‘स्मार्ट सिटी’ हाम्रो लक्ष्य’

दिलीपप्रताप खाँण, वालिङ नगरप्रमुख

वालिङ नगरपालिकालाई ‘स्मार्ट नगर’ बनाउने कार्यक्रमको घोषणापछि लक्ष्य प्राप्तिका लागि कार्यान्वयनका चरणमा छ । लक्ष्य प्राप्तिका लागि नगरपालिका २० वर्षे बृहत् योजना, पाँच÷पाँचवर्षे आवधिक योजना र एक÷एक वर्षे रणनीतिक योजना बनाएर अगाडि बढेको छ । ०५३ सालमा साविकका वालिङ, पेखु बाघखोर र धनुबाँसे गाविसलाई मिलाएर वालिङ नगरपालिका बनेको हो । राज्यको पुनःसंरचनानुसार नगरपालिकामा थुमपोखरा, केवरेभञ्ज्याङ, माझकोट शिवालय, एलादी र सिर्सेकोटका सबै वडा तथा छाङ्छाङ्दी, स्वरेक, कालिकाकोट, तिन्दोबाटे, मनकामना र पेलाकोटका केही वडा समायोजन भई हालको वालिङ नगरपालिका बनेको छ । ‘स्मार्ट सिटी’ बनाउने लक्षमा रहेका नगरप्रमुख दिलीपप्रताप खाँणसँग तोलाकान्त बगालेले गरेको कुराकानीको सम्पादित अंश :

वालिङ नगरपालिकामा यहाँले नेतृत्व गरेको साढे तीन वर्ष भयो, यस अवधिमा नगरपालिकाले हासिल गरेका मुख्यमुख्य उपलब्धि के के हुन् ?
स्मार्ट सिटीका लागि आवश्यक पर्ने पूर्वाधारहरूको योजना बनाई सडक, खानेपानी, सिंचाइ, सञ्चार सञ्जाल (फाइबर लाइन) का कार्य अगाडि बढेका छन् । आधारभूत आवश्यकताका रुपमा तथ्यांक संकलन, प्रशोधन, विश्लेषण गर्ने कार्य भएका छन् । आँधीखोला नियन्त्रण गर्ने, आँधीखोलाका दुवै किनारमा करिडोर निर्माण, नगरभित्रका सडक सुरक्षित गर्ने र विपद् न्यूनीकरण गर्ने कार्य भएका छन् । यस्तै इनोभेसन सेन्टर, इन्कुवेसन सेन्टर, मेन्टर सिस्टम स्थापना, सुशासनका विभिन्न आयाममध्ये कानुन, नियम र कार्यविधि निर्माण भएका छन् । डिजिटल प्रविधिको विकास गर्दै ‘गुड गभर्नेन्स’ स्थापित गरेका छौँ । आर्थिक विकासका लागि स्वरोजगार सिर्जना र सीप हस्तान्तरण, लगानीको वातावरण र बजारीकरणको व्यवस्था अगाडि बढाएका छौँ । विशेष गरी नागरिकमा चेतनाको स्तर बढाउनका लागि सूचना प्रविधिको अधिकतम प्रयोग भएको छ र बुझाइमा नवीनता स्थापना गर्न प्रयासरत छौँ ।

यसैगरी नगरपालिकामा विकासनिर्माणको स्पष्ट खाका तयार गरी भौतिक पूर्वाधारका कार्य थालनी गरेका छाँै । नगरवासीका आधारभूत आवश्यकता पूरा गर्नका लागि उहाँहरूकै चाहनाबमोजिम अगाडि बढेका छौँ । सडक विस्तार, सडकको स्तरोन्नति, स्वास्थ्यको पहुँच विस्तार, शुद्ध प्रशोधित खानेपानी, व्यावसायिक कृषि, पशुपालनलाई प्राथमिकता, औद्योगिक ग्राम सञ्चालन गर्ने तयारी भइरहेको छ भने एकीकृत बस्ती विकास, सरसफाइ, शिक्षामा गुणस्तर वृद्धि गर्नाका साथै आधुनिक प्रविधिलाई पछ्याउँदै कार्यसम्पादनमा सुधारसहित फड्को मारेका छौँ । नगरपालिकाले ‘स्मार्ट सिटी’ निर्माणका लागि कदम अगाडि बढाएको छ । वालिङको गन्तव्य भनेको ‘स्मार्ट सिटी’ हो, अहिले पाइला मात्रै चालेका छौँ, यो पूरा हुन २० वर्ष लाग्ने अनुमान गरेका छौँ । आशा छ, वालिङलाई तोकिएको अवधिभित्रै ‘स्मार्ट सिटी’ घोषणा गर्न सफल हुनेछौँ, उक्त दिन वालिङ नगरपालिका देशकै पहिलो ‘स्मार्ट सिटी’ का रूपमा घोषित हुनेछ ।

विश्वभरि महामारीका रूपमा फैलिरहेको कोभिड–१९ का कारण विकास निर्माणमा के कस्तो असर पर्यो ?
कोभिड–१९ का कारण वालिङ अछुतो रहने त कुरै भएन । कोभिडले यहाँ पनि असर गरेको छ । विकास निर्माणका कार्यमा अवरोध सिर्जना भए । बजेट न्यून आएको छ । जसका कारण थालिएका कार्य सम्पन्न हुन सकिरहेका छैनन् । भोलिका अवस्थामा यस्ता महामारीका बाबजुद वैकल्पिक उपाय अपनाउन सकिने अवस्थामा पुग्न कोशिस गरेका छौँ । नागरिकको स्वास्थ्य पहिलो कुरा ठानेर अथवा नागरिकको स्वास्थ्यप्रति बढी सजग हुँदै नीति तथा कार्यक्रम बनायौँ । नागरिकको मौलिक हकका रूपमा रहेको स्वास्थ्यप्रति सचेत हुँदै अगाडि बढ्यौँ । नागरिकको जीवनरक्षा गर्न सक्यौँ भने विकासनिर्माण त आगामी दिनमा पनि गर्न सकिन्छ, पाइन्छ भन्ने भावनाका साथ निरन्तर अगाडि बढेका छाँै ।

विदेशबाट फर्केर रोजगारी गुमाएका स्थानीयका लागि नगरपालिकाले रोजगारीको अवसर दिन केकस्ता योजना बनाएको छ ?
विशेषतः नगरपालिकाले क्वारेन्टिन र आइसोलेसनमा बस्दा विदेशबाट आएका व्यक्तिसँग उनीहरूका विचार, योग्यता र फर्किने नफर्किने जस्ता प्रश्न सोधी तथ्यांक संकलन गरेका थियौँ । तिनै नागरिकलाई लक्ष्य गरी नगरपालिकाले युएनडिपीसँगको सहकार्यमा पोस्ट कोभिड–१९ का कार्यक्रम सञ्चालन गरेका छौँ । उनीहरूसँग रहेको सीप परिमार्जित गर्ने, नयाँ सीप हस्तान्तरण गर्ने, उत्पादन र स्वरोजगारमा संलग्न गराउने र उत्पादित वस्तुलाई बजारीकरणमा पनि सामेल गराउने जस्ता कार्य सञ्चालन गरिएका छन् । साथै उनीहरूले यहीँ केही उद्यम गर्न चाहेमा त्यसका लागि आवश्यक वातावरण मिलाइदिने र नगरपालिकाका तर्फबाट विनाब्याज बिउपुँजी उपलब्ध गराउनाका साथै बैंक तथा वित्तीय संस्था, नगरपालिका जमानी बसेर सस्तो र सुलभ ब्याजदरमा व्यावसायिक कर्जा उपलब्ध गराउँदै आएका छौंँ ।

नगरपालिकाले नीति तथा कार्यक्रममा कस्ता योजनालाई बढी प्राथमिकतामा राखेर काम गरेको छ ? नगरका गौरवका योजना के के हुन् ?
नगरपालिकाले २० वर्षे बृहत् योजना, पाँच वर्षे आवधिक योजना र एक वर्षे रणनीतिक योजनाहरू बनाएको छ र स्मार्ट सिटी निर्माणका लागि आधारभूत विकासको सहर, स्वाबलम्बी सहर हुँदै २० वर्षमा स्मार्ट सिटी निर्माण गर्ने योजनाअनुसार आफ्ना नीति तथा कार्यक्रम अगाडि सारेको छ । सोहीअनुसार हरेक वर्ष निर्धारित कार्यक्रमअनुसार आफ्ना प्राथमिकतालाई अगाडि बढाएको छ । पूर्वाधार निर्माण गर्दा तथा योजना बनाउँदा दूरगामी सोचका साथ अगाडि बढिरहेका छौँ । हाम्रा पूर्वाधारहरूले आगामी नयाँ पुस्ताका लागि पछिसम्म धान्न सक्ने सडक सञ्जाल, खानेपानी प्रणाली, सिँचाइ प्रणालीमा दिगो विकासलाई लक्ष्य गरी योजना बनाएका छौँ । वातावरणीय सुधार, नदी नियन्त्रण, नदीहरूमा करिडोर निर्माण, तालतलैया निर्माण, पानीको भूसतह उठान, प्राकृतिक चक्रीय प्रणालीको सन्तुलनका साथ आधुनिक स्वस्थकर हावापानी, शारीरिक परिश्रम गर्ने स्थलहरूको निर्माण गर्नाका साथै मानसिक सन्तुलनका लागि मनोरम पार्क निर्माणलाई प्राथमिकता दिएका छौँ ।

यसैगरी सुनौली–पोखरा सिद्धार्थ राजमार्ग वालिङ नगरपालिकाभित्र १२ किलोमिटर पर्छ । नगरपालिकाकै पहलमा सडक चौडा गरी ‘डेडिकेटेड टु लेन’ बनाउने कार्य भइरहेको छ । जिल्लाकै सभ्यता तथा धार्मिक आस्थासँग जोडिएको आँधीखोलाको दुवै किनाराबाट आँधीखोला करिडोर निर्माण भइरहेको छ भने नगरका विभिन्न वडाका गाउँमा बाह्रै महिना सवारी साधन सञ्चालनका लागि ग्रामीण सडक विस्तार तथा स्तरोन्नति भइरहेको छ । १४ वटा वडामा १७ वटा स्वास्थ्यचौकी तथा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । वालिङमा सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खरिद गरी निर्माण प्रक्रिया थालिएको छ । स्वच्छ र सफा शुद्ध खानेपानीका लागि वडावडामा खानेपानीका योजना सञ्चालन भएका छन् । आधुनिक प्रविधिलाई पछ्याउँदै आइटी र आइओटीका क्षेत्रमा धेरै अगाडि बढेका छौंँ । फोहोरमैला व्यवस्थापनमा देशकै उत्कृष्ट भई पुरस्कृत भएको र अहिले सोही ठाउँमा दिसाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट निर्माण भइरहेको छ । वालिङ–९ सुर्कौदीमा एकीकृत बस्ती विकास (नयाँ सहर) बसाल्नका लागि तयारीलाई अन्तिम चरणमा पुगेको छ । कृषि तथा पशुपालनका क्षेत्रमा व्यवसायीलाई बिउपुँजी उपलब्ध गराएका छौँ भने गाउँगाउँमा सहकारी गठन गरी सोहीमार्फत लगानीको व्यवस्था मिलाएका छौँ ।

कोरोना महामारी रोकथाममा नगरपालिकाले के कस्ता गतिविधि गरेको छ ?
यसको रोकथामका लागि हरेक घर, हरेक गाउँ, टोल र वडास्तरबाट नै सचेत हुन जरुरी थियो । त्यसैले समग्र नगरको सुरक्षाका लागि हरेक टोलटोलका समितिलाई चेतनामूलक कार्यक्रम गरियो, निगरानीको जिम्मा दिइ नगरस्तरीय समिति गठन गरी हरेक पलपलको सूचना र आवश्यक कार्य गरियो । विदेशमा रहेका वालिङवासीको तथ्यांक संकलन गरी कति आउन सक्ने अनुमान ग¥यौँ । करिब १ हजार २ सय व्यक्तिहरू आउन सक्ने अनुमान गरी त्यहीअनुसारका क्वारेन्टिन निर्माण, आइसोलेसन र कोभिड अस्पतालको व्यवस्थापन गरियो र अहिले पनि पाँच शय्याको आइसोलेसन सञ्चालनमा छ जसमा सबै आवश्यक सुविधा मौजुद छन् । आइसोलेसनको व्यवस्था छ र नियमित पिसिआर परीक्षणजस्ता सम्पूर्ण कार्य निःशुल्क रूपमा उपलब्ध छ । अहिलेसम्म क्वारेन्टिनमा १ हजार ५ सयभन्दा बढी व्यक्ति बसिसक्नुभएको छ । करिब २ हजार २ सय जनाको पिसिआर परीक्षण गरिएको र दुई सयभन्दा बढी आइसोलेसनमा बस्नुभएको छ । ३० जनाभन्दा बढी कोभिड अस्पतालमा बस्नुभएको छ । नगरपालिकाले कोभिड–१९ का कारण रोजगारी गुमाएका तथा अतिविपन्नलाई लक्ष्य गरी १२ हजार ९ जनालाई खाद्यान्न तथा राहत वितरण गरेको थियो । वालिङ नगरपालिका कोभिड–१९ राहत कोष स्थापना गरी त्यहाँ विभिन्न संघसंस्था तथा व्यक्तिबाट अर्थ तथा खाद्यान्न संकलन गरी न्यून आय भएका अतिविपन्न, मजदूरलाई राहत वितरण गरिएको थियो । नगरपालिकाले सञ्चालन गरेको कोभिड कोषमा १ करोड १२ हजार ७ सय ६३ रुपैयाँ संकलन भएको मध्ये राहत, आइसोलेसन र क्वारेन्टिन खर्चमा ८३ लाख ३४ हजार ७ सय ३ खर्च भएको छ ।

वालिङलाई स्मार्ट नगरपालिका बनाउने प्रयास भइरहेका बेला स्मार्ट पालिकाका लागि के काम भइरहेको छ ?
वालिङ नगरपालिका स्मार्ट वालिङ बनाउने कार्यक्रमको घोषणा भएको हो । यसका लागि विभिन्न योजनाका साथ अगाडि बढेका छौँ । वालिङको विकासलाई तीन चरणमा विभाजन गरेर पहिलो आधारभूत आवश्यकता पूर्ण गर्ने गरी आधारभूत सिटीका रूपमा १७ वटा दिगो विकास लक्ष्यसहितको सहरका रूपमा र अन्त्यमा स्मार्ट वालिङका रूपमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (आइओटी) को पूर्ण उपयोग गरी २०आँै वर्षमा नेपालको सापेक्ष स्मार्ट वालिङका रूपमा घोषणा गर्नेछौँ ।

वालिङ नगरपालिकाले सूचना प्रविधिका क्षेत्रमा फड्को मार्दै अगाडि बढेको भन्ने सुनिन्छ, सूचना प्रविधिमा नगरपालिकाले प्राप्त गरेको हालको उपलब्धि के हो ?
नगरपालिकालाई स्मार्ट सिटी बनाउने क्रममा हाम्रा चार वटा पिल्लरमध्ये एउटा पिल्लर स्मार्ट गभर्नेन्स हो । यसका विभिन्न आयाममध्ये महत्वपूर्ण आयाम डिजिटल गभर्नेन्स हो । डिजिटल गभर्नेन्सका लागि आइटीको अधिकतम उपयोग हुनुपर्छ, हाउस सर्भेदेखि लिएर जिआइएस प्रणालीसम्म, जिपिएस सिस्टमदेखि लिएर एप्लिकेसनसम्मका सफ्टवेयर प्रयोगमा आइसकेका छन् । त्यसैले हरेक नागरिकको सेवा, रेकर्ड सिस्टम, कार्यशैली, नगरपालिकाका सम्पूर्ण कार्य डिजिटल डाटाका रूपमा उपयोग गरी सम्पूर्ण सेवालाई सूचना प्रविधिका माध्यमबाट उपलब्ध गराई पेपरलेसका रूपमा कार्य गर्दै शून्य कागजका रूपमा स्थापित गर्ने कार्य अगाडि बढिरहेका छन् ।

फोहोरमैला व्यवस्थापनका भएको उपलब्धिको अध्ययन अनुगमन गर्न विभिन्न ठाउँबाट संघसंस्था, व्यक्तिहरू आउने गरेका छन्, खासमा वालिङले फोहोरमैलाका क्षेत्रमा के गर्यो र यति धेरै चर्चा पायो ?
वास्तवमा फोहोर भन्ने वस्तु नै हुँदैन । हामीले त्यसलाई फोहोर बनाइरहेका छौँ । त्यसै हुनाले स्रोतमा नै हरेक वस्तुहरू अलगअलग ग¥यौँ भने त्यो फोहर होइन स्रोत हो । सबै एक ठाउँमा मिसायौँ भने त्यस्ता वस्तु फोहर हुन्छन् । नगरपालिकाले स्रोतमै वस्तु अलगअलग छुट्टयाउने हुँदा हामीले स्रोतका रूपमा प्रयोग गरेका छौँ । कुहिने वस्तुलाई मलका रूपमा उपयोग गर्ने, नकुहिने वस्तुलाई पुनः प्रयोगका रूपमा बिक्री गर्ने अथवा आपैmँ प्रशोशन गर्ने कार्य गरेका छौँ । त्यसैले हामीले फोहोरका रूपमा नभई स्रोतका रूपमा लिई स्रोतलाई व्यवस्थित गर्ने गरी हाम्रा कार्य अगाडि बढेका छन् । त्यस्तै हरेक घरका सेफ्टीट्यांकी भरिएपछि त्यस्ता सेफ्टीट्यांकी बाहिरी स्रोत ढल तथा खोलानालामा नमिसाउनका लागि दिसाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट निर्माण गरेका छौँ । यसबाट कम्पोस्ट मल र बायोग्यास उत्पादन गरी प्रयोग गर्ने र पानीका स्रोत अन्य जमीनमा जीवाणु तथा विषाणु फैलिनबाट रोक्ने गरी अगाडि बढेका छाैं।

संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व छ छैन, यहाँको अनुभव के छ ?
तीन वटा सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको मर्मअनुसार अगाडि बढ्ने भनिए पनि यसको कार्यान्वयन पक्ष खासै राम्रो हुन सकिरहेको छैन । अझै भनौँ, कार्यान्वयनको पक्ष कमजोर भएको महसुस गरेको छु । विकासनिर्माणका क्रममा दोहोरोपन हुन नदिन, भ्रष्टाचार हुन नदिन, योजनाहरूको दिगोपना बनाउन पारदर्शिताका लागि पनि समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ जस्तो लाग्छ । जुन अपेक्षा संविधानमा राखियो, त्यसअनुसार नभएको पक्कै पनि हो । यसमा नगरपालिकाले कोशिस गरे पनि सन्तोषजनक परिणाम भने आउन सकेको अवस्था छैन ।

प्रतिक्रिया