सर्पलाई ‘नाग देवता’ भन्दै पूजा गर्नेहरूको घुइँचो

जलेश्वर । महोत्तरीको बलवा नगरपालिका– ११ रौजागाउँमा गोमन सर्पलाई नाग देवता भन्दै पूजा आराधना गर्न थालिएको छ ।

रौजाको एकै स्थानमा विगत १२ दिनदेखि गोमन सर्प देखिन थालेपछि त्यसलाई ‘नाग देवता’ भन्दै स्थानीयवासीले पूजाआजा गर्दै आएका छन् । सो सर्पलाई स्थानीयवासीले नाग देवता भन्दै पूजाआजा गर्न थालेको स्थानीयवासी गुलाम साहले बताए ।

गाउँ नजिकैको वनछेऊ सतलाल राउतको खेतमा रहेको दुलोबाट सधैँ दिउँसो १२ बजेपछि निस्कने र बेलुका ४ बजेतिर पुनः सोही दुलोभित्र पस्ने गरेको सो सर्पलाई वरपर छिमेकी गाउँबाट पनि हजारौँ मानिस हेर्न र पूजाआजा गर्नका लागि आउने गरेको स्थानीयवासी जीतेन्द्र मण्डलले बताए ।

सो सर्प निस्कनेबित्तिकै चारैतिरबाट हेर्नेहरुले घेरिदिने र नजिकमा जाँदा पनि कसैलाई केही नगर्ने गरेको कारण सबैले त्यसलाई नाग देवता भन्दै पूजाआजा गर्न थालेको स्थानीयवासी वीरेन्द्र यादवले बताए ।

सो सर्पलाई स्थानीयवासीले कचौरामा दूध खान दिने गरेका छन् भने पूजाआजा गर्नेहरुले फूल, तुलसी, बेलपत्रलगायतका वस्तु र फलफूल पनि चढाउने गरेको स्थानीयवासी बताउँछन् ।

सुरुसुरुमा वनमा घाँस काट्न गएका महिलाको एक समूहले सो सर्पलाई देखेका थिए भने उनीहरु डराएर भागेका थिए । तर, पछि सर्प केही नगरेको र नभागेपछि महिलाले गाउँलेलाई सो कुरा सुनाएका थिए ।

त्यसै दिनदेखि आज १२औँ दिनसम्म दैनिकरूपमा सो सर्प निस्कने गरेको र स्थानीयवासीसहित छिमेकी गाउँका समेत व्यक्तिहरु पूजाआजा गर्न घुइँचो लाग्ने गरेको छ ।

प्रतिक्रिया