पत्रकारिता क्षेत्रको गरिमा बढाऔँ’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा रहेका अनियमिता र बेथितिलाई अन्त्य गर्न तथा पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि समन्वय एवं सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा आइतबार आयोजित ‘इन्जा ग्लोबल मिडिया कन्फरेन्स २०२०’ विश्व सम्मेलनमा उनले जनतालाई सही सूचना प्रवाह गरी पत्रकारिता क्षेत्रको गरिमा बढाउने पाटोमा विशेष ध्यान पु¥याएर काम गर्न सञ्चार जगत्लाई सुझाव दिए ।

भर्चुअल माध्यममा भएको सम्मलेनमा मन्त्री गुरुङले भने, ‘जनतालाई जागृत र सुसूचित गर्दै पत्रकारिता क्षेत्रको गरिमा बढाऔँ, समाजमा रहेका अनियमिता, बेथितिलाई अन्त्य गरौँ, सूचना कपोकल्पित र तथ्यहीन ढंगबाट प्रवाह नहोस् ।’
परम्परागत सोच र दृष्टिकोणबाट पत्रकारिता क्षेत्र रूपान्तरित हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिता क्षेत्रको दायित्व हो । आग्रह र पूर्वाग्रहबाट नभई ‘मिसन’ पत्रकारिताका लागि रूपान्तरित सोच बनाउनुपर्छ ।’ विश्वमा छरिएर रहेका नेपाली पत्रकारलाई एकीकृत गर्दै संकटमा परेका पत्रकारको हकहित र व्यावसायिक लागि इन्जाले पु¥याउँदै योगदानका मन्त्री गुरुङले प्रशंसा गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले लोकतन्त्र, मानवअधिकार, विधिको शासन र प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर लड्दै आएको नेपाली पत्रकारिता निकै जिम्मेवार रहेकाले यस क्षेत्रलाई थप व्यावसायिक मर्यादित तुल्याउन काम गरिरहेको बताए । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले कोभिड–१९ बाट नेपालमा ३ हजार १ सय पत्रकारले रोजगार गुमाएका, पाँच जनाको ज्यान गएको तथा चार सय जना संक्रमित भएको जानकारीमूलक तथ्यांक प्रस्तुत गर्दै स्वच्छ र मर्यादित पत्रकारितालाई अनुशरण गर्न सबैसँग आग्रह गरे ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले त्यसै पनि नियमित पारिश्रमिक नपाइरहेका पत्रकारलाई कोभिड–१९ ले थप समस्या सिर्जना गरेकाले अप्ठेरोमा परेका सञ्चारकर्मीलाई सहयोग पु¥याउन आवश्यक रहेको बताए ।
आयोजक संस्था इन्जाका अध्यक्ष गुणराज लुइँटेल र उपाध्यक्ष एवं साहित्यकार विष्णु शीतलले सामाजमा देखिएका विसंगति र बेथितिका विरुद्ध व्यवसायिकता र इमानदारीको सन्देश लिएर इन्जा गाउँबस्तीमा पु¥याउन अघि बढ्ने क्रममा सम्मेलन गरिएको बताए ।  सो अवसरमा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सम्मेलनका लागि शुभकामना दिए भने कवयित्री सरु गुरागाँइ ले सञ्चार चेतनाको शक्ति भन्ने भावको कविता वाचन गरिन् ।

इन्जा एसियाका अध्यक्ष टंक पन्तले कोभिड–१९ बाट सिर्जित समस्याबाट अप्ठेरोमा परेको पत्रकारलाई संस्थाले लेखनवृत्ति लगायतको माध्यमबाट सहयोग पु¥याउँदै आएको जानकारी दिए । घमराज लुइँटेल र विष्णु शर्माले कोभिड–१९ को प्रभाव र प्रवृत्ति विषयमा प्रस्तुत गरेको कार्यपत्रमाथि विभिन्न वरिष्ठ पत्रकारले टिप्पणी गरेका थिए ।

प्रतिक्रिया