तिरस्कारको डरले रोग लुकाइन्छ

डा. सुमन सिंखडा

हिजोआज विभिन्न रोगले मान्छेलाई आर्थिक भारका साथै मानसिक समस्या उत्पन्न गराएको छ । अझ पछिल्लो समय मधुमेह, थाइरोइड तथा हर्मोन रोगले व्यापकता पाएको छ । हरेकजसो परिवारमा एक न एक जनालाई यस्ता रोगले नछोएको बिरलै होला । भनिन्छ रोग लाग्नुभन्दा, लाग्नै न दिनु बेस । यसै सन्दर्भमा सिटी स्पेसियालिटी हेल्थ क्लिनिक अनामनगरमा कार्यरत मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेष डाक्टर सुमन सिंखडासँग सौर्य दैनिकले गरेको संवादः

 

इन्डोक्राइनोलोजी भनेको के हो ?
इन्डोक्राइनोलोजी भनेको शरीरमा उत्पादन हुने विभिन्न इन्डोक्राइन हर्मोन र यसबाट सिर्जित समस्या र रोगहरू र यसको उपचारको बारेमा अध्ययन गर्ने एउटा मेडिकल साइन्सको विषय हो । हर्मोन रोगको उपचारको बारेमा विशेषज्ञता लिने फिजिसियन र चिकित्सकलाई इन्डोक्राइनोलोजिस्ट अथवा हर्मोन रोग विशेषज्ञ भनिन्छ ।

हर्मोन के हो ? हाम्रो शरीरमा यसको काम के हो ?
सामान्यतया हाम्रो शरीरमा धेरै किसिमका हर्मोनहरू शरीरको आवश्यकताअनुसार धेरैथरी ग्रन्थीबाट बनेको हुन्छ । हर्मोनहरू एककिसिमको केमिकल हो जुन ग्रन्थीहरूबाट पैदा भएर रगतको माध्यम शरीरमा विभिन्न काम गर्दछ । जस्तै शारीरिक र मानसिक विकास र वृद्धि, पचन पाचन, यौन र प्रजनन स्वास्थ्य, शरीरको तापक्रम र पानीको सन्तुलन इत्यादि । कुनै पनि हर्मोनको स्तर अलिकति पनि कम वा धेरै भएमा विभिन्न समस्याहरू उत्पन्न हुन सक्छन् । कति रोगहरू व्यापक छन् कति बिरलै देखिन्छन् ।

यस्ता ग्रन्थीहरू कहाँ हुन्छन् ?
टाउकोमा अवस्थित पिट्युटरी र हाइपोथालामस ग्रन्थीहरू शरीरमा हुने धेरै मुख्य हर्मोनहरू जस्तै ग्रोथ हर्मोन, प्रोल्याक्टिन, एड्रिनोकर्टिकोट्रफिक हर्मोन पैदा गर्दछ र यी दुई ग्रन्थीहरूले अरू ग्रन्थीहरूलाई पनि नियन्त्रण गरिराखेको हुन्छ । हाम्रो गलामा अवस्थित थाइरोइड र प्याराथाइरोइड ग्रन्थीले थाइरोइड र प्याराथाइरोइड हर्मोन पैदा गर्छ । पेटमा अवस्थित अग्न्याशय अथवा प्यान्क्रियाज ग्रन्थीबाट बन्ने धेरै हर्मोन मध्य इन्सुलिन एउटा मुख्य हर्मोन हो । जसको अभाव अथवा निष्क्रियताको कारण मधुमेह हुने गर्दछ । मिर्गाैलाको माथिल्लो भागमा अवस्थित एड्रिनल ग्रन्थीले विभिन्न किसिमको स्टेरोइड हर्मोन उत्पादन गर्दछ त्यसैगरी अण्डाशय र टेस्टिजबाट सेक्स हर्मोनहरू जस्तै इस्ट्रोजेन, टेस्टोस्टेरोन हर्मोन पैदा गर्छ ।

हर्मोन गडबढीले हुने रोग र समस्याहरू के के हुन् ?
हरेक हर्मोनको आफ्नै विशेषता र काम हुन्छ । कुनै पनि हर्मोनको मात्रामा कम वा धेरै वा निष्क्रिय भएमा, शरीरमा विभिन्न किसिमको समस्या हुनसक्छ । त्यसैगरी विभिन्न ग्रन्थीहरूको ट्युमर अथवा क्यान्सर पनि हुनसक्छ । इन्सुलिन हर्मोन कम वा निष्क्रिय भएमा रगतमा सुगरको मात्रा बढेर मधुमेह हुन्छ । जुन संसारभर महामारीको रूपमा फैलिएको छ । त्यसैगरी इन्सुलिन धेरै भए सुगर कम हुन्छ जसलाई हामी हाइपोग्लाइसेमिया भन्छौँ । सुगर कम हुँदा हामीलाई विशेषगरी खाली पेटमा अकस्मात पसिना आउने, शरीर काप्ने, लाल्याक्लुलुक र थकान हुने र केही गुलियो अथवा खानेकुरा खाएपछि ठीक हुने हुन्छ ।

मधुमेहसँगै मोटोपना र कोलेस्टेरोलको समस्या पनि डरलाग्दो रूपमा फैलिएको छ । जुन मुख्य रूपमा अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, तनावयुक्त जीवनको उपज हो । यसका अन्य कारण वंशाणुगत र हर्मोनको गडबढीको कारण पनि हुनसक्छ । यी तिनै रोगहरूले मुख्यतः मुटु, मिर्गाैला, आँखा, कलेजो, आदिमा विभिन्न रोगहरू निम्त्याउन सक्दछ ।

थाइरोइड हर्मोनको समस्यामध्य विशेषगरी थाइरोइड हर्मोनको कमी वा हाइपोथाइरोइडिज्म व्यापक रूपमा देखिने गरेको छ । जसमा हातखुट्टा सुन्निने, छाला फुस्रो हुने, तौल बढ्ने, कब्जियत, अल्छीपना, धेरै निन्द्रा लाग्ने, धेरै जाडो महसुस हुने, हातखुट्टा दुख्ने, महिलाहरूमा महिनावारी गडबडी अथवा बाँझोपन हुने, बच्चा तथा किशोरहरूमा धेरै दिनसम्म जन्डिस हुने, राम्रोसँग नखाने, कम रुने, कम खेल्ने, मानसिक तथा शारीरिक विकास कम हुने, यौवन अवस्थाको विकासमा समस्या हुने हुन्छ ।

अर्को भनेको थाइरोइड हर्मोन बढी वा हाइपरथाइरोइडिज्म हुनु हो । जसमा भोक राम्रो भए पनि दुब्लाउँदै जाने, स्वभाविकभन्दा धेरै पसिना आउने, मुटु ढुकढुक हुने, धेरै चोटी दिसा हुने, शरीर काप्ने, छटपटी र निन्द्रा कम हुने हुन्छ । त्यस्तै थाइरोइड सम्बन्धीमा अरू समस्या हुने भनेको गलगाँड, थाइरोइडमा डल्लोहरू आउने, क्यान्सर हुनसक्छ ।

यस्तै पोलिसिस्टिक ओभ्यारियन सिन्ड्रोम व्यापक रूपमा देखिएको अर्को हर्मोनसम्बन्धी समस्यामा हो । अस्वस्थ खानपान (जंक फुड्स, प्रशोधित खानेकुरा) र शारीरिक निष्क्रियता नै यस रोगको मुख्य कारण हो । महिलाहरूमा अनियमित महिनावारी अथवा असामान्य रक्तश्राव, तौल बढ्दै जाने, शरीरमा अवाञ्छित रौँ, बाँझोपन, धेरै डन्डिफोर आउनु, इन्सुलिन रेजिस्टेन्स्स् पेट मोटाउँदै जानु, घाँटी कालो हुँदै जानु, सुगर, प्रेसर तथा कोलेस्टेरोलको समस्या देखिनु, पुरुषको जस्तो कपाल झर्दै जानु अन्डाशयमा सानो सानो धेरै सिस्ट (पानीको फोका) देखिनु यस रोगको लक्षणहरू हुन । ५० प्रतिशत पिसिओएसको महिलाहरू अझै पनि पहिचानबाट टाढा छन् । पिसिओएस समयमा उपचार अथवा नियन्त्रण नगरे डिप्रेसन, मोटोपना, मधुमेह, पाठेघरको क्यान्सर, कलेजोरोग र मुटुरोग हुनसक्छ ।

 

धेरै हर्मोन माथि उल्लेख गर्नुभयो, अरू रोगहरू के कस्ता छन् होला ?
प्याराथाइरोइड हर्मोनले हाम्रो रगत र हड्डीमा हुने क्याल्सियमलाई सन्तुलनमा राख्ने काम गर्दछ । यदि यस हर्मोनको कमी भएमा क्याल्सियम कम हुन्छ जसलाई हामी हाइपोक्याल्सेमिया भन्छौँ । जसमा हातखुट्टा र मुखवरिपरि झमझम्याउने, हातहरू बाउडिने, बच्चाहरूमा सास फेर्न गाह्रो हुने, मृगीरोगजस्तो हुने हुन्छ त्यसैगरी हर्मोन धेरै भएमा हाइपरक्याल्सेमिया हुन्छ । जसमा रगतमा क्याल्सियम धेरै हुने हड्डी, शरीर दुख्ने र घरिघरि भाँच्चिने, कमजोरी र आलस्यपन, प्यास धेरै लाग्ने, पिसाब धेरै लाग्ने, घरिघरि मिर्गाैलामा पत्थरी हुने, पेट दुखिराख्ने समस्याहरू हुन्छ ।

त्यस्तै अर्को हर्मोन हो भिटामिन ‘डी’, यसको कमीले हड्डीहरू कमजोर गराउने, क्याल्सियम कम हुने, शरीर दुख्ने हुन्छ र धेरै भएमा क्याल्सियम धेरै हुन सक्छ । विभिन्न हर्मोन जस्तै थाइरोइड, प्याराथाइरोइड, स्टेरोइड आदीको कारणले हड्डी खिइने समस्या हुन्छ जसलाई हामी ओस्टिओपोरोसिस भन्छौँ । हड्डी खिइने समस्याको अर्को मुख्य कारण महिलाहरूमा महिनावारी बन्द भएर इस्ट्रोजेन हर्मोनको कमी हुनु हो Postmenopausal Osteoporosis र यो एउटा उमेर भएको मानिसमा हड्डी बिशेषत ढाँड र हिप भाँच्चिनुको मुख्य कारण पनि हो ।

स्टेरोइड हर्मोन धेरै भयो भने पेट मोटाउने तर हातखुट्टा सुक्ने, छाला पातलो हुने, बसेर उठ्न गाह्रो हुने, छालामा रातो फाटेको दागहरू देखिने, सुगर प्रेसर हुने आदी हुनसक्छ जसलाई हामी कुशिङ सिन्ड्रोम Postmenopausal Osteoporosis भन्छौ जुन पिट्युटरी अथवा एड्रिनल ग्रन्थीको ट्युमर अथवा कुनै रोग अथवा मोटाउनका लागि भनी जथाभावी प्रयोग गर्दा हुने गर्छ । त्यसैगरी स्टेरोइड हर्मोन कम भयो भने शरीर कालो हुँदै जाने, अत्यधिक थकान, प्रेसर घट्ने, चक्कर लाग्ने, दुब्लाउने आदि हुनसक्छ जसलाई हामी एड्रिनल इन्सफिएन्सी भन्छौँ ।

बिरलै देखिने हर्मोनसम्बन्धी रोगहरू के के हुन् ?
यौवन अवस्था (लिंग विकास, वक्षस्थल विकास, गुप्तांगको रौं विकास, शारीरिक विकास, महिनावारी आदी) ढिलो विकास हुने अथवा चाँडो विकास हुने समस्याहरू हर्मोनको कारणले हुने गर्दछ । बच्चाहरूमा कद विकासमा हुने समस्याहरू जस्तै समकक्षीभन्दा उच्चता कम हुने र समकक्षीभन्दा उच्चता बढी हुने ग्रोथ हर्मोन, थाइरोइड हर्मोन अथवा अन्य समस्याको कारणले हुनसक्छ । किशोरअवस्था पछी ग्रोथ हर्मोन धेरै भएमा एक्रोमेगाली हुनसक्छ । जसमा नाक, कान, जिब्रो र अनुहारको आकार बढ्दै जाने, हात र खुट्टाको आकार बढ्दै जाने, छाला खस्रो र चिल्लो हुने, धेरै पसिना आउने, टाउको दुख्ने, दृष्टिमा समस्या, शरीरमा सानो सानो मासु पलाउने आदि हुनसक्छ, र यस्तो रोग धेरैजसोमा पिट्युटरी ग्रन्थीमा ट्युमरको कारणले हुने गर्दछ ।

यौवनअवस्था सुरु नहुने, यौनमा रुचि कम हुने, लिंग विकासमा समस्या अथवा लिंगको क्षमता कम अथवा उत्तेजनामा समस्या, यौवनअवस्थामा देखिने रौंहरूको विकासमा समस्या, शारीरिक स्फुर्ति घट्दै जाने, महिलाहरूमा वक्षस्थलको विकासमा समस्या जसलाई हामी हाइपोगोनडिज्म भन्छौँ र यसको कारण धेरैजसोमा हर्मोनको समस्या हुने गरेको छ ।

महिलाहरूमा कुनै कारणले पुरुष हर्मोन बढेर शरीर पुरुषको जस्तो हुने, स्वर गाढा हुँदै जाने, वक्षस्थल सुक्दै जाने, महिनावारी बन्द हुने, पुरुषको जस्तो दाह्री जुंगा पलाउने त्यसैगरी पुरुषमा पनि महिला हर्मोन बढेर महिला जस्तो शारीरिक बनावट हुने समस्याहरू हुनसक्छ ।

पुरुषहरूमा वक्षस्थल बढ्ने समस्या जसलाई गाइनेकोमास्टिया भनिन्छ, वक्षस्थलबाट दूध चुहिराख्ने, महिनावारीमा समस्या हुने (सुरु नहुने, भएकोमा पनि चाँडै बन्द हुने, समयमा नहुने, धेरै रगत जाने) प्रोल्याक्टिन हर्मोन बढेर हुनसक्छ र पुरुष तथा महिलाहरूमा बाँझोपनको समस्याहरू पनि हर्मोनको गडबढीले सिर्जित हुनसक्छ ।

यौनसम्बन्धी समस्याहरू (उत्तेजना नहुने, शीघ्र स्खलन, सम्भोग गर्दा दुख्ने समस्या) हर्मोनको गडबढीले हुनसक्छ । बच्चा गर्भधारणकै बेला हर्मोनमा केही समस्या भयो भने, जन्मजात हर्मोन उत्पादनमा त्रुटि भयो भने कहिलेकाहीँ बच्चाहरू पुरुष नै जन्मिए पनि महिलाजस्तो देखिने अथवा महिला नै जन्मिए पनि पुरुषजस्तो देखिने, लिंग निर्धारण गर्न नसकिने (पुरुष हो कि, महिला हो) हुनसक्छ । हर्मोनको कारणले रगतमा नुन (सोडियम र पोटासियम) को मात्रा कम वा धेरै हुने समस्याहरू हुनसक्छ । सानै उमेरमा उच्च रक्तचाप देखिने, धेरै थरिको औषधि सेवन गर्दा पनि नियन्त्रण नहुने, अत्यधिक रक्तचाप, रक्तचापसँगै पोटासियमको मात्रा निरन्तर कमी देखिने समस्याहरू हर्मोनको कारणले सिर्जित उच्च रक्तचाप हुनसक्छ ।

हर्मोनसम्बन्धी रोगको अवस्था नेपालमा कस्तो छ ?
जति हामीले माथि कुरा ग¥यौँ, सबै रोग त्यति व्याप्त त होइन् कति बिरलै हुनेगर्छ । तैपनि कति समस्याहरू हाम्रो समुदायमा लुकेका छन् । कतिलाई भन्न अथवा देखाउन लाज लागेर आइरहेको छैन । जुन कति रोगहरूको उपचार पनि सम्भव छ ।

सबैभन्दा व्यापक देखिएको मधुमेह, महामारीको रूपमै फैलिएको छ । नेपालमा यसको व्यापकता आठ प्रतिशतको हाराहारीमा छ भने घरघरमा मधुमेहको बिरामी भइसकेको छ । त्यसैगरी मधुमेहसँगै देखिने मोटोपना र कोलेस्टेरोलको समस्या पनि उत्तिकै व्यापक छ । यी रोगहरूको जड प्रायतः अस्वस्थ खानपान र शारीरिक निष्क्रियता नै हो र हामीले यस्ता रोग र हुने भवितव्यहरूलाई जनचेतनाको माध्यमबाट कम गर्न सक्छौँ ।

थाइरोइडमा हुने समस्याहरूको नेपालमा व्यापकता चार देखि पाँच प्रतिशतको हाराहारीमा देखिएको छ । जसमा थाइरोइड कम हुने समस्या (हाइपोथाइरोइडिज्म) दुई देखि तीन प्रतिशतको हाराहारीमा पाइएको छ र महिलाहरूमा धेरै हुने गर्दछ । त्यसैगरी पिसिओएस ९ देखि २२ प्रतिशत किशोर र तरुण अवस्थाका महिलाहरूमा देखिने गरेको छ तर लाज र संकोच र जनचेतनाको अभावले ५० प्रतिशत भन्दा धेरै यसता बिरामीहरूको पहिचान हुन सकेको छैन ।

हर्मोनसम्बन्धी रोगहरूको उपचारको बारेमा पनि जानकारी गराउनुहोस् न ।
मधुमेहकै बारेमा कुरा गर्दा, यो एउटा मल्टिडिसिप्लिनरी म्यानेजमेन्ट गर्नुपर्ने रोग हो, भनेको मधुमेह रोग विशेषज्ञले मात्र भन्दा पनि मुटुरोग विशेषज्ञ, किडनीरोग विशेषज्ञ, नसारोग विशेषज्ञ, आँखारोग विशेषज्ञ, न्युट्रिसनिस्ट्, नर्स आदिको संयुक्त समन्वय हुनुपर्छ । हामीसँग डेडिकेटेड टिमको अभाव छ । जनचेतनाको कार्यक्रमहरूलाई प्रभावकारी बनाउनुपर्छ । कति बिरामीहरू औषधि खानुपर्नेमा बन्द गरिराखेको हुन्छ, कोही पैसाको अभावले, कोही चेतनाको अभावले, कोही इन्सुलिनजस्तो सुइबाट औषधि लिँदाको त्रासले, कोही औषधिको अभाबले आदि ।

मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल, मोटोपनाजस्ता रोगहरूको पहिचान र रोकथाममा जोड दिनुपर्दछ जुन माथिल्लो निकायदेखि नै सुरु हुनुपर्दछ । परिवारमा एक जना मधुमेह लागेर मानौ मृगौला बिग्रेर डायालाइसिस गर्नुपर्दा आफूलाई नै देखि लिएर परिवारको सदस्य, समाज र देशलाई पनि उत्तिकै भार पर्दछ, आर्थिक भार, मानसिक भार, शारीरिक भार, सामाजिक भार आदि । समयमै उपचार गर्दा यस्ता रोगहरूबाट हुने भवितव्यहरू जस्तै अन्धोपना, हार्ट एट्याक अथाव मुटुरोग, मिर्गाैला फेल, खुट्टामा घाउ भएर खुट्टा काट्नुपर्ने समस्याहरूबाट बच्न सकिन्छ र अन्य मानिसहरूसरह जीवनयापन गर्न सकिन्छ ।

पहिचानबाहेक अर्को समस्या भनेको रोग पत्ता लगाउन चाहिने अन्य उपकरणहरूको कमी र स्पेसिफिक इन्डोक्राइन ल्याबको कमी हो । बिभिन्न हर्मोनको परीक्षा गर्न महँगो छ र जहिँतहीँ हुँदैन । यसले गर्दा कति रोगहरूको पहिचानमै बाधा बन्दिन्छ । पिसिओएस रोगको हालत पनि त्यस्तै छ । जंक फुड्स र शारीरिक निष्क्रियता नै यसको मुख्य कारण भएकोले, यस्ता कुरा ठीक गर्नाले मात्रै ठीक हुने रोग हो । तर, उही पहिचानकै कमीले भनौँ धेरै महिलाहरूको बाँझोपनको कारण पिसिओएस बनेको छ ।

कति यस्ता रोगहरू छन् जुन समाजमा हुने घृणाले गर्दा, लाज र संकोचले गर्दा, डर र तिरस्कारले गर्दा डाक्टर देखाउन चाहदैनन् । जस्तै यौनांग विकासको समस्याहरू, महिलाहरूमा वक्ष्यस्थल र महिनावारी विकासका समस्याहरू, लिंग निर्धारणको समस्याहरू, आदी । हर्मोन सिर्जित समस्याहरू मध्ये धेरै कतिपय रोगहरूको उपचार सम्भव छ भने कति रोगहरूको उपचार नभए पनि त्यस रोगबाट सिर्जित अन्य जटिलताहरूको पहिचान र उचित निराकरण र रोकथाम गर्न सकिन्छ । कतिपय हर्मोन रोग पत्ता लगाउन धेरै नै र एकपछि अर्को गर्दै जाँच गर्नुपर्ने हुन्छ जसले गर्दा बिरामीहरू थकित भएर अथवा आर्थिक अभाव भएर रोग निदान गर्न बाधा हुनसक्छ ।

प्रतिक्रिया