‘संसद विघटन केपी ओली नेतृत्वमा भएको राजनीतिक विद्रोह हो’

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटनको कदमलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको भएको राजनीतिक विद्रोहको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल फेसबूकमा नेकपा एकता सफल हुन नसक्नुको कारणबारे लेख्दै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरण गर्न चाहेको संकेत गरेका छन् ।

‘हामी कहाँ ३ वटा क्रान्तिपछि पनि युग परिवर्तनको आभास दिन सकिएको छैन । यस्तो किन ? पुरानो पुस्ताका नेताले खोज्ने कोसिस कहिल्यै गर्नुभएन,’ उनले लेखेका छन्, ‘कमरेड केपीले त्यसको समाधान दिने प्रयास के गर्नुभएको थियो, उहाँलाई चारैतिरबाट घेराबन्दी गरियो र अपमानजनक हिसाबले पार्टी र आन्दोलनबाट बाहिर पठाउने कोसिस गरियो । कमरेड केपी ओलीको प्रतिनिधिसभा विघटनको घटनालाई सोही परिप्रेक्ष्यमा हेर्नुपर्दछ । यो एक प्रकारले नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखिएको राजनीतिक जडताका विरुद्धमा कमरेड केपी शर्मा ओली नेतृत्वमा भएको राजनीतिक विद्रोह हो । नयाँ युगतर्फको पाइला हो ।’

नेता पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्तामा पुग्ने हतारोका कारण एकता टुंगोमा पुग्न नसकेको समेत बताएका छन् । ‘प्रतिनिधिसभा विघटनको दिन पनि एकताको रक्षाका लागि म प्रचण्ड कमरेडको निवासमा थिए जनार्दन शर्माको साथमा । त्यसदिन मैले जनार्दन शर्माले सुझाएको विकल्पलाई महत्त्वका साथ सुझाएको थिए । तर कमरेड प्रचण्ड त्यसप्रति एकरति पनि सकारात्मक देखिनुभएन । मेरो तर्फबाट प्रस्तुत अन्य विकल्पमा पनि उहाँ सकारात्मक देखिनुभएन । उहाँ आफ्नो भित्रि योजनामा निकै प्रतिवद्ध भइसक्नुभएको रहेछ,’ पोखरेलले लेखेका छन्, ‘उहाँ सहमतिमा होइन, समिकरणको बाटोबाट सत्तामा पुग्ने हतारोमा हुनुहुँदो रहेछ । नेपाली राजनीतिमा आज हामी त्यसको परिणाम व्यहोर्दै छौं ।’

प्रतिक्रिया