जयपृथ्वीको विश्वशान्ति र मानवहितप्रतिको प्रतिबद्धता

श्यामबहादुर खडका

जेठो बुबा पर्वते खड्काले भन्नुभएको थियो, ‘खालीको खालीहोला, रजन्तोलाको राजहोला मेल्लेकको के राजहोला,’ दरबार बनाउनका लागि जय पृथ्वीबहादुर सिंहले मेल्लेक रोजे, जसको नाम पछि जय पृथ्वीनगर राखियो । रजन्तोलामा देवी जंगबहादुर सिंहका दरबार बन्यो, पछि यिनै राजा भए । खाली भन्ने ठाउँमा एक भाइको लागि घर बन्यो । जंगली भूभाग मेल्लेक अशुभ भएको कारणले आवादहुन सकेन र उनले राजपाट छोडनु पर्यो । खाली नाम रहेकोले त्यहाँको भाइले राज्य नपाई, खाली रहे भनेर अर्थ लगाइयो । कसैल वहाँलाई सुनाएको यो तत्कालिन अवस्थामा बुढापाकाको मूल्याकंन थियो ।

मैले वहाँलाई सोधेँ, ‘वहाँलाई देख्नु भयो त ?’ केटाकटी अवस्थाको वहाँ गाउँको खेत तिर हुदा जयपृथ्वी चैनपुरबाट घोडा चढेर आउनलाग्नु भएको थाहा पाएपछि हेर्न गाउँतिर आउदा उनीबाटो कटी सकेका थिए । केही बर्षसम्म बझाङको सदरमुकाम जयपृथ्वीनगरमा राखिएको हामी सामान्य ज्ञानमा समेत पढथ्याैं । पछि केही व्यक्तिहरू बीचको खिचातानीले सदरमुकाम चैनपुरतिर आयो । चैनपुरमा प्रर्याप्त घर नहुँदा अदालत लगायतका केही सरकारी कार्यालयहरू हाम्रो गाउँतिरका घरहरूमा बस्न आए ।

राजपाट त्यागेपछि जयपृथ्वी चार वर्ष जति नैनितालमा बसेर त्यहाँबाट बंगलोरमा बस्न गए । उनका व्यक्तिगत भनाई र विचारबाट उनी विश्वशान्ति र मानव हितप्रति प्रतिबद्ध थिए भन्ने स्पष्ट हुन्छ । अघिल्लो पुस्ताले मानवतावादी भनेर उनको परिचय सीमित गरी उनको बहु आयामिक व्यक्तित्वको बारेमा जान्ने कोशिस गरेनन् । पछिल्लो पुस्ताले समेत यसैलाई अनुशरण गर्दै आयो । उनका अनगिन्ति योगदानहरूलाई बाहिर ल्याउने प्रयास कसैबाट भएन । विश्व विद्यालयमा युवा पुस्ताहरू र अन्य बुद्धिजीवीहरूबाट उनका सम्बन्धमा थपखोज र अध्ययन, अनुसन्धानगर्नु जरुरी छ ।

खानपानको संस्कृतिमा भात भान्सालाई एक महत्वपूर्ण प्रचलनको रूपमा लिइन्थ्यो । एउटै बाबुका अलगअलग आमाका छोरा (ठूलो र सानो जातको भान्जाको अवस्था) कहिलेकाहीँ एकअर्काले पकाएको भात खान बन्देजको अवस्थामा दुई अलग भान्सा पनिल गाइन्थ्यो । यहाँसम्म कि श्रीमतीले लोग्नेको हातको भात नखाने अवस्था विद्यमान थियो । जयपृथ्वीले विदेशमा भात भान्साको नियम पालना नगरी जथाभावी खाएको कारण उनलाई जातिच्युतको अवस्थामा पु¥याइयो । यो कुरा उनको भनाइ अगस्त २, १९३३ को ‘इभिनिङ जर्नल’मा उल्लेख छ । ‘ मेरो भाइ मसित भोजनसमेत गर्दैन न त मेरा ससुरा नै गर्दछन् । जब युरोप भ्रमणबाट फर्केपछि म आफ्नो पहिलेको घरमा गएँ । म एउटा होटलमा बसेँ र एक्लै खाना खाएँ । तपाईंहरूलाई थाहा छ तिनीहरूको नजरमा मैले मेरो विशाल धार्मिक आस्थाले गर्दा जात गुमाएँ । यसैबाट धार्मिक असहिष्णुता कस्तो पागलपन रहेछ भन्ने कुरो प्रष्ट देखिन आउछ ।’

भारतमा महात्मागान्धीको भूमिका र कांग्रेसको आन्दोलनका बारेमा जयपृथ्वीले डिसेम्बर ४, १९३३ सोमवारको ‘दिचाइना प्रेस’मा उल्लेख गरेका छन, ‘गान्धीले भारतको लागि राम्रो काम गरेका छन् । तर, उनले त्यसभन्दा बढी गर्न सक्दैनन् । म कांग्रेस आन्दोलनलाई अस्वीकार गर्दिनँ । तर, म गान्धीको अवज्ञा आन्दोलनको नीतिसँग सहमत छैन । किनभने मलाई लाग्छ यसले कहिले पनि भारतलाई एकीकरण गर्ने छैन र स्वाधिनता प्राप्त गर्न गाह्रो हुन्छ ।’ यस भनाइबाट उनी गान्धीको अवज्ञा आन्दोलनका आलोचक थिए भन्ने देखाउँछ ।

सुभाषचन्द्र बोसले सशस्त्र संघर्ष सञ्चालन गरेका र भगत सिंह, चन्द्रशेखर आजाद जस्ता वीर सपुतहरूले सहिद बन्नुपरेको थियो । तर, तिनीहरूको योगदानलाई छायामा पारियो । जयपृथ्वीको भनाइ बाहिर आएको करिब १४ वर्षपछि भारत स्वतन्त्र भयो । उनको आँकलन त्यसबेला सही सावित भयो, जब एक विशाल भारतले धर्मको नाममा विभाजनको पीडा भोग्नुपरेकोे थियो । गान्धीको अहिंसात्मक आन्दोलनले राम्रो परिणाम ल्याए पनि त्यस अवधिमा भएको हिंसात्मक घटनाले ठूलो धनजनको क्षति भएको थियो । मानिसहरू आफ्नो पुख्र्यौंली थातथलो छोडेर अर्को भूभागमा शरणार्थी भएर बस्नुपर्ने अवस्थामा आएको थियो । पछि गान्धीको समेत हत्या भयो ।

दोस्रो विश्वयुद्ध सुरुहुनु अगाडि जापानले आफ्नो शक्ति बिस्तार गरि रहेको थियो । त्यस बेलाको मंचुरिया र चीनप्रति जापानको नीति सम्बन्धमा प्रश्नगर्दा कोरियाको उदाहरणसहित जयपृथ्वीले उत्तर दिएका थिए, ‘हामीले जापानी नीतिको निन्दा गर्नु पर्दछ । एउटा अर्को विश्व युद्धको सम्भावना छ, जुन सुदूरपूर्वबाट सुरु हुन सक्छ र जापानले सिर्जना गरेको परिस्थिति यसको कारण बन्न सक्छ ।’ जापान एक पक्ष भएको त्यस विश्वयुद्धको अन्त्य हिरोसिमा र नागासाकीमा बम खसालिए पछिको नर संहारबाट भएको थियो ।

त्यस बेला राष्ट–राष्ट्रका बीचमा अनाक्रमण सन्धिलाई बढी महत्व दिइन्थ्यो । अरू राष्ट्रका बीचमा जे जस्तो द्वन्द्व भए पनि निश्चित राष्ट्रसँग त्यस्तो सन्धि भएमा आपूm सुरक्षित भइन्छ भन्ने भ्रम थियो । यसरी सन्धि गरी आपसमा मिलेर अर्को राष्ट्रमाथि आक्रमण गर्न रणनीति अख्तियार गरिन्थ्यो । जयपृथ्वी राष्ट्रका बीचमा हुने यस्तो गुटबन्दीले विश्वमा शान्ति असम्भव मान्दै भन्छन्, ‘अनाक्रमण सन्धि सम्बन्धमा म तिनीहरूलाई बढी महत्व दिन्न, किन भने विश्व शान्तिको भविश्य सन्धि र सम्झौतामा छैन । बरु मानिसहरूको आफ्नै मस्तिष्कमा छ ।’

विश्वशान्ति र मानवतावादको लागि उनले गरेका कामको आलोचना गर्नेहरू पनि कम थिएनन् । केही त उनले सम्भवै नहुने काम गरिरहेको भन्थे । यो कुरा थाहा पाएर उनले अक्टोवर ३, १९३४ को ‘दि बम्बै कोनिकल’मा भनेका छन्, ‘यहाँ भारतमा मैले केही उच्चस्तरिय बुद्धिजीवीलाई भेटेको छु, जो यहाँ शान्तिको सम्भावनामा कत्ति पनि विश्वास गर्दैनन र यस सम्बन्धमा मेरा गतिविधिलाई शायद आपत्तिहीन शौखका रूपमा हेर्दछन् ।’

उनले आसन्न दोस्रो विश्व युद्धको आँकलन १० वर्ष अगाडि नै गरिसकेको थिए । युद्धको खतराको बारेमा उनले भनेका थिए, ‘यो विश्वव्यापी रूपमा स्वीकार गरिएको कुरा हो कि यदि अर्को युद्ध भइहाल्यो भने त्यो अघिल्लो महायुद्धभन्दा पनि बढी बृहत् र बढी विनाशकारी हुनेछ ।’ तर उनको यो चेतावनी भनौँ अथवा आँकलनप्रति कसैको ध्यान गएन । त्यही विश्वयुद्धका कारण बमबारीलगायत अन्य घटनाबाट धेरै निर्दोष मानिसको ज्यान गयो र धेरै ठूलो जनधनको क्षति भएको थियो । त्यही त्रासदिका कारण अहिले पनि मानव समाज अर्को विश्व युद्ध नहोस् भनेर सचेत रहेका छन् ।

त्यस बखत पश्चिमी जगतले विश्वको अधिकांश भूभागमा आफ्नो उपनिवेश बनाई त्यहाँको साधनस्रोतको दोहन गरेका थिए । जयपृथ्वीले अघि सारेको शान्ति र मानवतावादको सिद्धान्तप्रति तिनीहरू सशंकित थिए । तिनीहरूका दोहोरो मापदण्डका बारेमा उनले भनेका छन्, ‘जब मैले पश्चिमी मुलुकहरूको भ्रमण गरे मैले पाएँ कि मानिसहरू स्थायी शान्ति प्राप्तिका लागि ओठे सेवा पु¥याउनमा चतुर थिए, यद्यपि भित्री मनमा भने तिनीहरू यसको सम्भावनाबारे शंकालु थिए । १९३३ मा पुन युरोप, अमेरिका, चीन र जापानको भ्रमण गर्दा पहिले व्यक्त गर्ने गरेको ओठे सेवामा पनि कन्जुस्याइँ तिर बढ्दै गइरहेको मैले देखेँ र केही स्थानमा त अनिच्छा प्रकट गरिन्थ्यो । मैले यो कुरा पाएँ कि केही सरकारहरू निश्चित रूपमा निराशावादी क्रियाकलापलाई प्रोत्सहित गरिरहेका थिए ।’

२६ अक्टोवर १९३३ को ‘जापान टाइम्स’लाई दिइएको एक अन्तवार्तामा दुई पक्षीय व्यापारका सम्बन्धमा सोधिएको प्रश्नमा उनले मुस्कुराउँदै जवाफ दिएका थिए, ‘मलाई विश्वको यस पक्षका गतिविधिप्रति त्यति रुचि छैन । मेरो यात्रा विश्व शान्ति र एकताका लागि हो ।’ यसबाट यो स्पष्ट हुन्छ कि उनी मानिसहरूले चासो राख्ने व्यक्तिगत स्वार्थका विषयभन्दा पनि विश्वशान्ति र मानव बीचको एकतालाई बढी जोड दिन चाहान्थे । उनको लागि अन्य विषय महत्वहीन थिए । उनको उद्देश्य मानिसहरूका बीचमा सकभर काटमारको अवस्था न आओस् भन्ने नै थियो ।

विभिन्न वर्ग, जाति र हितका लागि जयपृथ्वी प्रतिबद्ध भएको कुरा उनको भाषणको यो अंशबाट स्पष्ट हुन्छ, ‘मैले मानवजातिको विभिन्न वर्ग, जाति तथा धर्मका बीच एकता र शान्ति कायम गर्ने आदर्शका लागि आफ्नो सम्पूर्ण शक्ति र साधन समर्पित गरेको छु,’ उनले भनेका थिए । उनी बुद्धको जन्मस्थल लुम्बिनीका बारेमा पनि आफ्नो प्रवचनमा भन्थे, ‘नेपाल बौद्ध संसारको लागि एउटा पवित्र मुलुक हो किनभने यहाँ भगवान् बुद्धको जन्म भएको थियो । आज भगवान् बुद्धको जन्मस्थल कपिलवस्तुमा उत्खननहरू सञ्चालन भइरहेका छन् र त्यहाँ बृहत् जानकारीको खजाना फेला पर्ने सम्भावना छ ।’ जानकारहरूको भनाइ रहेको छ कि गोरखापत्र अग्रपृष्ठमा रहेको ‘सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया’ हिन्दू धर्मको आदर्शको श्लोक राख्ने चलन जयपृथ्वीको विचारको उपज थियो । यसले उनको सबैको भलो होस् भन्ने मानवताप्रति राखिएको अवधारणा स्पष्ट हुन्छ ।

प्रतिक्रिया