‘राष्ट्रिय एकता कमजोर बन्यो’

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले यो समयमा देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा हामी रहेको उल्लेख गरेका हुन् ।  पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मदिन तथा राष्ट्रिय एकता दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै उनले नेपाल निर्माणमा आफ्ना पुर्खाले सानो चातुर्य, साहस र वीरताबाट एकीकृत गरेको स्मरण पनि गरेका छन् । ‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जिवन समर्पण गरिबक्सेको तथ्य स्मरण मात्र हुँदा पनि हामी गौरवान्वित हुने गर्दछौँ’, उनले विज्ञप्तीमा भनेका छन्, ‘त्यो समय केवल आफ्नो परिकल्पनामा सीमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाट मात्र सम्भव थिएन । दैविक आशिर्वाद, अदम्य साहस, पौरख र कूटनीतिक कौशलको अद्वितीय क्षमताबाट मात्र देवभूमि नेपालको स्थापना भएको हो ।’

बाइसे चौविसे राज्यलाई एकीकरण गरी पृथ्वीनारायण शाहले नेपाल बनाएका थिए । यसै कारण उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइँदै आएको छ । सोही अवसरमा विज्ञप्ती निकाल्दै उनले पछिल्लो राजनीतिको चित्रण नगरेपनि राजनीतिक अस्थीरता र त्यसले निम्त्याएको परिस्थितिबारे भने चिन्ता व्यक्त गरेका छन् । ‘यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ’, उनले भनेका छन् ।

पूर्वराजा शाहले राष्ट्रिय एकता, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र जनताको जनचाहनालाई राजसंस्थाले जहिल्यै उच्च प्राथमिकता दिएको उल्लेख गरेका छन् । त्यसै अनुसार शाह वंशीय परम्परा अगाडि बढेको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिमा मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादा अनुरुपको व्यवहार भएको छ र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमानदारी पनि दर्साएका छन् ।’
उनले आफुले जनताको चाहना अनुसार उच्च साहस र इमानदारी दर्साएर राजगद्दी त्यागेको स्मरण समेत दलहरुलाई गराएका छन् । पछिल्लो समय देशभरी राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रर्दशन भईरहेकाले पूर्वराजा शाहले विगतको सम्झना गराएका हुन् ।

ज्ञानेन्द्रले नेपाली जनताले अहिले भोगिरहेको राजनीतिको समीक्षा गर्न ढिलो भैसकेको भन्दै परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काएर अरुको इच्छा पूरा गर्ने अवान्छित काम भइरहेको उल्लेख गरेका छन् । राष्ट्रिय अखण्डताका लागि राष्ट्रिय एकता बलियो बनाउनुपर्ने भन्दै यसको अपरिहार्यता भविष्यमा समेत हुने र पृथ्वी जयन्तीको सार्थकता त्यसैमा रहने उनको भनाइ छ ।

 

प्रतिक्रिया