीबन्दीले कोरोना खोप लगाएका हुन् । जसमा १ सय ३ जना पुरुष र १९ महिला साथै दुई जना कर्मचारीले पनि कोरोना खोप लगाएको जेलर बलवहादुर केसीले जानकारी दिए ।
कारागारभित्र रहेका कैदीबन्दीहरूमा कोरोना भाइरस संक्रमणको जोखिम बढी हुने भएकोले खोप दिइएको जेलर केसीले जानकारी दिए । ‘कोरोना विरुद्धको खोप लगाइसकेपछि कोरोना संक्रमणको जोखिम कम हुने भएकोले हामीले स्वाथ्य कार्यालयसँगको समन्वयमा खोप लगाएका हौँ’, जेलर केसीले भने । कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा विगत एक वर्षदेखि नियमित स्वास्थ्य जाँचसमेत गराउन नपाएका कैदीबन्दीले अहिले कारगारभित्रै कोरोनाको खोप लगाउन पाउँदा खुसी भएका छन् ।
सामान्य बिरामी पर्दासमेत जिल्ला अस्पताल वा प्राइभेट मेडिकलमा उपचार गर्नुपर्ने बाध्यता रहेका बेला कारगारभित्रै कोभिड विरुद्धको खोप लगाउन पाउँदा सबै कैदीबन्दीहरू हर्षित भएको चौकीदार हरि अधिकारीले बताए । हाल कारागारमा १ सय २२ जना पुरुष, २५ महिला र सात नाबालक गरी जम्मा १ सय ५४ जना कैदीबन्दीहरू बस्दै आएका छन् ।
प्रतिक्रिया