अव्यवस्थित बसोवासीको लगत संकलन सुरु

बुटवल । रूपन्देहीको सैनामैना नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको लगत संकलन प्रक्रिया सुरु भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगसँग नगरपालिकाले सम्झौता गरे लगत्तै सो प्रक्रिया सुरु भएको हो । त्यसका लागि नगरभित्रको १ सय ७ टोल विकास संस्थाबाट गणक छनोट गरी उनीहरूलाई आवश्यक परामर्श प्रदान गरिएको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले भूमिसम्बन्धी समस्या समाधानका लागि सैनामैनामा सबै पक्षसँग आवश्यक परामर्श गर्दै आएको बताए । भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीले आफूले बसोवास वा आवाद कमाइ गरेको जग्गा पाउन आयोगले प्रक्रिया सुरु गरेकाले नगरले काम गरिरहेको जानकारी दिए ।

‘नगरस्तरीय भूमिसम्बन्धी समस्या समाधान सहजीकरण समिति, वडास्तरीय भूमिसम्बन्धी समस्या समाधान सहजीकरण समिति सबै गठन गरी तीव्र रूपमा काम अगाडि बढाएका छौँ’, प्रमुख कार्कीले भने । नगरपालिकाले भूमिसम्बन्धी समस्या समाधान इकाइ कार्यालयको संयोजकमा सैनामैनाका अधिकृत प्रमोद खनाललाई तोकेको छ भने अधिकृत रामप्रसाद भट्टराई, सन्तकुमार चौधरी र केवशराज अर्याल नगरस्तरीय कार्यालयबाट खट्नेछन् ।

नगरपालिकामा काम गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगले ०७७ माघ ९ गते प्रथमपटक सूचना प्रकाशित गरिसकेको छ । आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी मिति ०७७ फागुन १३ गतेभित्र वडा कार्यालयमार्फत घरदैलोमा खटिएका लागत संकलन वा सम्बन्धित वडा कार्यालयमा फारममा उल्लिखित विवरणलाई पुष्टी गर्ने प्रमाण वा कागजात सिधँै पेस गरिसक्नुपर्नेछ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगले आफ्नो काम अगाडि बढाएसँंगै स्थानीयवासीमा उत्साह थपिएको सैनामैनाका थारू अगुवा तथा समाजसेवी खुशीराम चौधरीले बताए । आयोगले सूचना गरेसँगै आफूहरू दिनरात जनताको घरघरमै गएर आयोगले दिएको सूचनाअनुसार लागत भर्ने विषयमा बताउँदै आएको वडाध्यक्ष बेल्बासेले बताए ।

उनले सबै वडावासीलाई आवश्यक समन्वय गर्दै आएकोसमेत जानकारी दिए । लागत संकलन कसरी गर्ने र कस्ता व्यक्तिका लागि कुन प्रकारको फारम भर्ने भन्ने विषयमा नगरपालिकाले आवश्यक ज्ञान र सहजीकरण गरिरहेको सैनामैनाका गणकको रूपमा छनोट भएका धनश्याम खनालले बताए । सैनामैनाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल र नगरपालिकाका अधिकृत सन्तकुमार चौधरीले लागत संकलनसम्बन्धी प्रशिक्षण दिँदै आएका छन् । ११ वडा रहेको नगरपालिकामा करिब ६० प्रतिशत जग्गा सुकुम्बासी तथा अव्यवस्थित रहेको बताइएको छ ।

प्रतिक्रिया