कमलपोखरीको काम तत्काल स्थगन गर्नुपर्ने गगन थापाको निष्कर्ष

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगनकुमार थापाले काठमाडौंस्थित कमलपोखरीको पुनर्निर्माण कार्य तत्काल स्थगन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत निष्कर्ष सार्वजनिक गर्दै नेता थापाले पोखरीको ऐतिहासिक र पर्यावरणीय पक्षलाई नबिगारी निर्माण कार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

थापाले लेखेका छन्, ‘कमलपोखरी पुनर्निर्माणको क्रममा भइरहेको कमजोरीका सम्बन्धमा हिजो कमलपोखरी संरक्षण एवं जनहित समाज, कमलपोखरी स्पोर्टस क्लब र स्थानीय वासिन्दाले पोखरी निरीक्षण र निर्माण व्यवसायीसँग छलफल गरेपछि हाम्रो निष्कर्ष !

१. कमलपोखरी निर्माण गर्दा ऐतिहासिक र पर्यावरणीय पक्षलाई ध्यान दिन पुरातत्व विभाग, स्थानीय सरोकारवाला र संरक्षण अभियन्ताले महानगरपालिकालाई ध्यानाकर्षण गराइसकेको सन्दर्भमा महानगरपालिकाले अविलम्ब सबै पक्षसँग एक साथ छलफल गरी पोखरीको ऐतिहासिक र पर्यावरणीय पक्षलाई नबिगारी सौन्दर्यीकरणको कामलाई अघि बढाउन विषयमा समझदारी कायम गराउन पहल गर्ने ।

२. यो सुनिश्चित नहुँदासम्म हाल भइरहेको निर्माणको काम तत्काल स्थगन गर्नुपर्ने । यस विषयमा हिजै हामीले निर्माण व्यवसायीलाई जानकारी गराइसकेका छौं ।

३. आशा छ कामनपाले यो विषयलाई प्रतिष्ठाको विषय नबनाई, सरोकारवालाले उठाएका यथार्थ मुद्दा र पुरातत्व विभागको चासोलाई सम्बोधन गरेर मात्र अघि बढ्ने छ ।’

प्रतिक्रिया