नेकपाको सचिवालय बैठक सकियो, प्रचण्ड र ओलीको प्रस्ताव भोली स्थायी समिति बैठकमा लैजाने

काठमाडौं । आज दिउँसो १ बजे बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । तर, बैठक सकिए पनि पार्टी भित्रको विवाद भने सामाधान हुन सकेन ।

विवाद सामाधान नसकेपछि स्थायी समितिमा लैजाने भएको छ । उक्त चिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको सचिवालय बैठकले आइतबारका लागि तय गरिएको स्थायी कमिटी बैठकमा केपी शर्मा ओली र पुशपकमल दाहाल ‘प्रचण्ड’ दुवै अध्यक्षको प्रस्ताव र पार्टीको संकट निवारणका लागि पेश भएका सबै प्रतिवेदन लगिने निर्णय सचिवालयले गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

उनले आइतबार १ बजे स्थायी कमिटीको बैठक धुम्बाराहीमा बस्ने बताए । नेकपाको बैठकमा गत कात्तिक २८ गते प्रचण्डले पेश गरेको १९ पृष्ठ प्रस्ताव र त्यसको जवाफमा ओलीले यही मंसिर १३ गते पेश गरेको ३८ पृष्ठको प्रस्ताव स्थायी कमिटीमा छलफल हुने छ ।

आइतबारको स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलको लागि लैजाने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूुत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप–प्रत्यारोपपत्र सार्वजनिक भएपछि विवाद बढेको छ ।

प्रतिक्रिया