झोलुंगे पुल जीर्णोद्धार

रसुवा । साविक पैदलमार्गमा रहेको टिमुरेस्थित घट्टेखोला पुरानो झोलुंगे पुल मर्मत गरिएको छ । नेपाल–चीनबीचको व्यापार व्यवसाय नियमित गराउन ८९ वर्ष अगाडि निर्माण भई लामो इतिहास बोकेको सस्पेन्सन मोडेलको झोलुंगे पुल संरक्षण गर्न गोसाइँकुण्ड गाउँपालिका–२ ले जीर्णाेद्धार गरेको हो । पितापूर्खाले बनाएका संरचना संरक्षण गरी भावी पुस्तासम्म जीवन्त राख्न र हिमालको हिमपात पग्लेर आउने ठाडोेखोलामा पानीको बहाव ठूलो भएकाले घाँस दाउरा गर्ने घट्टृेखोलावासीमा पर्ने असर न्यूनीकरण गर्दै वारीपारि गर्न सहज पार्ने उद्देश्यले उक्त पुलको मर्मत गरिएको उक्त वडा कार्यालयले जनाएको छ ।

पुलको भूइँ सतहमा स्टिल चक्का राखी दायाँबायाँको गाह्रोसमेत मर्मत गरी आठ लाखको लागतमा दरिलो र भरपर्दाे बनाइएको गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावाडिण्डुप तामाङले बताए । रसुवागढी नाका खुलेसँगै उक्त पुलदेखि करिब १ सय ५० मिटर तल नयाँ पक्की पुल निर्माण भएसँगै बाह्य व्यक्तिको आवागमन बन्द भए पनि स्थानीय बासिन्दालाई भने वारपार गर्न अत्यन्तै उपयोगी भएको समाजसेवी सुनामवाङ्दी तामाङले बताए ।

यस्तै रसुवागढी सीमाक्षेत्रबाट करिब एक किमी वर रहेको घट्टेखोलाका बासिन्दालाई सामूहिक छलफल गर्न र जाडोमा घाम ताप्दै विश्राम लिन झोलुंगे पुलको आसपासमा एक चौतारा निर्माण गरिएको छ । भिरको फेद समथर जमिनको अभाव भएको स्थानमा एउटा थुम्क्याइलो चुचुरोलाई व्यवस्थापन गरी विश्रामस्थल तयार पार्न करिब १० लाख खर्च भएको बताइन्छ । चौतारीबाट दैनिक सयांै व्यक्तिलाई विश्रामको सुविधा मिल्ने जनाइएको छ ।

प्रतिक्रिया