तीन तहका सरकारबीच समन्वय छैन

हरिजंग शाही, नगरप्रमुख छायानाथ रारा नगरपालिका

नेपालकै सबैभन्दा ठूलो तथा कर्णाली प्रदेशकै गहना, रारा ताल मुगुमा पर्छ । जिल्लामा एक नगरपालिकासहित चार स्थानीयतह छन् । त्यस मध्येको एक हो छायानाथ रारा नगरपालिका । ‘स्वर्गकी अप्सरा रारा’ ताल यसै नगरपालिकाभित्र पर्दछ । यस नगरपालिकाको नामकरण पनि छायानाथ मन्दिर र रारा तालकै नामबाट गरिएको हो । यहाँ ऋणमोक्ष मन्दिर, छायानाथ मन्दिर, कालिका मालिका मन्दिर, थार्प मस्टा, चंखेली हिमाललगायत पर्यटकीय सम्भावना बोकेका कैयौँ सम्पदा छन् । मुगुमा क्षेत्री, ब्रह्मण, ठकुरी, लामा, कामी जातिको बाहुल्यता रहे पनि नगरपालिकामा क्षेत्रीको जनसख्या धेरै छ । ०६८ सालको जनगणनाअनुसार यस नगरपालिकाको कुल जनसंख्या २६ हजार र घरधुरीको संख्या ४ हजार ७ सय २१ छ । यस्तै जडीबुटी व्यापार, पर्यटन, कृषि र पशुपालनको उच्च सम्भावना भएको नगरपालिको हो यो । कर्णाली प्रदेशको मुगु भौगालिक विकट भए पनि यहाँ सम्भावनै सम्भावना छ । यहाँको विविध विषयमा नगरप्रमुख हरिजंग शाहीसँग सौर्य दैनिकका लागि नन्दबहादुर रोकायाले गरेको संवाद ।

स्थानीयतह निर्वाचन भएको तीन वर्ष भयो, यो अवधिमा के के काम गनुभयो ? उपलब्धी के के भए ? के हुन सकेको छैन ।
यस नगरपालिकाले भौतिक पूर्वाधार, सामाजिक परिचालन र सचेतना अभिवृद्धि गर्ने खालका कयातधबचभ निर्माणको पाटोलाई समेत पर्याप्त ध्यान दिएर आफनो नीति तथा कार्यक्रम लागू गर्दै आइरहेको छ । स्थानीय वस्तुगत यथार्थ धरातललाई टेकेर दीर्घकालीन दृष्टिकोण राख्दै विविध चुनौती तथा अवरोधका बाबजुद केही उल्लेख्य कामहरू कार्यान्वयनमा ल्याइएको छ । बालबालिकामा लगानी नै भावी समाजमा लगानी हो भन्ने अवधारणालाई आत्मसात गर्दै नगरपालिकाले प्रारम्भिक बाल विकास कार्यक्रममा लगानी बढाएको छ । प्रारम्भिक बाल विकास केन्द्रमा कार्यरत कर्मचारीहरूको करिब शतप्रतिशत सेवा सुविधा वृद्धि, न्यूनतम पूर्वाधार विकासमा जोड दिनुका साथै नमुना बाल विकास केन्द विकासको अवधारणा नगरपालिकाले लागू गरेको छ । सामाजिक, आर्थिक विवशताका कारणले छोरीहरूलाई गरिने लैंगिक विभेद, भु्रण हत्या न्यूनीकरणका साथै छोरीहरूको उज्वल भविष्यका लागि वचतमा प्रेरणा जगाउन र किशोरीमैत्री समाज निर्माणका लागि नगरपालिका क्षेत्रभित्र जन्मिएका छोरीहरूका लागि बैंक खाता खोलिदिई निश्चित रकम जम्मा गरिदिने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । बढिरहेको जनसंख्या वृद्धि न्यूनीकरण साथै सानो र सुखी परिवारको अवधारणालाई साकार पार्न दुई सन्तान जन्माइसकेपछि स्थायी बन्ध्याकरण गर्ने दम्पत्तीहरूलाई प्रोत्साहन स्वरूप नगरपालिकाले निश्चित रकम प्रदान गर्ने गरेको छ ।

यस्तै महिला स्वयंसेविकाहरूको कार्य जिम्मेवारी र राज्यले प्रदान गर्दै आएको सेवा सुविधालाई मध्यनजर गर्दै स्वयंसेविकाहरूलाई प्रोत्साहित गर्न, कार्यसम्पादनमा प्रभावकारिता ल्याउन महिला स्वयंसेविका सञ्चार कोष निर्माण गरेको छ । उक्त कोषमा वार्षिक रकम जम्मा गरी सञ्चार सहायता बापत स्वयंसेविकाहरूलाई सञ्चार रकम उपलब्ध गराउँदै आएको छ । एकल पुरुषहरूको सामाजिक आर्थिक हैसियतमा आएको गिरावट र जीवनयापनका कठिनाइलाई ध्यानमा राखी निश्चित मापदण्डभित्र पर्ने एकल पुरुषलाई जीवनयापनमा सहजताका लागि सहायता भत्ता प्रदान गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । आयस्रोत र आर्थिक अवसरहरूमा कमी, एकल महिलाहरूमाथि रहेको पारिवारिक जिम्मेवारी, खाना पकाउने मुख्य ऊर्जाको स्रोत दाउरा भएकाले गाउँवस्ती र जंगलको लामो दुरीले एकल महिलामाथि थपिएकोे बोझलाई कम गर्न विपन्न एकल महिलाहरूलाई नगरपालिकाले निःशुल्क ग्यास वितरण कार्यक्रम अगाडि सारेको छ । भान्साकोठामा सरसफाइ, समयको बचत र एकल महिलाहरूमाथिको बोझलाई कम गर्न यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा राखिएको छ । आवधिक र दीर्घकालीन योजना तथा अवधारणा निर्माणमा लागिएको छ । लाभका क्षेत्रको पहिचान तथा प्राथमिकताका क्षेत्रहरू तोकेर वितरणात्मक भन्दा प्रतिफलमुखी योजनाहरूमा लगानी गर्ने नीति अख्तियार गरिएको छ ।

यो तीन वर्षका कति बजेट खर्च भयो ? खर्च अनुसारको उपलब्धी हासिल भयो कि भएन ?
चालु आर्थिक वर्षसहित विगत तीन वर्षयता विकासतर्फ १ अर्ब ५ करोड रुपैयाँ खर्च भएको छ । हामीले भन्दा अन्यथा नहोस् । यसबाट जनताले प्रत्यक्ष रूपमा अनुभूति हुने गरी उपलब्धी हाँसिल भएको महसुस गरेका छौँ । गुणस्तरीय शिक्षा नभएको कारण शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यसै गरी नगरपालिकाका ८७ वटा बस्ती मध्ये ८५ बस्तीमा सडक सञ्जाल जोडिएको छ । एक घर एक धाराको अवधारणालाई मूर्त रूप दिइएको छ । १४ वटै वडामा स्वास्थ्य संस्थाको व्यवस्था गरिएको छ । एक छोरी एक खाताका व्यवस्था गरी वार्षिक नगद जम्मा गरिदिने व्यवस्था गरिएको छ । यी लगायत यस्तै कामलाई प्राथमिकतामा राखेर काम भइरहेको छ ।

यी तीन वर्षमा काम गर्दा के कस्ता चुनौती भोग्नुभयो ?
मुगु जिल्ला भौगोलिक हिसाबले ठगिएको जिल्ला हो । भौगोलिक विकटता यहाँको मुख्य चुनौती रहेको छ । भौगोलिक विकटताले जनताका पक्षमा काम गर्न धेरै समस्या गरेको छ । सीमित साधन स्रोत र आन्तरिक स्रोत कमी हुनु अर्को समस्या छ । त्यसमा बढ्दो बेरोजगारी, अशिक्षा, यातायातको असुविधा, आयस्रोतको कमी लगायतका धेरै चुनौती छन् । राजनीतिक खिचातानीले पनि विकासमा बाधा पुर्याएकोे छ ।

स्थानीय तह, प्रदेश र संघबीच काम गराइएमा के कस्तो समन्वय हुने गरेको छ ?
देश विकास र समृद्धिका लागि जुन तीन तहका सरकारको अवधारणा छ, त्यो एकदमै राम्रो छ । तर, समन्वयको कुरा गरिरहँदा तीन तहका सरकारबीच समन्वय छैन । काम पनि आफ्नै किसिमले हुने गरेको छ । समन्वय नभएरै कतै कार्यक्रम, योजना दोहोरिने त कतै काम नै नहुने अवस्था छ । जुन गाउँ टोलमा स्थानीय तहले योजना सञ्चालन गरिरहेको हुन्छ त्यही गाउँटोलमा प्रदेश सरकारले योजना सञ्चालन गर्छ । यसले समुदायमा फाटो ल्याउने काम भएको छ । अर्को कुरा प्रदेश सरकारका योजनामा वडाको अनुगमनपछि भुक्तानी दिनुपर्ने हो, यहाँ त्यस्तो भएको छैन । कैयौँ स्थानमा काम भएको हुँदैन योजनाको पैसा गइसकेको हुन्छ । समन्वय नहँुदा विकासी क्रियाकलापदेखि अन्य सामुदायिक स्तरमा खलल हुने गरेको छ । समृद्धिको लागि सबै तहको बीचमा समन्वय आवश्यक छ ।

कोराना भाइरस संक्रमण रोकथाममा नगरपालिकाबाट के कस्ता कामहरू भएका छन् ?
यस नगरपालिकाकाले कोराना भाइरसको संक्रमण फैलिन नदिनका लागि नगरपालिका भित्रने मुख्य प्रवेशद्वारका ६ स्थानमा हेल्थ डेक्सको स्थापना गरी बाहिरबाट आएका व्यक्तिको स्वास्थ्य परीक्षण गरेर मात्र जिल्ला प्रवेश गर्ने व्यवस्था गरिएको छ । २४सै घण्टा स्वास्थ्यकर्मी हेल्थडेक्समा खटी सेवा प्रवाह र रिपोर्टिङ गर्दै आएका छन् । क्वारेन्टाइन स्थापना गरी बाहिरबाट आएका व्यक्तिलाई कम्तिमा १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको छ । नगरपालिका र विभिन्न सहयोगी संस्थाको सहयोगमा एक करोडभन्दा बढी रकम जम्मा गरी विपत् व्यवस्थापन राहत कोषको थालनी गरी विपन्न र दूरदराजमा रहेका ज्याला मजदुरी गरी दैनिकी चलाउँदै आएका नागरिकका लागि राहत सहयोग र नगरपालिका भित्रका प्रत्येक नागरिकलाई स्वास्थ्य सामग्री वितरण, खाद्यान्न वितरण, आर्थिक सहयोग गरिएको छ ।

यस्तै बन्दाबन्दीका कारण सुर्खेत नेपालगञ्जमा र काठमाडौंमा अलपत्र परेका १६ सय नागरिकलाई उद्धार गरी घरसम्म पुर्याइएको छ । नागरिकलाई कोरानाका बारेमा जानकारी दिन रेडियो कार्यक्रम कुडा कोराना सञ्चालन गरिएको छ । जनचेतनामुलक कार्यक्रमसँगै १४ वटै वडामा खोजी दस्ता, द्रुत परिचालन कमिटी, विपत व्यवस्थापन समिति, टोल सुधार समिति क्वारेन्टिन खाना व्यवस्थापन समिति गठन गरिएका छन् । प्रत्येक हेल्थ डेक्स, स्वास्थ्यचौकी, स्वास्थ्य केन्द्र तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री उपलब्ध गराई उच्च सुरक्षाका साथ स्वास्थ्यकर्मी खटाइएको र सत्यतथ्य कुरा समयमै सूचना सम्पे्रषणका लागि स्वास्थ्य संयोजकलाई सूचना अधिकारी तोकी सूचनामा सहज बनाइएको छ । तीन हजार आरडिटी किट खरिद गरी नगरवासीलाई आरडिटी चेक गराई उनीहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने गरिएको छ । हालसम्म यस नगरपालिकाभित्र कोरोना भाइरसका संक्रमण नभेटिएका र बाहिरबाट आएका केही व्यक्तिलाई संक्रमण भएको भए पनि सबै संक्रमणमुक्त भएका छन् । अझै चिसोको मौसम बढ्दै गएकाले यसको संक्रमण बढ्न सक्ने भन्दै नगरपालिकाले स्वास्थ्य मापदण्ड जारी गरी नागरिकलाई पालना गर्न निर्देशित गरिएको छ ।

अब दुई कार्यकाल बाँकी छन् यस बीचमा के के काम गर्ने योजना छ ?
संघीयताको अभ्यास पहिलोपटक भएकाले केही काम गर्न असहज परिस्थिति भएको भए पनि हामीले अगाडि बढिरहेका छाँै । अब यस नगरपालिकालाई देशकै सुन्दर नगरपालिका बनाउन गुरुयोजनामार्फत काम गर्नेछाँै । कभर्ड हल निर्माण, मुगु र हुम्ला जोड्ने मुगु कर्णाली नदीमाथि बेलीब्रिज, विद्युत् नपुगेका गाउँ टोलमा विद्युत् सेवा बिस्तार गरिनेछ । शैक्षिक गुणस्तर कायम गर्न विद्यालय भवन तथा तारबारलाई बढवा दिनेछ । प्रारम्भिक बालविकास शिक्षालाई मजबुद बनाउन अभिभावक शिक्षा सञ्चालन गरिनेछ । एक विद्यालय नमुना बालविकास केन्द्र स्थापना गरिनेछ । हिलोमुक्त गाउँ घोषणका लागि एक गाउँ एक आरसिसी गरिने क्रम जारी छ र निरन्तरता दिइनेछ । एक घर एक घारा, गमगढीमा सरसफाइको व्यवस्था गरिनुका साथै खानेपानीको व्यवस्था गरिनेछ । विगतमा टुक्रे योजनालाई प्राथमिकता दिने गरेको भए पनि खासै त्यस्ता योजनाको उपलव्धि नदेखिएकाले आगामी वर्षमा गौरबको योजनालाई प्राथमिकतामा राखी काम अगाडि बढाइनेछ । अबका दुई वर्षमा जनतालाई अनुभूति दिलाउने जस्ता काम गर्ने प्रतिवद्धता गरेका छौँ । विषयगत कार्यालयहरू, विकास साझेदारहरू, निजी क्षेत्र तथा नागरिक समाजहरूसँगको निरन्तर समन्वय र साझेदारीको अवधारणा आत्मसात गरी आगामी पाँच वर्षमा विकासका पूर्वाधारहरू तयार गर्दै सामाजिक रूपान्तरणको लक्ष्य नगरपालिकाले राखेको छ ।

तीन वर्षमा जनताले स्थानीय सरकारबाट कस्तो आशा र अनुभूति गरेको पाउनुभयो ?
यो कुरा हामीले भन्नुभन्दा पनि आमनागरिकले भन्नुपर्ने हो । नागरिकले कस्तो अनुभूति गरेका थिए, त्यसअनुसार हामीले काम गर्न सक्याँै वा सकेनौँ ? अब विगतको संरचना र अहिलेको संघीय संरचना पछिका क्रियाकलापलाई हेर्ने हो भन्ने हाम्रो नजरमा नागरिकले आशा गरेअनुसार अनुभूति हुने गरी हामीले काम गरेका छौँ जस्तो लाग्छ ।

पर्यटकीय क्षेत्र रारा यहाँको नगरपालिकामा पर्छ, कोरोनापछि के छ राराको अवस्था ?
कोभिड–१९ का कारण र नेपाल सरकारले जारी गरेको बन्दाबन्दीले आठ महिनासम्म रारा पर्यटकविहीन भयो । रारा पुरै सुनसानको अवस्थामा रह्यो । तर, पछिल्ला समय रारा घुम्न आउने पर्यटक बढ्दो क्रममा छन् । अहिले दिनमा एकदेखि दुई सयसम्म पर्यटकहरू रारा घुम्न आइरहेका छन् । रारा बिस्तारै आफ्नो लयमा फर्कने क्रममा रहेको छ । पछिल्लो पुस महिना लागेसँगै चिसोका कारण पर्यटक रारा आउने कमी भएको भए पनि अब हिउँ परेमा यहाँको सौन्दर्य हेर्न पर्यटक आउने विश्वास लिएका छौँ ।

रारामा पर्यटकहरू आकर्षित गर्न के के योजना बनाउनुभएको छ ?
पर्यटकीय सम्भावनाहरूले भरिपूर्ण यस नगरपालिकालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा चिनाउन नगरपालिकाले होमस्टे प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । रारा आसपास क्षेत्र तथा गमगढी क्षेत्रमा पनि व्यवस्थित होटल तथा लजको नभएको अवस्थामा विकल्प प्रदान गर्न स्थानीय कला, संस्कृति, भेषभूषा तथा रहनसहनलाई नजिकबाट चिनाउनका लागि पनि होमस्टे प्रवद्र्धन कार्यक्रम अगाडि सारिएको छ । स्थानीय रैथाने बालीको प्रवद्र्धनका लागि यहाँ आउने पर्यटकलाई उपहारको रूपमा यहीँको उत्पादनले स्वागत गरिने योजना छ ।

प्रतिक्रिया